जनप्रतिनिधिलाई दक्ष हुन मुख्य मन्त्रीको निर्देशन

आदर्श समाज सम्वाददाता
असार ३, २०७६
Ps Grg

लमजुङ, ३ असार । लमजुङका जननिर्वाचित प्रतिनिधिलाई दक्ष हुन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले निर्देशन दिएका छन् । बेसीशहर नगरपालिकाले आयोजना गरेको पाँचौं नगरसभाको उदघाटन गर्दै गुरुङले त्यस्तो निर्देशन दिएका हुन् ।

उनले जननिर्वाचित प्रतिनिधि दक्ष हुन चार चिजको विशेष अध्ययन गर्नु पर्ने बताउँदै ती हुन्– संविधान, संघीय संसदल बनाएको कानुन, प्रदेश सरकारद्वारा निर्मित कानून र स्थानीय तहद्वारा बनाइएको कानुन हुन् भने । तीन तहको उत्कष्ठ लोकतान्त्रिक संघीय अभ्यासमा आफूहरू रहेको हुँदा त्यसको महत्वलाई पहिलो बुझ्ने दायित्व जनप्रतिनिधिको हो उनले बताए ।
उनले संविधानले निर्दिष्ट गरेको समन्वय र सहकार्यको संस्कृतिलाई आत्मसात गरी त्यसलाई कार्यान्वयमा उत्रने इच्छा शक्तिको कमी आजको जटिल समस्या र चुनौति रहेको बताए ।

उनले भने, ‘प्रदेश सरकारको भावना, गति तथा नीति र योजनाका बारेमा स्थानीय तह जानकार हुन आवश्यक छ ।’ त्यस्तो केन्द्रीय सत्ताले पनि अनुभूति गर्नु पर्दछ । हामी तीनै तहका सरकार एउटै डुंगामा सवार छौं र डुंगा डुब्दा हामी तीनै डुब्ने भएको हुँदा समन्वय र सहकार्य नगरी सुख्खै छैन गुरुङले प्रष्ट्याए । उनले भने, ‘तीनबटै तहका सरकारको लक्ष्य मुलुकलाई समृद्धशाली बनाउनु भएको हुँदा समन्वय र सहकार्य गर्न कञ्जुस्याइँ गर्न आवश्यक छैन ।’

त्यसैले, स्थानीय तहका प्रतिनिधि र कर्मचारीलाई सक्षम बनाउनका लागि प्रशिक्षण प्राधिकरण गठन गरेर ७÷७ दिने प्रशिक्षण दिने सोचमा प्रदेश सरकार रहेको छ मुख्य मन्त्रीले भन्नुभयो । प्रशिक्षणले सीमा र औकात प्रष्ट्याउने छ र केही मानोमालिन्य तथा अन्योल चिर्ने काम गर्नेछ भन्ने विश्वास गरिएको मुख्यमन्त्रीको भनाई छ ।

आउँदो वर्ष प्रदेशको संरचना निर्माणको वर्ष भएएको जानकारी दिदै हामी धेरै मन्त्रालयका भवन, आवास भवनहरू, प्राधिकरणहरू बनाउने लक्ष्यमा छौं उनले उल्लेख गरे । उनले गत वर्ष निर्धारण गरेको लक्ष्यभन्दा प्रदेशमा बढी राजस्व उठेको जानकारी दिदै आउँदो वर्षका लागि जानेर नै दुई अर्बको घाटा बजेट ल्याइएको छ तर त्यही अनुपातमा राजस्व उठेर र खर्च गर्ने क्षमता बढेमा पनि समस्या नहुने बताए । सरकारले आजका दिनसम्म ६३ प्रतिशत मात्र बजेट खर्चिन सकेको बताउँदै खर्च गर्ने क्षमता, योजना निर्माणमा गुणस्तरीय, सुशासन, पारदर्शीताले सबै तहका सरकारलाई सक्षम बनाउने हुँदा त्यसतर्फ लाग्न ढिला गर्न नहुने उनले औंल्याए । उनले भ्रष्टाचार मुक्त भएमा समृद्धि टाढा छैन भने ।

सो अवसरमा प्रदेश सांसद तथा नेकपामा जिल्ला पार्टी प्रमुख मधु अधिकारीले ‘हाम्रो शहर व्यवस्थित शहर’ नाराका साथ ल्याइएको नीति र कार्यक्रम राम्रो रहेको छ । म भ्रष्टाचार गर्दिन र गर्न दिन्न भन्ने नारा र अभियान आफैमा सकारात्मक छ यसको सफल कार्यान्वय भएमा समृद्धि टाढा छैन भनिन् ।

गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरेले स्थानीय तहमा न्यायिक अधिकार आउनु गौरवको विषय भएको हुँदा यो चुनौतिलाई कार्यान्वय गर्नका लागि आफू सहकार्य गर्न तयार रहेको बताए । उनले बेसीशहर नगरपालिकाले जेठ मसान्तसम्म ९७ प्रतिशत बजेट खर्च गरेको राम्रो काम गरेको बताउँदै उपलब्धीलई गुणस्तरीय बनाउनेतर्फ ध्यान दिन आग्रह गरे ।

सो कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला अध्यक्ष भेषबहादु पौडेलले विकासका लागि भावनात्मक एकताको आवश्यकता हुने भन्दै स्थानीय तहमा जसरी प्रतिपक्ष रहित हुने परिकल्पना गरिएको छ, सो अनुसारको व्यवहारमा देखिन आवश्यक छ भने । उनले बेसीशहर भोर्लेटार सुरुङ सडकलाई जिल्लाको गौरवको योजनाका रूपमा लिएर सम्पन्न गर्नुपर्नेमा जोड दिए ।
उक्त कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष आश गुरुङले जनप्रतिनिधिहरू र कर्मचारीहरू पत्रकारहरूसँग नजिकिन नचाहने अनुभूति हुने गरेको बताए । उनले एक दशक अघि हालका मुख्यमन्त्रीले लउवासंघको एक कार्यक्रममा सञ्चारमाध्यमका लागि कु्ल बजेटको पाँच प्रतिशत खर्चिनु पर्छ भनेको स्मरण गर्दै उनले यतिबेला कार्यान्वय गर्ने स्थानमा हुनुहुन्छ सबै सरकारले आफ्नो बजेटको एक प्रतिशत मात्र सञ्चारमाध्यमका लागि खर्चिने नीतिगत व्यवस्था भएमा त्यसले ठूलो उपलब्धी दिनेछ भने ।

उक्त कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख लोकराज पाण्डे, जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्य, प्रजिअ डा. डिजन भट्टराई, लउवासंघका अध्यक्ष राजेश थापा लगायतले शुभकामना व्यक्त गरेका थिए ।

सो अवसरमा बेसीशहर नगरपालिकाका अध्यक्ष गुमानसिं अर्यालले आर्थिक वर्ष ०७६÷७७ का लागि ७२ करोड २८ लाख ३ हजार प्रस्ताव गरेका छन् । सो बजेटको संशोधित बजेट भन्दा १७ दशमलव शून्य ४ प्रतिशतले बढी हो । त्यस्तै निशर्त समानीकरण, राजश्व बाँडफाँड, आन्तरिक आया र अल्या तर्फ ३१ करोड ७३ लाख ३ हजार प्रस्ताव गरेको उनको भनाई छ । जुन बजेट चालु आवको भन्दा ४ दशमलव ४.२ प्रतिशतले बढी छ ।

कुल निशर्त बजेटमध्ये चालु खर्चमा ३२ दशमलव ७७ प्रतिशत र पुँजीगत खर्च ६७ दशमलव २३ प्रतिशत प्रस्ताव गरीएको छ । आगामी आवको शसर्त अनुदानतर्फको बजेट २१ करोड ९५ लाख प्रस्ताव गरिएको छ जुन चालु आवको संशोधितभन्दा ७ दशमलव ४८ प्रतिशतले कमी हो । गत आवको कुल आन्तरिक आय १ करोड ७१ लाख ४६ हजार रहेको थियो भने चालु आव ०७५÷७६ का लागि नगरपालिकाको कुल आन्तरिक आय २ करोड ४२ लाख ३२ हजार अनुमान गरिएकोमा संशोधित अनुमान २ करोड ९५ लाख १५ हजार प्रस्तावित गरीएको छ जुन प्रस्तावित भन्दा २१ दशमलव ८० प्रतिशतले बढी भएको नगरपालिकाका प्रेस सल्लाहकार कृष्ण केसीले बताए । उनका अनुसार आगामी आवको लागि ३ करोड २८ लाख १० हजार आन्तरिक आयको प्रक्षेपण गरेकोमा चालु आवको प्रस्तावित आय भन्दा ३५ दशमलव ३९ प्रतिशत बढी तथा संशोधित अनुमान भनदा ११ दशमलव १६ प्रतिशतले बढी हो ।

Related News

सम्बन्धित समाचार

hero news full width