संकटमा गुँदे ताल

भीमपाणि बराल
असार ४, २०७६
gunde lake_Fotor

प्राकृतिकरुपमा नभै विश्वकै पर्यटकीय दृष्टिकोणले पनि पोखरालाई उत्कृष्ट गन्तव्यको रुपमा लिने गरिन्छ। पोखरा ताल र गुफामा धनी छ। शहरी क्षेत्रभित्र ९ ताल छन्। तालको संरक्षणसँगै यसबाट मनग्य आन्दानी लिन सकिने प्रशस्तै उपाय छन्। मानवीय र प्राकृतिकरुपमा ताल अतिक्रमणसँगसँगै अधिकांश ताल लोप हुने अवस्थामा छन्।

कुनै तालमा घाँसे मैदान छ। कुनैको मध्यभागमा मन्दिर छ। कुनै ताल सीमसार त कुनै दलदले त कुनैमा कमल फूलले ढाकेको छ। स्थानीयरुपमा जुनसुकै पार्टीका सरकार भए पनि ताल संरक्षण र विकासका कुरा उठ्ने गर्छन्, ताल संरक्षणका कुरा उठ्न थालेको पनि पचासौं वर्ष पुग्यो तर संरक्षण सक्रियता र प्रभावकारी काम अहिलेसम्म हुन सकेको छैन।

गुँदेताल लोप हुने अवस्थामा पुगेको र सरकारतर्फबाट पनि संरक्षणमा कुनै कदम अगाडि नबढेपछि स्थानीय नै यतिबेला संरक्षणमा जुटेका छन्।

पछिल्लो सयम यहाँको रुपा ताल र फेवातालमा बजेट विनियोजन गरिएको भए पनि अन्य ताल संरक्षणको पर्खाइमा छन्। पोखरा नगर क्षेत्रमा मात्र फेवा, वेगनास, रुपा, कमल, गुँदे, न्यूरेनी, खास्टे, दीपाङ र मैदी गरी ९ वटा ताल छन् भने शहरी क्षेत्र बाहिर २ सिक्लेसमा कफूचे र माछापुच्छ्रे गाउँपालिकामा पिपर ताल छन्।

पोखरा–२६ मा हरियाली वनको फेदीमा रहेको गुँदे ताल यतिखेर संरक्षण अभावमा लोप हुने अवस्थामा पुगेको छ। तत्कालीन लेखनाथ नगरपालिकाले २०५४ सालमा ७ तालको बाटिका शहरको रुपमा विकास गर्ने योजना ल्याइएको भएपनि त्यसयता संरक्षणमा लागि कुनै कार्य अगाडि बढ्न सकेको छैन।

‘ताल नै लोप हुने हो कि भन्ने चिन्ता स्थानीयको छ। ताल वरपरका जग्गाधनीले समेत तालको जग्गा अतिक्रमण गर्ने कार्य भइरहेको छ, ’ स्थानीय कुलदीप बराल भने, ‘तालको अस्तित्व नै मेटिन लाग्दा ताल हो भनेर चिनाउन नै नसकिने अवस्थामा पुगेको छ।

गुँदेताल लोप हुने अवस्थामा पुगेको र सरकारतर्फबाट पनि संरक्षणमा कुनै कदम अगाडि नबढेपछि स्थानीय नै यतिबेला संरक्षणमा जुटेका छन्। नौ तालमध्ये खास्टे, न्यूरेनी र गँदे ताल पोखरा महानगरपालिका वडा २६ मा पर्छन्।

अग्रज पूर्खाले बस्नका लागि गुन्द्री बुन्न प्रयोगमा आउने गुँद पाइने भएकाले परापूर्वकालदेखि नै उक्त तालको नाम गुँदे रहँदैआएको स्थानीय सुमन भट्टराईले जानकारी दिए।

महानगरपालिका भएपछि पनि यी ३ वटै वटा ताल एउटै वडामा पर्ने भएकाले तीन तालको वडा भन्न सकिने र तालको संरक्षणमा सरोकारवाला र स्थानीय निकाय जवाफदेही हुनुपर्ने तर्क वडाध्यक्ष नारायणप्रसाद बरालको छ।

तालवरपर घाँसे मैदान भएकाले यसलाई चराहरुको वासंस्थानको रुपमा विकास गराउन उपयुक्त छ तर पोखरा महानगरले चराको वासस्थानको रुपमा विकास गर्नेबारे कुनै चासो देखाउँदैन अब सरकारको मुख ताक्नुभन्दा स्थानीय नै ताल संरक्षणमा नै जुट्न थालेको स्थानीय दुर्गा अधिकारी बताउँछिन्।

यतिबेला गुँदेताल वातावरण तथा मत्स्य सहकारी र गुँदेताल संरक्षण समिति संरक्षणमा जुटेको छ। ताल संरक्षणअन्तर्गत पहिलो चरणमा ताल वरपरको सिमांकनका साथै वरपर फुटट्रयाक निर्माण अगाडि बढाइएको छ, भने तालमा माछाका भुरा छाड्ने कार्य पनि शुरु गरिएको छ।

रामसार सूचीमा सूचीकृत गुँदेतालको संरक्षण र विकासमा स्थानीय नै जुटेपछि पोखरा महानगर, वन, कार्यालय र हरियो वन कार्यक्रमले समेत केही मात्रामा सहयोग प्रदान गर्न शुरु गरेको गुँदेताल संरक्षण समितिका अध्यक्ष सूर्य भण्डारीले बताए।

वातावरणीय प्रभाव र मानवीय अतिक्रमणका कारण साघुरिँदै गएको यो तालको क्षेत्रफल १२.३८ हेक्टर रहेपनि जल क्षेत्र भने न्यून मात्रामा छ। जसको गहिराइ औषतमा २ मिटर र सिमसारको भाग धेरै रहेकाले यो तालमा प्रशस्तरुपमा कमल देख्न पाइन्छ।

जाडो मौसममा हिमाली भेगका चराचुरुङ्गी जाडो छल्न र गर्मीमा तराई क्षेत्रका चराहरु गर्मी छल्न गुँदे तालमा आउने गरेकै गुँदे ताललाई बर्ड वाचिङ सेन्टर अर्थात चरा हेर्ने ठाँउको रुपमा विकास गर्न सकिने जानकारी अध्यक्ष भण्डारीले दिए।

संरक्षण र आयआर्जनरुपमा तालको विकास गर्ने उद्देश्यले केही वर्षदेखि स्थानीय सरोकारवाला संगठित रुपमा ताल संरक्षणमा जुटेका र त्यो सदस्य संख्या १ सय २० जना पुगेको छ।

‘समिति सदस्य ताल संरक्षणका साथै माछा भुरा र चराको हेरचाहमा सक्रिय रहने छन्, ’ अध्यक्ष भण्डारीले भने, ‘आयआर्जनका लागि समितिले तालमा स्थानीय जातका माछाका भुरा छाडेको छ।

ताल संरक्षण नाममा पछिल्लो समय तालको जलाधार क्षेत्रभित्र नै माटोले पुरेर ट्रयाक खोल्ने कामले यो ताल पनि मानवीय अतिक्रमणको चपेटामा परेको देखिन्छ। सोबारे सरकारी निकायले बेलैमा ध्यान नदिने हो भने तालको अस्तित्व नामेट नहोला भन्न सकिन्न।

Related News

सम्बन्धित समाचार

hero news full width