मादीमा ताल बनाउन अध्ययन गरिने

रासस
असार १४, २०७६
Rafting

दमौली, १४ असार । तनहुँको दमौलीस्थित मादी नदीमा बाँध बाँधेर कृत्रिम ताल निर्माणका लागि व्यास नगरपालिकाले अध्ययन गर्ने भएको छ ।

केही महीना अगाडि काठमाडौँमा सम्पन्न अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा पर्यटन पूर्वाधार क्षेत्र अन्तर्गत छनोट भएको ताल निर्माणका लागि नगरपालिकाले अध्ययन गर्न आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरेको छ
काठमाडौँबाट १५० र पोखराबाट ५० किमी दूरीमा रहेको दमौलीस्थित मादी नदीमा बाँध बाँधेर कृत्रिम तालसहितको संरचना निर्माणका लागि अध्ययन गर्न आर्थिक वर्ष ०७६/७७ को बजेटमा रु ४० लाख विनियोजन गरिएको नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए ।

नगरपालिकाको धेरै वर्ष पहिलादेखि मादी नदीमा बाँध बाँधेर कृत्रिम ताल बनाउने योजना रहेकोले ताल निर्माणका लागि अध्ययन गर्न आवश्यक रहेको उनले बताए । उनका अनुसार ताल निर्माणका लागि चिनियाँ कम्पनीसँग एक चरणको छलफल भइसकेको छ ।

नगरपालिका–३ र ५ को बीच भागमा बाँध बाँधेर कृत्रिम ताल निर्माण गर्नका लागि करीब रु ६ अर्ब लाग्ने अनुमान छ । कृत्रिम तालसहितको परियोजनालाई सरकारी–निजी–समुदायको साझेदारीमा निर्माण गर्ने लक्ष्य राखिएको छ । परियोजना अन्तर्गत जनजातिसँग सम्बन्धित गाउँ, पाँच सय क्षमताको सभाहल, वनस्पती फूलबारी, मनोरञ्जन केन्द्र, ‘वाटर पार्क’, ‘मिनी गल्फकोर्स’ लगायतका संरचना निर्माण गर्ने लक्ष्य छ ।

परियोजना निर्माणले व्यासको जन्मभूमि दमौालीको विकासमा ठूलो टेवा पुग्ने नगरप्रमुख न्यौपानेले बताउनुभयो । न्यौपानेले भने “यो ठाउँ काठमाडौँ र पोखराको नजिक भएकोले पर्यटकलाई आकर्षित गराउन सहयोग पुग्नेछ ।”

व्यास नगरपालिका–१० दुम्सीचौरमा निर्माण भइरहेको कृत्रिम ताललाई प्राथमिकतामा राख्दै व्यास नगरपालिकाले बजेट विनियोजन गरेको छ । पर्यटकीय गन्तव्य बनाउने उद्देश्यसहित निर्माण गर्न लागिएको तालको लागि नगरपालिकाले आर्थिक वर्ष ०७६/७७ को बजेटमा रु एक करोड विनियोजन गरेको हो । उक्त तालको गत पुस २० गते गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले सिलान्यास गरेका थिए ।

कृत्रिम ताल बनाएर समग्र व्यास नगरकै पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने उद्देश्य रहेको वडाध्यक्ष तुलसीराम सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार कृत्रिम ताल निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार हुने क्रममै रहेकोले सो डिपिआर बनेपछि यसको लागत अनुमान सार्वजनिक हुनेछ ।

ताल निर्माणका लागि थप दश रोपनी जग्गा आवश्यक रहेकोले त्यसको खरीद गर्ने तयारी गरिएको छ । सोही ठाउँको नारेश्वर खोलाको पानी थुनेर बनाइने ताल २८ रोपनी क्षेत्रफलमा फैलिने भनिए पनि दश रोपनी जग्गा थप आवश्यक पर्ने भएको छ । नगरपालिकाले चालु आर्थिक वर्षमा ताल निर्माणको लागि रु २० लाख बजेट विनियोजन गरेपनि आगामी वर्ष खर्च हुने गरी क्रमागतमा राखिएको वडाध्यक्ष सापकोटाले बताए ।

स्थानीयवासी विष्णु थापाको अध्यक्षतामा ताल निर्माण उपभोक्ता समिति गठन गरिएको र सोही समितिमार्फत् ताल निर्माण गरिने बताइएको छ । ताल निर्माणका लागि स्थानीयवासीलाई शेयर दिने विषयमा छलफल भइरहेको छ । यसअघि स्थानीयवासीले ताल निर्माणका लागि रु ३२ लाख सङ्कलन गरिसकेका छन् । तीन सय मिटर लम्बाइ रहने तालको चौडाई २८ देखि ६८ मिटरको रहनेछ । तालको औसत गहिराई २.५ देखि ३ मिटरको रहने छ भने ‘कङ्क्रिट ग्राभिटी ड्याम’को संरचनामा ताल निर्माण हुनेछ । ८ मिटर बाँधको उचाई रहने तालमा बाँधको चौडाई ६.८५ (जगमा) देखि १.५० मिटर (टुप्पोमा) रहनेछ । तालको क्षमता २५ हजारदेखि ३० हजार घनमिटरको रहनेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width