तीन देशमा बौद्ध धार्मिक पर्यटन प्रवद्र्धन

रासस
असार ३, २०७६
lumbini

काठमाडौँ, ३ असार । नेपाललाई बौद्ध धार्मिक पर्यटनको प्रवेशद्वारको रूपमा स्थापित गराउने उद्देश्यले नेपाल पर्यटन बोर्डले विभिन्न मुलुकमा प्रवद्र्धनात्मक अभियान चलाएको छ । उदीयमान पर्यटन बजारको रूपमा रहेका देशहरु भियतनाम, कम्बोडिया र थाइल्याण्डमा बोर्डले सोसाइटी अफ ट्राभल एण्ड टुर अपरेटर्स, नेपाल (सोट्टो नेपाल) सँगको सहकार्यमा नेपाल गन्तव्य प्रवद्र्धन गरेको हो ।

बौद्ध धार्मिक पर्यटनको प्रवेशद्वार र एक आकर्षक पर्यटकीय गन्तव्यको रूपमा प्रवद्र्धन गर्ने उद्देश्यका साथ ‘नेपाल सेल्स मिसन २०१९’ कार्यक्रम क्रमशः यही जुन १०, १२ र १४ तारिखका दिन सम्पन्न गरिएको बोर्डले विज्ञप्तिमार्फत जनाएको छ ।

सहभागी प्रतिनिधिले नेपाल भ्रमण वर्ष २०२० लगायत नेपाललाई बौद्ध धार्मिक पर्यटनको प्रमुख गन्तव्यका साथै एक पटक भ्रमण गर्नैपर्ने गन्तव्यको रूपमा सहभागीमाझ प्रस्तुतिकरण गरेका थिए । सो अवसरमा बोर्डले तयार गरेको लुम्बिनीको वृत्तचित्र र सोट्टो नेपालले तयार गरेको नेपालसम्बन्धी प्रवद्र्धनात्मक वृत्तचित्र पनि देखाइएको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायले सरकारले नेपाल भ्रमण वर्ष २०२० राष्ट्रिय अभियानका अवसरमा स्वदेशी र विदेशी पर्यटन व्यवसायीलाई थप व्यावसायिक सम्बन्ध विस्तार गर्न आग्रह गरे । सोट्टो नेपालका अध्यक्ष मधुसुदन उपाध्यायले बौद्ध धार्मिक पर्यटन केन्द्रको रूपमा नेपाल भ्रमण ‘प्याकेज’ बिक्री गर्न कार्यक्रममा सहभागी स्थानीय पर्यटन व्यवसायी प्रतिनिधिलाई अनुरोध गरे ।

उक्त अवसरमा नेपालबाट सहभागी भएका पर्यटन व्यवसायी र विदेशस्थित पर्यटन व्यवसायीबीच भियतनामको हनोई, कम्बोडियाको न्होम पेन्ह र थाइल्याण्डको बैङ्ककमा व्यावसायिक गतिविधि विस्तारका सम्बन्धमा छुट्टाछुट्टै अन्तरक्रियासमेत भएको बोर्डले जनाएको छ ।

नेपाली राजदूतावास बैङ्ककको सहकार्य एवं समन्वयमा बैङ्ककमा आयोजना गरिएको नेपाल साँझ २०१९ मा थाइल्याण्डका लागि नेपालका राजदूत गणेशप्रसाद ढकालले नेपाल र थाइल्याण्डको ६० वर्ष पुरानो र सौहार्दपूर्ण दौत्य सम्बन्धको स्मरण गर्दै थाइल्याण्डका जनतामा भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीप्रति अगाध आस्था रहेकाले लुम्बिनीलाई भ्रमण प्याकेजमा समावेश गर्न थाई पर्यटन व्यवसायीलाई अनुरोध गर्नुभयो । लुम्बिनीका लागि सद्भावनादूत विक्रम पाँडे काजीले बुद्धको जीवन र ‘बुद्धिष्ट सर्किट’ को विषयमा गहन प्रस्तुति दिएका थिए ।

सन २०१८ मा भियतनामबाट कूल १२ हजार ४५४, कम्बोडियाबाट तीन हजार ७९० र थाइल्याण्डबाट ५३ हजार २५० पर्यटक नेपाल भ्रमणमा आएको बोर्डको तथ्याङ्क छ । नेपाल वायुसेवा निगमले हप्तामा तीनपटक काठमाडौँ–बैङ्कक–काठमाडौँ हवाईसेवा सञ्चालन गरिरहेको छ । यो सहज आवागमनले यी देशबाट नेपालमा पर्यटक आगमन वृद्धि हुने विश्वास लिइएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width