बेनीको नीति तथा कार्यक्रम सार्वजनिक

आदर्श समाज सम्वाददाता
असार २२, २०७६
baget

म्याग्दी,२२ असार । म्याग्दीको बेनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७६ /०७७ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

शनिवार सम्पन्न पाँचौ नगरसभामा मेयर हरिकुमार श्रेष्ठले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । मेयर श्रेष्ठले नगरसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम नगरसभाबाट बहुमतले पारित गरेको छ ।

नगरसभालाई सम्बोधन गर्दै मेयर श्रेष्ठले शिक्षा, स्वास्थ्य, खानेपानी ,उर्जा र पर्यटन लगायतलाई प्राथमिकता दिएको बताए । संघीय सरकारको समृद्ध नेपाल सुखी नेपाली भन्ने नारासँग तादाम्यता मिलाई नगरको आर्थिक समृद्धिका क्षेत्रको विकासका लागि प्राथमिकता दिने,नगरपालिकाको केन्द्र देखि वडा कार्यालय सम्मको सडकलाई स्तरोन्नति गर्न प्राथमिकतामा राखिने,नगरभित्रका धार्मिक एवम् पर्यटकीय क्षेत्रमा पूर्वाधार विकास गरी पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने नीति लिएको मेयर श्रेष्ठले बताए ।

यसैगरी कृषि तथा पशुपालन क्षेत्रको व्यवसायीकरण गर्ने,नदी,खोला,ताल तथा जलाधार संरक्षण गरी पर्यावरणीय सन्तुलन कायम गर्ने नगरपालिकाले नीति लिएको छ । नगरपालिकाले आन्तरिक स्रोतको पहिचान गरी उचित व्यवस्थापन गरी आन्तरिक स्रोत बढाउने,सम्पत्ति करलाई राजश्वको मुल आधारको रुपमा विकास गर्ने,कर बक्यौतालाई असुल गर्न तीव्रता दिने,घरवहाल करलाई व्यवस्थित गर्ने,कृषि तथा पशुजन्य उत्पादन गर्ने कृषकलाई प्रोत्साहन गर्ने,एक वडा एक उत्पादन कार्यक्रमलाई निरन्तरता दिने नगरपालिकाले नीतिमा समेटेको छ ।

नगरसभामा मेयर श्रेष्ठले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सामाजिक,वातावरण र विपद् व्यवस्थापन,पूर्वाधार विकास,सुशासन तथा सेवा प्रवाह र अनुगमन तथा मूल्याङकनलाई प्राथमिकतामा राखिएको छ ।

मेयर श्रेष्ठले नगरसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम नगरसभाका सदस्यहरुले छलफल गरी सर्वसम्मत रुपमा पारित गरेका छन् । नगरपालिकालाई समृद्ध बनाउन नीति तथा कार्यक्रमलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न सवै पक्षको सहयोग र साथ आवश्यक पर्ने मेयर श्रेष्ठले बताए ।नगरसभाका सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै मेयर श्रेष्ठले कतिपय छुटेका विषयहरुलाई नीति तथा कार्यक्रममा समावेश गरिने जानकारी दिए ।

नीति तथा कार्यक्रम पारित भएसँगै नगर उपमेयर सञ्जु बरुवालले आगामी आर्थिक वर्षको नीति र कार्यक्रम कार्यान्वयनका लागि ५२ करोड ९५ लाख ९८ हजार रुपियाँ बरावरको बजेट नगरसभामा प्रस्तुत गरेकी छन् ।

आन्तरिक आय ३ करोड ३० लाख,वित्तिय समानीकरण १३ करोड ३६ लाख,९५ हजार,सशर्त अनुदान २४ करोड९९ लाख,राजश्व बाँडफाँड ९ करोड १७ लाख ३ हजार,सडक बोर्ड नेपालबाट ४० लाख,आवको अल्या २ करोड गरी ५२ करोड ९५ लाख,९८ हजार बजेट प्रस्ताव गरिएको छ ।आगामी असार २५ गते वस्ने नगरसभाबाट बजेटलाई पारित गरिने कार्यक्रम रहेको नगरपालिकाका प्रवक्ता रामकृष्ण बराइलीले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width