सुझाव माग्दै पोखरा उद्योग वाणिज्य संघ

आदर्श समाज सम्वाददाता
असार २२, २०७६
PCCI ko ghar dialo_Fotor

पोखरा उद्योग वाणिज्य संघ अध्यक्ष दामु अधिकारीले उद्योगी व्यवसायीको हितमा काम गर्नु आफू र आफ्नो टीमको प्राथमिकता रहेको प्रष्ट पारेका छन्। उनले व्यवसायीमैत्री वातावरण निर्माणको लागि पैरवी, व्यवसायीलाई आवश्यक तालिम, गोष्ठी र सेमिनार आयोजनालाई संघले विशेष जोड दिएको पनि बताएका छन्।

संघका सदस्यबीच भाइचारा अभिवृद्धि तथा व्यवसायीका समस्या पहिचान गर्ने अभियानअन्तर्गत शनिवार पोखराको बुद्धचोक क्षेत्रमा आयोजनामा भएको कार्यक्रममा बोल्दै उनले व्यवसायीको हकहित संरक्षण गर्न खोलिएको संस्थाले समग्र पोखराको विकास दिएको योगदानको स्मरण गर्न सरोकारवालालाई आग्रह पनि गरे।

‘हिजो हामीले बालमन्दिर, पृथ्वीनारायण क्याम्पसदेखि पोखरा विश्वविद्यालय बनाउन नेतृत्वदायी भूमिका निभायौँ’, उनले भने, ‘ पोखराको महेन्द्रपुलदेखि यहाँको सभागृह निर्माणमा पनि हाम्रो लगानी छ, त्यहाँ गएर हेर्दा सबै कुरा प्रष्ट हुन्छ। ’ उनले आफूहरु विकासको साझेदार बन्न चाहेको र यसका लागि सबै तहका सरकारसँग सहकार्य गर्न तयार रहेको बताए।

संघका वाणिज्यतर्फका उपाध्यक्ष पवनकुमार प्रजापतिले उद्योगी व्यवसायीको हितको लागि संघले सक्दो काम गर्दै आएको र सदस्यको सुझावकै आधारमा अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे।

महासचिव अर्जुन पोखरेलले अहिले केन्द्रदेखि तल्लो निकायसम्म नै व्यवसाय गर्दा थप समस्या देखिएको र व्यावसायिक वातावरण खल्लबलिएको अवस्थामा व्यावसायिक एकता झनै अपरिहार्य रहेको बताए।

संघका पूर्व उपाध्यक्ष गोकर्ण काकीले व्यवसायीमैत्री घरभाडा ऐन आएमा आफूहरुलाई केही राहत मिल्ने बताए।

संघकी साधारण सदस्य देउती नेपालीले यतिबेला सिंगो पोखरासँगै अमसिंहचोक क्षेत्रमा पनि पार्किङको समस्या परेको बताउँदै सो समस्या समाधानको लागि ध्यान दिन पोखरा उद्योग वाणिज्य संघसँग आग्रह पनि गरिन्।

संघका अर्का सदस्य तथा युनाइटेड क्लब अध्यक्ष हिमालय बख्रेलले पोखरा उद्योग वाणिज्य संघले व्यवसायीलाई भैपरी आउँदा आर्थिक सहयोग गर्न व्यवसायी भलाई कोष खडा गरेकोमा खुसी व्यक्त गरे। समाजसेवी तथा संघका साधारण सदस्य नीरज थापाले अब पोखराका विभिन्न भागहरुलाई वर्गीकरण गर्दै कुनै एक क्षेत्रलाई एउटै खालको सामान पाउने क्षेत्रको रुपमा विकास गर्नुपर्नेमा जोड दिए।

यसैगरी साधारण सदस्य नारायण श्रेष्ठले एउटै व्यवसाय धेरै ठाउँमा दर्ता गर्नुपर्ने बाध्यताबाट मुक्ति चाहिएको बताए।

अर्का सदस्य किरणप्रसाद भट्टचनले मदिरा व्यवसाय गर्दा पहिला छुट्टै दर्ता र पछि मूल्य अभिवृद्धि करमा जानुपर्ने बाध्यकारी व्यवस्था गरिएको उदाहरण दिँदै कर तिर्नेहरुलाई सजिलो व्यवस्था गर्नुको सट्टा राज्यले पुच्छर निमोठ्ने काम गरेको गुनासो गरे।

व्यवसायी नवीन श्रेष्ठले सरकारी निकायमा दर्ता नै नगर्ने र अवैध रुपले व्यवसाय गर्नेहरुले गर्दा स्वच्छ व्यवसाय गर्नेहरुलाई मर्का परेको बताए। व्यवसायी पूर्ण श्रेष्ठले पोखरा उद्योग वाणिज्य संघलाई विभिन्न तथ्यांकको भण्डारणमा दक्षता हासिल गर्न आग्रह गरे। व्यवसायी खेमनारायण बरालले घरभाडा समस्या समाधानको लागि संघले पहल गर्नुपर्नेमा जोड दिए। अर्का व्यवसायी नरेन्द्र बरालले करका परिवर्तिन प्रावधानबारे व्यवसायीलाई तालिम आवश्यक भएकाले सोको व्यवस्थाको लागि संघसँग आग्रह गरे। संघका कार्यसमिति सदस्य तथा समस्या पहिचान अभियानका संयोजक रामेश्वर अधिकारीले व्यवसायीको उपस्थितिले आफूहरु हर्षित भएको धारणा राखे।

भाँडा व्यवसायी संघका अध्यक्ष तथा संघका साधारण सदस्य बलराम तिमिल्सिनाले घरघरमै पुगेर समस्या पहिचानको अभियान थालेकोमा संघप्रति धन्यवाद ज्ञापन गरे।

पोखरा उद्योग वाणिज्य संघले हालसम्म पोखराका ३ ठाउँमा पुगेर व्यवसायीको समस्याबारे सुझाव संकलन गरिसकेको छ।

Related News

सम्बन्धित समाचार

hero news full width