मुद्रण महासंघ गण्डकीका हरेक बैठक होमस्टेमा

आदर्श समाज सम्वाददाता
असार ३, २०७६
20190617_094208_Fotor

नेपाल मुद्रण उद्योग महासंघ गण्डकीका हरेक वैठक होमस्टेमा वस्ने भएको छ।

देशको आन्तरिक पर्यटन प्रर्वद्धनमा सघाउने उद्देश्यले महासंघ गण्डकीले उक्त निर्णय गरेको हो। स्याङ्जाको पर्यटकीय स्थल गहते मनकामनामा सोमवार भएको पाँचौ वैठकले गरेको निर्णयवारे जानकारी दिदै गण्डकी प्रदेश समितिका अध्यक्ष महेन्द्र वजिमयले उक्त घोषणा गरेका हुन्।

वैठकले हरेक दुई महिनामा दोस्रो शुक्रवार प्रदेश स्तरीय वैठक गर्ने निर्णय गदै आगामी वैठक नवलपुर जिल्लामा गर्ने कार्यक्रम तय गरेको छ। यसैगरी वैठकले समितिमा म्याग्दी र मनाङ जिल्लालाई प्रतिनिधित्व गराउने तथा कोष वृद्धि गर्ने निर्णय समेत गरेको छ।

हालै मात्र स्थापित भएको गहते मनकामना सामुदायिक होम स्टेमा पुग्ने टोलीमा नेपाल मुद्रण उद्योग महासंघ गण्डकी पहिलो हो। १३ सदस्यीय टोलीले स्थानीय जनताका समस्यावारे सुनुवाई गर्नुकोसाथै मनकामना मन्दिरको दर्शन, सुन्तलावारी होम स्टे अवलोकन, कलाकार शर्मिला गुरुङको परिवारसँग भेट आदि कार्यहरु गरेको थियो।

यसअघि गहते मनकामना होम स्टेले आइतवार साँझ गहते पुगेका मुद्रण महासंघका पदाधिकारीहरुलाई भव्य स्वागत गरेको थियो। विरुवा गाउँपालिकाका अध्यक्ष चुनप्रसाद शर्मा सहित गाउँपालिका परिवार, होम स्टे परिवार र स्थानीयवासीले टोलीलाई फूलमाला र अक्षता लगाएर भव्य स्वागत गरेका थिए।

स्वागत समारोहवीच प्रमुख अतिथि स्वतन्त्र पत्रकार संघ नेपालका संस्थापक अध्यक्ष कृष्णप्रसाद वास्तोला र विरुवा गाउँपालिकाका अध्यक्ष चुनप्रसाद शर्माले मुद्रण महासंघ गण्डकीद्वारा प्रकाशित नयाँवर्ष २०७६ को ग्यालेन्डर विमोचन गरेका थिए।

त्यस अवसरमा प्रमुख अतिथि वास्तोलाले मुद्रण उद्योग महासंघको पहिलो आतिथ्यताले गहते मनकामना सामुदायिक होम स्टेको प्रगतिको ढोका खोलेको उल्लेख गर्दै होम स्टेबाट सहर र ग्रामीण क्षेत्रको सम्वन्ध विस्तारमा पनि सघाउ पुग्ने बताए।

विरुवा गाउँपालिकाका अध्यक्ष चुनप्रसाद शर्माले होमस्टेमा आउने पहिलो टोली नै सञ्चार र मुद्रण क्षेत्रको भएकोमा खुसी प्रकट गर्दै यस क्षेत्रको प्रचारप्रसारमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे। साथै उनले गहते मनकामनामा शुद्ध अर्गानिक वस्तुहरु उपलब्ध हुने चर्चागर्दै स्याङजा मनकामनाका सुन्तला नेपालकै उत्कृष्ट रहेको बताए।

स्वागत मन्तब्य राख्दै विरुवा–८ का वडाध्यक्ष खड्गबहादुर गुरुङले होम स्टे मार्फत स्थानीय जनताको आर्थिक विकासमा सघाउ पुग्ने बताए। कार्यक्रमको संचालन होम स्टेका सचिव जौबहादुर गुरुङले गरेका थिए।

त्यस अवसरमा होम स्टे परिवारले गुरुङ समुदायको परम्परागत सोरठी नृत्यका साथै सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेको थियो।

Related News

सम्बन्धित समाचार

hero news full width