लमजुङ– मनाङलाई जोड्यो फड्केले

आदर्श समाज सम्वाददाता
असार १८, २०७६
Fadke

लमजुङ, १८ असार । भिषण बाढी आएर पक्कीपुल बगाएपछि बिच्छेद भएको मनाङ– लमजुङको सम्बन्ध फड्केबाट जोड्ने काम भएको छ । दुई जिलालको सीमा क्षेत्रको म्यार्दी खोलामा फड्के बनाइएर सम्बन्ध जोड्ने काम गरिएको हो ।

तत्कालको लागि फड्के बनाइएर आउजाउ गर्ने मानिसका लागि सहज बनाइएको थालेको मनाङको नासों गाउँपालिका– १ का अध्यक्ष झलकबहादुर गुरुङले बताए । उनका अनुसार अहिले अस्थायी रूपमा पैदलयात्रु वारपार गर्न सक्ने गरी फड्के बनाइएको छ ।

डिभिजन सडक कार्यालय दमौलीका डिभिजन इन्जिनियर विष्णुप्रसाद काफ्लेले अस्थायी संरचना निर्माण गरेर हिँडाउन थालिएको बताए । उनका अनुसार ९ मिटर लम्बाइ र १ मिटर चौडाइको काठे फड्के बनाएर यात्रुलाई पार गर्न सक्ने बनाइएको हो ।

अस्थायी संरचना निर्माणमा माथिल्लो क्षेत्रमा सेना, सशस्त्र र प्रहरीले समेत काम गरी रहेको मनाङका प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाले बताए । उनका अनुसार असार ८ गते आएको बाढीले पुल बगाएपछि मनाङसँगको सडक सम्पर्क टुटेको हो । तत्कालका लागि पैदल हिड्न सक्ने अवस्था बनेको छ । उनले भने ‘तत्कालै जिप गुडाउन सक्ने सम्भावना छैन । बाढी आए फेरि यही बनाएको फड्के पनि बगाउने हो कि ? भन्ने चिन्ता छ ।’

तत्काललाई मान्छे हिँड्न भयो । ट्याक्टर हिँडाउन बाटो बनाइरहेका छौं डिभिजन सडक कार्यालय दमौलीका सबइन्जिनियर सुमन अधिकारीले बताए । उनका अनुसार तिमाङ छहरामा पनि अस्थायी काठेपुल राख्न थालिएको छ ।

माथिल्लो क्षेत्रमा हुने खाद्यान्न अभावलाई टार्न र जनजीवन सहज बनाउन काठे फड्के बनाइएको उनको भनाई छ । उनका अनुसार पुल छेउसम्म सामान लाने र त्यसपछि मानिसले पार गराएर पुनः त्यहींबाट सवारी साधनमार्फत माथिल्लो क्षेत्रमा खाद्यान्न लान सकिन्छ । अधिकारीले भने ‘एक महिनामा बेलिब्रिज नै राख्ने गरी काम अघि बढाएका छौं ।’ उनका अनुसार बाडीले बेलिबिज बगाए पनि दुवैतर्फको पिल्लर बचेको छ, यसमै बेलिब्रिज राख्ने गरी डिजाइन गर्न थालिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै