आमा बिरामी हुँदा सधैँ धारामा पानी लिन जाने पालो प्रशान्तको हो। ८ कक्षामा पढिरहेका उनी पानी लिन जाँदा कहिलेकाही स्कूल जान पनि भ्याउँदैनन्। ‘धारामा पानी लिन जाँदा एक घण्टा जति लाग्छ। गाउँले सबैको एउटै धारा हो। भीडभाड पनि उस्तै हुन्छ, ’ प्रशान्त भन्छन्, ‘बोकेर आउँदा थाप्लो दुख्छ। हतारहतार पानी बिसाएर स्कूल जाँदा कक्षा छुटिसक्छ। पानीको साह्रै समस्या भयो। ’
किचनास आधारभूत विद्यालयमा पढ्ने पुष्प बस्तीका प्रशान्त सुनार स्कूल जाने बेलासम्म पनि कहिलेकाहीँ धारामै पानीको लाइनमा हुन्छन्। उनीमात्रै होइन, गाउँमा भएका स्कूले केटाकेटीको दैनिकी हो, घरभन्दा टाढा रहेको पधेरामा गएर पानी ल्याउने।
३६ वर्षीया सन्सारी विक बिहान उठ्नेबित्तिकै पानी लिन जान्छिन्। फर्केर आउँदा बालबच्चा स्कूल पठाउन विलम्ब भैसक्छ। ‘सबेरै डोकोमा गाग्री हालेर गयो। फर्किँदा त टाउकोमाथि घाम आइसक्छ, ’ उनले दुखेसो पोखिन्, ‘छोराछोरीलाई भात पखाएर खुवाउन पनि भ्याउँदिन। भोकै स्कूल जान्छन्। ’
अर्का स्थानीय मुक्तबहादुर विक चाहीँ पानीको समस्याले खेतीपाती गर्न गाह्रो भएको बताउँछन्। ‘बिहान बेलुकाको अधिकांश समय पानी बोकेरै बित्छ। खेती कतिबेला गर्ने? , घरको काम कति बेला गर्ने? , ’ उनले भने, ‘त्यति टाढाबाट ल्याएको पानी मान्छेले खाने कि गाईभैंसीलाई दिने? हाम्रो दुःख थामी नसक्नु छ। ’ नेपाल सरकारको नीति तथा कार्यक्रमममा ‘एक घर, एक धारा’ अभियान शुरु भएको धेरै वर्ष वितिसक्यो। तर स्याङ्जामा यो नाराले छोएको पनि छैन। बिरुवा गाउँपालिकाको पुष्प गाउँको सिँगै बस्तीमा गाउँभरी डुले पनि धारा भेटिँदैन। स्थानीय गाउँभन्दा अलिक पर नागास्थान धारामा पुगेर पानी ल्याउँछन्। खानेपानीको जोहो गदैर्मा गाउँलेको बिहान बित्छ।
सरकारले आधारभूत खानेपानी ग्यारेन्टीका कुरा गरिरहे पनि यहाँका नागरिकलाई खानेपानीकै लागि घण्टौं हिड्नुपर्ने बाध्यता हटेको छैन। २५ घर रहेको पुष्प गाउँमा पूरै दलित बस्ती छ।
सबै समुदायको एउटै धारा भएकोले कहिलेकाँही त छोईछिटो समस्या पनि आइरहन्छ। किचनासकै स्कूलमा पढाउने शिक्षिका सुनिता सुनार पानीकै अभावले गाउँको विकास हुन नसकेको बताउँछिन्। ‘पानीको समस्याले गाउँलेलाई धेरै दुःख छ। चुनावका बेला सबैले सहयोग गर्छौ भन्छन्। तर चुनाव सकिएपछि उही ताल, ’ उनले भनिन्, ‘बिहान पानी लिन जाने कि घरको काम गर्ने? पानी लिन जाँदा स्कूल पनि छुट्छ कहिलेकाहीँ त। ’
पानी नभएपछि स्वास्थ्य र सरसफाइका कुरा पनि ओझेलमा परेको स्थानीय युवा अजित क्षत्रीले बताए। ‘किचनाससहित समग्र स्याङ्जा जिल्लालाई खुला दिसामुक्त क्षेत्र घोषणा गरियो। सबैका घरमा शौचालय पनि छ, ’ उनी भन्छन्, ‘घरमा खानेपानी छैन। शौचालयमा के हाल्ने? पशुवस्तुलाई के दिने? ’ धेरैतिर पहल गरे पनि अहिलेसम्म समस्या समाधान नभएको उनको भनाइ छ।
बिरुवा गाउँपालिका अध्यक्ष चुनप्रसाद शर्माले चाहीँ छिट्टै समस्या समाधान हुने प्रतिबद्धता जनाएका छन्। पानीको पाइप बिछ्याउने काम गरिरहेको र केही आर्थिक श्रोत जुटेपछि पानीको जोहो जुट्ने उनले सुनाए।
Related News
सम्बन्धित समाचार
पोखरा महानगरद्वारा खाद्य पसलमा अनुगमन
मनाङमा पर्यटक चहलपहल बढ्यो
जिप दुर्घटनामा ७ जना घाइते
क्षतिग्रस्त पुल र सडक निर्माणमा २५ अर्ब लाग्ने
बाढीपहिरो प्रभावितलाई गण्डकी सरकारको ५० लाख
hero news full width
मुख्य समाचार
विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव सुरु, नवदुर्गाले खिच्यो ध्यान
गोरखा दरबारमा विधिपूर्वक जमरा राखियो
असाेज १७, २०८१सर्वोच्चले भन्यो–जोशीलाई हिरासतमुक्त गर्न सकिने
असाेज १७, २०८१स्वास्थ्य मन्त्रालय परिसरमै लामखुट्टेको बासस्थान !
असाेज १६, २०८१विन्ध्यवासिनी बसपार्कमा यात्रु सहायता कक्ष
असाेज १६, २०८१बाढीपहिरामा परी २२८ जनाको मृत्यु
असाेज १६, २०८१