अन्तराष्ट्रिय योग दिवसमा अभ्यास

आदर्श समाज सम्वाददाता
असार ७, २०७६
Yog Dibas

लमजुङ, ७ असार । लमजुङमा अन्तराष्ट्रिय योग दिवसमा योगका महत्वमा प्रकाश पार्दै त्यसको प्रयोग अभ्यास गरिएको छ । राइनास आयुर्वेद शाखाको आयोजनामा सो कार्यक्रम राइनास नगरपालिकाको तीनपिप्लेमा गरिएको हो ।

राइनास नगरपालिकाका मेयर सिंहबहादुर थापाले उक्त कार्यक्रमको उदघाटन गर्दै योग आजका दिनमा प्रत्येक मानिसका लागि आवश्यकता छ, स्वस्थ्य र चलायमान जीवन चाहनेहरूले यसको अभ्यास गर्नै पर्छ भने । उनले अल्छी भएर अस्पताल धाएर महंगा औषधि र त्यस्तै प्रविधिको प्रयोग गर्ने कि ? योग गरेर स्वास्थ्य रहने रोजाई आफ्नै हो भने ।

कार्यक्रममा योगको महत्वमा प्रकाश पार्दै सर्वोदय सेवाश्रमका अध्यक्ष कृष्णराज ओलियाले सूर्यनमस्कारका १२ आसनमात्र पनि नियमित गर्ने हो भने समय कम हुने मानिस पनि स्वस्थ्य हुन सक्छन् भने । उनले योग सिर्जनाको मुहान हो, यो विज्ञानको महाविज्ञान हो भन्दै भामरी, अनुलोम विलोम, कपालभाती, भस्तृका र उद्गिद प्राणायाम मात्र गर्दा पनि दिमाग तेज हुने, शरिरमा फूर्ति आउने र रोग भाग्ने हुन्छ भने । उनले जुन २१ मा अन्तराष्ट्रिय योग दिवस र माघे संक्रान्तिमा नेपालको राष्ट्रिय योग दिवस हो र यी दुवै मनाउन थालिएको छ भने ।

उनले राइनास नगरपालिकालाई योग र आयुर्वेदको नगर बनाउनेतर्फ प्रयास भइरहेको जानकारी दिदै राइनास– १० को भैरवमा निर्मित अध्याधुनिक सुविधाले युक्त भवनमा आयुर्वेदको डिप्लोमा तहको अध्यायन अनुमतिका लागि नगरपालिकाको तर्फबाट आवश्यक कदम चालिएको हुँदा सम्भव हुने छ भन्ने जानकारी दिए ।

राइनास आयुर्वेद शाखाका प्रमुख हरि नारायण यादवले सूर्य नमस्कारका विभिन्न १२ आसनको प्रयोगात्मक अभ्यास गर्ने तरिका बताउँदै त्यसको प्रयोग गरी देखाएका थिए ।
राइनास आयुर्वेद शाखाको व्यवस्थापन समितिका अध्यक्ष एवम् राइनास नगरपालिका– ५ का वडाध्यक्ष नन्दबहादुर कुमालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कृष्णराज ओलियाले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै