मिलेनियम ट्रेकमा साइनेज पोष्ट

आदर्श समाज सम्वाददाता
असार १५, २०७६
M Trek News Photo

पोखरा, १५ असार । सहस्राब्दी पदमार्ग (मिलेनियम ट्रेक)मा साइनेज पोष्ट (पदमार्ग देखाउने बोर्ड) राखेर शुभारम्भ गरिएको छ ।

नेपाल पर्यटन बोर्डको आर्थिक सहयोग तथा मिलेनियम पदमार्ग व्यवस्थापन समितिले तनहुँको शुक्लागण्डकी नगरपालिका–२ स्थित गाछेपानीमा साइनेज पोष्टको शुभारम्भ गरिएको हो । पदमार्गलाई सहज बनाउने उद्देश्यले नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका कार्यालय प्रमुख मणिराज लामिछानेले उक्त साइनेज पोष्टको शुभारम्भ गरेका हुन् ।

साइनेज पोष्टकोे शुभारम्भ गर्दै उनले साइनेज पोष्ट व्यवस्थापन समिति र नेपाल पर्यटन बोर्डको मात्र नभई स्थानीयको सम्पत्ति भएकाले यसको संरक्षणको जिम्मा स्थानीयले लिनुपर्ने बताए । पोखरा पर्यटकीय दृष्टिकोणले अति महत्वपूर्ण भएतापनि यसको अझै विकास गर्दै पोखरा आसपासका क्षेत्रलाई पनि पर्यटकीय रुपले विकास गर्न आफू लागि परेको उनले बताए ।

मिलेनियम पदमार्गको नेपाल पर्यटन बोर्डको पहिलो सहयोग भएको बताउँदै आगामी दिनमा त्यस्ता पोष्ट थपिदै जाने उनले बताए । सोही अवसरमा शुक्लागण्डकी नगरपालिका वडा नं. २ का कार्यपालिका सदस्य दानुमाया अधिकारी सापकोटाले मिलेनियम पदमार्गको पूर्वाधार विकासलाई अगाडि बढाउन आफू सदा तत्पर रहेको बताइन् ।

मिलेनियम पदमार्ग व्यवस्थापन समितिका महासचिव हर्कबहादुर गुरुङले रहर र लहडले पर्यटनको विकास नहुने बताउदै मिलेनियम पदमार्गमा धेरै सम्भावना रहेकोले यसको भविष्य उज्ज्वल रहेको बताए ।

नेपालको पहिलो मध्यपहाडी पदमार्गलाई बिना गाइड सहज रुपमा पदयात्राको लागि आवश्यक देखिएकाले नेपाल पर्र्यटन बोर्र्डको सहयोगमा हाललाई अतिआवश्यक ठाउँमा (४२ वटा) साइनेज पोष्ट राख्न लागिएको छ ।

तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं. २ गाछेपानीबाट शुरु भई स्याङ्जाको वालिङ नगरपालिका रामबाच्छासम्म जोड्ने ७२ किमीको यो पदमार्ग रहेको छ । मिलेनियम ट्रेक अन्तर्गत शुक्लागण्डकीको वडा नं. १० स्थित रजस्थल, वडा नं. १२ को घरेडी, पुतलीबजारको वडा नं. ७ स्थित साँदीखोला, वडा नं. २ स्थित भैंसेगौडा, चिरुवा, पोखरीछाप, वडा नं. १२ स्थित चन्द्रकोट र डाँडागाउँ, वालिङको बुढाकोट लगायत १७ वट ठाउँमा सामुदायिक घरबास कार्यक्रम सञ्चालन भइसकेको छ । ।

Related News

सम्बन्धित समाचार

hero news full width