अनियमिता भएको छैन : विद्यालय प्रशासन

आदर्श समाज सम्वाददाता
असार ३, २०७६
dhetal bahara school photo_Fotor

विद्यालयको अवस्थाबारे प्रकाश पार्दै बराह मावि अध्यक्ष रामचन्द्र गौतम। तस्विरःश्रीभद्र पौडेल/आदर्श समाज

माछापुच्छ्रे गाउँपालिका–६, भिडावारीस्थित बराह माध्यमिक विद्यालयमा अनियमितता नभएको विद्यालय प्रशासनले दाबी गरेको छ।

केही समयअघि विद्यालयमा अनियमितता भएको आरोपसहित समाचार सञ्चारमाध्यममा प्रकाशन–प्रसारण भएको थियो। तर, स्थानीयको भनाइ उद्घृत गर्दै आएको समाचारमा कुनै सत्यता नभएको प्रशासनको दाबी छ।

सोमवार विद्यालयमा अभिभावक भेला राखी प्रशासनले विद्यालयको शैक्षिक वातावरण खलबल्याउने गरी आएको उक्त समाचारमा कुनै सत्यता नरहेको दाबी गरेको हो।

विद्यालय प्रशासनलाई गैरकानूनीरुपमा शिक्षकलाई पैसा दिएको, बिनाटेन्डर जग्गा भाडामा लगाइ पैसा खाएको तथा इतिहास मेटाउने उद्देश्यले स्मारिका प्रकाशन गरेको र विद्यालयमा ब्रम्हलुट मच्चाएको आरोप लागेको छ।

आरोपको खण्डन गर्दै प्रधानाध्यापक नरबहादुर गुरुङले आफूहरुप्रति निराधार लाञ्छना लगाइएको भन्दै त्यस्ता लाञ्छानाप्रति सचेत रहन आग्रह गरे। उनले भने, ‘हामी वार्तामार्फत समस्या समाधान गर्न तयार छौं, स्थानीय बुद्घिजीवीलाई मध्यस्त गर्न आग्रह गर्दछौं, भोलिबाटै टेवल टक शुरु गछौं। ’

उनले गैरकानूनीरुपमा शिक्षकलाई तलब नखुवाएको/खाएको दाबी पनि गरे। गुरुङले विद्यालय प्रशासनले गरेका काम अवैध भए प्रमाणित गरेर देखाउन चुनौती पनि दिए।

भौगोलिक विकटता कारण शिक्षक पाउन समस्या भएपछि विद्यालयमा अध्यापनरत योग्यता पुगेका शिक्षकलाई नै न्यूनतम शुल्कमा कक्षा ११ र १२ मा पठनपाठन गर्ने जिम्मेवारी विगतमा दिएको उनले जनाए।

सम्प्रेषित समाचार तथ्यहीन, कपोलकल्पित, निराधार तथा पूर्वाग्रही ढंगले आएको उनको आरोप थियो। हालसम्म साढे २ करोड बढी रकम जम्मा भएको विद्यालयमा कसरी भ्रष्टाचार हुन्छ भन्दै प्रअ गुरुङले प्रतिप्रश्न गरेका थिए। भ्रष्टाचार गनेर्ले विद्यालयको अक्षयकोषमा रकम जम्मा कसरी गर्यो होला भनेर? उनले प्रश्न गरेका थिए।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामचन्द्र गौतमले केही सरोकारवाला उत्तेजित तवरले प्रस्तुत भइरहेको औँल्याउँदै हाल विद्यालय रहेको जग्गा विगतमा गौचरन क्षेत्र भएको अदालतले फैसाला गरेको जनाए। उनले वार्ता अन्तिम विकल्प भएको भन्दै वार्तामा बस्न आरोपी पक्षसँग आग्रह पनि गरे। उनले विद्यालयमा संस्थापक र जग्गादाताबारे विवाद रहेको पनि जनाए। स्मारिकालाई सुधार्न आफूहरु तयार रहेको उनको प्रष्ट युक्ति थियो।

विद्यालयका संस्थापक दुर्गादत्त पौडेलले २०१८ सालमा अदालतले विद्यालयको जग्गालाई सार्वजनिक गौचरन क्षेत्र भनी फैसला गरेकाले सो जग्गा कुनै व्यक्ति विशेषले विद्यालयलाई नदिएको प्रष्टाए। ल्वाङका बिजुलीप्रसाद गुरुङले विद्यालयको शैक्षिक वातावरण नबिग्रार्न आग्रह गरे।

शिक्षक अभिभावक संघका पूर्व अध्यक्ष देवीप्रसाद अधिकारीले अदातलको फैसलालाई सबैले स्वीकार गर्नुको विकल्प नभएको भनाइ राखे। पूर्व विद्यार्थी गोपाल गिरीले साझा प्रयासबाट विद्यालय निर्माण गरिएको बताए।

जग्गा भाडामा लिने संस्था, लमजुङ सीप विकास प्रतिष्ठान महासचिव विष्णु भुषालले आफूहरुले निःस्वार्थरुपमा विद्यालयसँग सम्बन्ध गाँसेको जनाए। सो अवसरमा स्थानीय भागिरथ दवाडीले पनि भनाइ राखेका थिए। वक्ताले विद्यालयको शैक्षिक वातावरण खल्बलिन दिन नहुने औँल्याएका थिए। सर्वसाधारणले भने दुवै पक्ष वार्तामा बसी समस्या समाधान गर्नुपर्ने जनाएका छन्।

शिक्षक अभिभावक संघ अध्यक्ष ओमप्रसाद गुरुङको अध्यक्षतामा भएको उक्त कार्यक्रम शिक्षक बुद्घि गौतमले संचालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width