पानी अभावले सुत्केरीसेवा प्रभावित

रासस
असार १३, २०७६
progress-in-child-maternal-health-nepal

डडेल्धुरा १३, असार । डडेल्धुरा जिल्लाको एक स्वास्थ्य संस्थामा खानेपानीको समस्या हुँदा सुत्केरीसेवा प्रभावित बनेको छ ।

जिल्लाको अमरगढी नगरपालिका–१० राईस्थित सहस्रलिङ्ग स्वास्थ्य चौकीमा आपूर्ति हुँदै आएको खानपानीकोे मुहान सुकेर पानीको सतह कम भएपछि खानेपानीको चरम अभाव भएको हो ।

स्वास्थ्य संस्थामा नै खानेपानी अभाव हुँदा सुत्केरी सेवासँगै अन्य बिरामी र कर्मचारीले सास्ती भोग्नुपरेको छ । बर्थिङ सेन्टरसमेत रहेको यस स्वास्थ्य चौकीमा खानेपानीको चरम अभाव भएपछि सुत्केरी महिलालाई झनै बढी समस्या हुने गरेको छ ।

खानेपानीको आपूर्ति नहुँदा सुत्केरी सेवा प्रभावित भएको राई स्वास्थ्य सस्थाले जनाएको छ ।स्वास्थ्य चौकीमा खानेपानीको चरम अभाव भएपछि सुत्केरी महिलाको सरसफाइ र अन्य कुराका लागि पानीको जोहो गर्न खोलाबाट पानी भरेर ल्याउनुपर्ने बाध्यता रहेको स्वास्थ्य चौकीका इन्चार्ज नवीन नेपालीले बताए ।

सदरमुकामसँगै जोडिएको उक्त वडाका अन्य विद्यालय र गाउँमा समेत खानेपानीको समस्या रहेको छ । स्वास्थ्य चौकीमा नगरपालिकाको दमकलले खानेपानीको आपूर्ति गर्दै आइरहेको भएपनि त्यो पर्याप्त हुन नसकेको इन्चार्ज नेपालीले बताए ।

जथाभावी वनजगङ्ल फँडानी गर्दा र उच्च भारका डोजर, स्काईभेटरको प्रयोगबाट सडक खन्दा पानीका मूलहरु सुकेर गएको विज्ञहरु बताउँछन् । साथै पानीको मूल नजिकबाट सडकहरु लैजाँदा खानेपानीको समस्या अझ बल्झेको बताइन्छ ।

Related News

सम्बन्धित समाचार

hero news full width