गर्मी छल्न भारतीयलाई चलिए पोखरा अभियान

आदर्श समाज सम्वाददाता
असार १७, २०७६
pokhara

उत्तर भारतका विभिन्न शहरमा नेपाल प्रवद्र्धन गर्ने उद्देश्यसहित सोमबारदेखि यस वर्षको चलिए पोखरा अभियान शुरु भएको छ।

पश्चिमाञ्चल होटल संघ पोखराले नेपाल पर्यटन बोर्डसँग मिलेर यो अभियान संचालन गरेको हो। अभियान सन् २०१२ देखि शुरु भएको हो।

यसपटक अभियानअन्तर्गत होटलकर्मी, अन्य पर्यटकीय संघसंस्थाका प्रतिनिधि र संचारकर्मीसहितको टोली संलग्न छन्।

असार २० गतेसम्म संचालन हुने अभियानअन्तर्गत बिहार राज्यको राजधानी पटना, उत्तर प्रदेशको राजधानी लखनउ, पर्यटकीय शहर आगरा र सीमावर्ती शहर गोरखपुरमा विविध कार्यक्रमहरु संचालन हुने अभियान संयोजक एवं संघका अध्यक्ष विकल तुलाचनले जानकारी दिए।

बोर्डर टाउन सेल्स् मिसनको रुपमा संचालन हुने यो अभियानअन्तर्गत पत्रकार सम्मेलन, भारत र नेपालका पर्यटन व्यवसायीबीच द्विपक्षीय व्यापारिक भेटघाट (बीटुबी), पर्यटनसम्बन्धी श्रव्यदृष्य प्रदर्शन तथा प्रचार सामग्रीको वितरण मुख्यरुपमा समेटिने जनाइएको छ।

सन् २०१८ मा ११ लाख ७३ हजारभन्दा बढी विदेशी पर्यटक हवाइमार्ग मार्फत् नेपाल प्रवेश गरे। तीमध्ये भारतीयको संख्या २ लाखभन्दा बढी रहेको नेपाल पर्यटन बोर्डको तथ्यांकले देखाउँछ। यसकारण पनि भारत नेपालका लागि ठूलो पर्यटन बजार भएको बोर्डको गण्डकी प्रदेश कार्यालयका प्रमुख निर्देशक मणिराज लामिछाने बताउँछन्। अर्कोतर्फ उत्तर भारतका उल्लेखित शहरहरु नेपालको सीमा नजिक पर्ने र भ्रमणका लागि आउन समेत नजिक र सहज हुने कारण तिनै क्षेत्रमा प्रवद्र्धनको अभियान संचालन गर्न लागिएको संघले जनाएको छ। साथै, पोखरा घुम्न चाहने भारतीय पर्यटकलाई लक्षित गरी वर्षायाम अर्थात् रेनि सिजनको प्याकेजको समेत संघले व्यवस्था गरेको छ। उत्तर भारतमा अहिले तापक्रम ४० डिग्री नाघेको र प्रचण्ड गर्मी भइरहँदा पोखराको तापक्रम भने त्यो भन्दा झण्डै १५ डिग्री कम रहने गरेको छ। यस्तो अवस्थामा भारतीय बासिन्दाका लागि पोखरा र वरपरका स्थलहरु गर्मी छल्ने उपयुक्त गन्तव्य हुन सक्ने विषय जानकारी गराउन पनि यो भ्रमण आयोजना गरिएको संघका निवर्तमान अध्यक्ष भरतराज पराजुलीले बताए। गत वर्ष यस्तै गर्मीको समयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मे महिनामा मुस्ताङ जिल्लामा अवस्थित पवित्रधाम मुक्तिनाथ दर्शन गरेपछि भारतीय पर्यटक नेपाल आउनेक्रम बढेको आयोजक संघको सल्लाहकार परिषद् संयोजक हरि शर्मा गैह्रेले जानकारी दिए। भारतीय पर्यटकलाई पोखरा घुम्न उपयुक्त छ भन्ने सन्देश दिने भ्रमणको मुख्य उद्देश्य रहेको छ। पोखरा सबै मौसमका लागि घुम्न उपयुक्त छ नै, गर्मीको समयमा शितल, स्वच्छ वातावरणसहित हिमाली एवं पहाडी दृष्यावलोकनका लागि आउनै पर्ने ठाउँ भएको विषयलाई सीमाका पर्यटन व्यवसायीसँग मिलेर संघले संघले पोखरालाई चिनाउने प्रयास गनेर्छ।

गण्डकी प्रदेशले अहिले आन्तरिक पर्यटन वर्ष २०१९ पनि मनाइरहेको छ। अर्को वर्ष सन् २०२० मा छिमेकी पर्यटन वर्ष मनाउने घोषणा प्रदेश सरकारले गरिसकेको छ। यतिमात्र नभई संघीय सरकारले पनि सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने महत्वाकांक्षी लक्ष्य अगाडि सारेको छ। यी सबै लक्ष्य भेट्न पनि भारतीय बजारमा पोखरा र समग्र नेपालको प्रवद्र्धन गर्न जरुरी भएको व्यवसायीले बताउने गरेका छन्। चलिए पोखरा अभियान संचालन गरेसँगै पछिल्ला वर्षहरुमा पोखरामा भारतीय पर्यटक आउनेक्रम समेत बढेको पाइएको छ। आफ्नै साधन लिएर सीमा नाका हुँदै उनीहरु सिधैँ पोखरासम्म ड्राइभ गरेर आउने गरेका छन्। त्यही भएर पनि अहिले पोखराको लेकसाइड लगायत अन्य पर्यटकीय क्षेत्रहरुमा भारतीय पर्यटकको उपस्थिति केही बाक्लो देखिन्छ।

प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा सामाजिक र सांस्कृतिक रुपले उत्तर भारत र पोखराबीच धेरै समानता भएका कारण पनि भारतीय पर्यटकका लागि पोखरा उपयुक्त गन्तव्य भएको व्यवसायीले सुनाउने गरेका छन्। उत्तर भारत र पोखराबीच सिधा बस सेवा संचालनका लागि पहल गर्नुपर्ने भारतीय पर्यटकले व्यक्त गर्ने गरेका छन्।

सीधा हवाइ सेवा हुन सके अझ उत्तम हुन सक्ने भारतीय जनता पार्टी उत्तर प्रदेशका राकेश त्रिपाठीको भनाइ छ। यातायात सुधार, पटनाबाट पोखरासम्म सीधा हवाइ सेवा, सीमामा भारतीय पर्यटक र उनीहरुका सवारीलाई दुःख र झन्झट दिन नहुने तथा सहज चेकजाँच व्यवस्थाजस्ता माग भारतीय पक्षबाट उठाउने गरिएको छ।

Related News

सम्बन्धित समाचार

hero news full width