भन्सारमा भारतीयलाई नझुलाउन सुझाव

आदर्श समाज सम्वाददाता
असार २२, २०७६
Chaliye Pokhara in Lucknow_Fotor

चलिए पोखरा अभियान अन्तर्गत हालै लखनउमा आयोजित कार्यक्रममा सहभागी भारतीय पर्यटन व्यवसायी, सञ्चारकर्मी र विभिन्न राजनीतिक दलका प्रतिनिधि। तस्वीर : आदर्श समाज

विहारको राजधानी पटनाका पर्यटन व्यवसायीले भारतीय पर्यटकलाई नेपाल प्रवेशमा सहजताका लागि सिमा नाकामा अपनाउनुपर्ने प्रक्रियालाई अनलाइन प्रणालीमा लैजान सुझाव दिएका छन्।

यही असार १६ देखि २० गतेसम्म उत्तर भारतका विभिन्न ४ शहरमा चलिए पोखरा अभियानको आठौं संस्करण लिएर आएको पश्चिमाञ्चल होटल संघ पोखराको टोलीलाई भारतीय पक्षबाट त्यस्तो सुझाव दिइएको हो।

नेपाली भन्सारमा भारतीय पर्यटकले पूरा गर्नुपर्ने प्रक्रियालाई अनलाइन गर्न सके समयको बचत भई पर्यटकलाई झन्झट नहुने भनाइ पटनामा आयोजित अन्तर्क्रिया तथा पत्रकार सम्मेलनमा राखिएको थियो। नाकामा ३ चार घण्टासम्म कुर्नुपर्दा पर्यटकलाई दिक्क लाग्ने गरेको र उनीहरुलाई मैत्रीपूर्ण व्यवहार समेत नहुने गरेको सवाल सो अवसरमा भारतीय पक्षबाट उठाइएको थियो।

यसैगरी भारतबाट नेपाल आउँदै गर्दा बाटोमा भारतीय स्वादका रेष्टुराँ नभएको र आवश्यक पर्दा प्रयोग गर्न सार्वजनिक शौचालयको समेत अभाव भएको गुनासो सो अवसरमा सुनाइएको थियो। भारतीय पर्यटकलाई नेपाली गाइडहरुले कतिपय अवस्थामा उचित गाइडिङ नगर्ने गरेको गुनासो थियो।

संघका अध्यक्ष विकल तुलाचनले राम र सीता सम्बन्धको प्रसंग तथा बुद्धले ज्ञान प्राप्त गरेको बोधगयाको विषयमा नेपाल र भारत समान रुपले जोडिने भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले १ वर्षअघि मुक्तिनाथ दर्शन गरेपछि पोखरामा भारतीय पर्यटक बढ्न पुगेको जानकारी गराए। भारतीय र नेपाली व्यवसायीबीच सम्बन्ध राम्रो हुँदै जाँदा दुवै पक्षका समस्या मिलेर समाधान गर्न सहज हुने र एक अर्काको व्यापारिक हितमा टेवा पुग्ने भनाइ पनि तुलाचनको थियो।

भारतीय पर्यटकलाई पोखरा घुम्न निम्तो दिने तथा उनीहरुका लागि पोखरा उचित गन्तव्य हो भन्ने सन्देश प्रदान गर्ने मुख्य उद्देश्य अभियानले बोकेको संघको सल्लाहकार परिषद्का संयोजक एवं पूर्व अध्यक्ष हरिप्रसाद शर्मा गैह्रेले जानकारी दिए। नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका निदेर्शक मणिराज लामिछानेले भारतीय पर्यटकका लागि नेपाल प्रवेशमा भिसा आवश्यक नपर्ने, भारतीय १ सय रुपैयाँ दरका नोटहरु सहज रुपमा स्वीकार हुने, एटीएम र बैंकहरु पनि प्रशस्त रहेको तथा हिन्दी भाषा धेरै नेपालीले बुझ्ने र बोल्ने जानकारी पनि गराए। उनले उत्तर भारतमा अहिले निकै गर्मी भएको भन्दै पोखरा घुम्नका लागि भारतीयलाई यो नै उचित समय हो भने। पोखराका होटलका कोठाबाटै हिमाल देख्न सकिने र पोखरा पर्यटकीय राजधानीको रुपमा समेत मान्ने गरिएको जानकारी सो अवसरमा उनले गराए।

अभियान क्रममा संघका निवर्तमान अध्यक्ष भरतराज पराजुलीले पोखरा प्रकृति र संस्कृतिको हिसाबले धनी भएको भन्दै साहसिक पर्यटनमा पनि सो शहर उत्तिकै प्रख्यात रहेको जानकारी गराए। दामोदर कुण्ड, मुक्तिनाथ मन्दिर, मनकामना मन्दिर, तालबाराही मन्दिर र विन्ध्यवासिनी मन्दिर जस्ता धार्मिकस्थल पोखरा र वरपर रहेको जानकारी पनि पराजुलीले दिए।

पोखरा र लखनउ सीधा बस वा हवाइ सेवाबाट जोड्नुपर्ने सुझाव लखनउमा आयोजित कार्यक्रममा भारतीय पक्षबाट राखिएको थियो। यसैगरी नेपालले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउन लागेको जानकारी गराउँदै भारतीय पर्यटकलाई नेपाल भ्रमणका लागि सो अवसरमा प्रेरित गरिएको थियो।

लखनउमा आयोजित कार्यक्रममा भारतीय जनता पार्टी उत्तर प्रदेशका प्रवक्ता राकेश त्रिपाठीले अहिले नेपाल जाने भारतीय पर्यटकको संख्या निकै बढेको भन्दै आपसी सहकार्यबाट त्यस्तो सम्भव भएको भनाइ राखे। उत्तर प्रदेश पर्यटन विभागका निदेर्शक श्रीमती प्रीति श्रीवास्तव, अल इन्डिया ट्राभल एण्ड ट्रान्सपोर्ट एशोसिएसनका अध्यक्ष सुनिल तिवारी, भारतीय सांसद सञ्जय चौधरी, उत्तर प्रदेश परिवहनका क्षेत्रीय प्रबन्धक आरके बोस र इन्द्रजीत सिंह लगायतले सो अवसरमा सुझाव राखेका थिए।

अभियानकै क्रममा संघका अध्यक्ष तुलाचनले पटनामा आफूहरु चलिए पोखरा अभियान लिएर तेश्रो पटक आएको भन्दै आपसी राम्रो सम्बन्धले समस्या समाधान गर्न सहज हुने भनाइ राखे। उनले यो पटक व्यापारिक आदानप्रदान र अनुभव आदानप्रदान गर्दै सिकाइका लागि पनि भ्रमण गरेको सुनाए। रक्सौलमा आयोजित कार्यक्रममा रक्सौल टुर्स एण्ड ट्राभल एजेन्ट एशोसिएसनका अधयक्ष कमलेश गुप्ताले पनि भनाइ राखेका थिए।

२०१२ मा शुरु चलिए पोखरा अभियानअन्तर्गत यो पटक भारतको पर्यटकीय शहर आगरा, उत्तर प्रदेशको राजधानी लखनउ, विहारको राजधानी पटना र सोही शहरको सीमावर्ती शहर रक्सौलमा कार्यक्रम सम्पन्न भएका थिए। सो अवसरमा व्यापारिक भेटघाट (बीटुबी) को आयोजना गरिएको र नेपाल र पोखरासम्बन्धी डकुमेन्ट्री समेत भारतीय व्यवसायी र सञ्चारकर्मीलाई देखाइएको थियो।

सो अवसरमा विभिन्न ६ वटा प्याकेजहरु भारतीय पर्यटकका लागि सार्वजनिक गरिएको थियो। नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा भएको कार्यक्रममा होटलकर्मी, सञ्चारकर्मी र बोर्डका अधिकारी गरी कुल ३२ जनाको सहभागिता रहेको संघका महासचिव गणेशराज पहारीले जानकारी दिए।

Related News

सम्बन्धित समाचार

hero news full width