सञ्चारले दायित्व पूरा गर्नुपर्छः गुरुङ

आदर्श समाज सम्वाददाता
असार १, २०७६
MDC54443_Fotor

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले सञ्चारजगतले राज्यको दायित्व पूरा गर्नुपर्नेमा जोड दिएका हुन्। उनले भने, ‘राज्यको चौथो अङ्ग भएकाले सञ्चारजगतले पनि राज्यको दायित्व पूरा गर्नुपर्छ। ’

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिको प्रथम साधारणसभाको शनिवार पोखरामा उद्घाटन गर्दै उनले समग्र पत्रकार एवं सञ्चारजगतले राज्यसँग जे अपेक्षा गरेको हुन्छ, सोहीअनुसार आफ्नोतर्फबाट पनि योगदान दिन सक्नुपर्ने बताए।

उनले भने, ‘पत्रकार तथा सञ्चार क्षेत्रलाई राज्यको चौथो अङ्ग भनिन्छ, राज्यसँग तपाईहरुले जे अपेक्षा गर्नुहुन्छ, त्यही कुरा तपाईहरुले पनि दिन सक्नुपर्दछ, राज्यको अङ्ग भएकाले राज्यको दायित्व तथा जिम्मेवारी तपाईहरुले पनि निर्वाह गर्नुपर्दछ। ’

पत्रकार महासंघका केन्द्रीय महासचिव रमेश विष्टले सरकारले संसद्मा दर्ता गरेको मिडिया काउन्सिल विधेयकले संविधानको प्रस्तावनालाई आक्रमण गरेको तथा लोकतान्त्रिक आन्दोलनको म्यान्डेट र संविधानको भावनाविपरीत रहेकाले महासंघ र सिङ्गो नेपाली मिडिया आन्दोलनमा उत्रिनुपरेको स्पष्ट पारे।

राष्ट्रिय सूचना आयोगका आयुक्त एशोदा तिमिल्सिनाले सूचनाको हकको प्रयोग गर्दै सार्वजनिक सरोकारका विषयमा आमनागरिकले चासो लिनुपर्ने बताइन्।

गण्डकी प्रदेशसभाका प्रमुख विपक्षी दल नेपाली काँगेसका प्रमुख सचेतक मणिभद्र शर्माले सूचना बन्देज गरिए लोकतन्त्र सुदृढ नहुने भएकाले आफ्नो पार्टी पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा सदैव उभिने स्पष्ट पारे। पत्रकार महासंघ गण्डकी अध्यक्ष त्रिभुवन पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेभसभा सदस्य हरिशरण आचार्य, महासंघ गण्डकी महासचिव गणेश पौडेल लगायतले कुनै पनि बहानामा प्रेस स्वतन्त्रतालाई कुण्ठित पार्न नहुने र सञ्चारकर्मीले पनि आचारसंहितामा रहेर मर्यादित र तथ्यमा आधारित भएर पत्रकारिता गर्नुपर्नेमा जोड दिए।

सो अवसरमा महासंघ गण्डकीको पहलमा अमेरिका निवासी भीष्म अधिकारीबाट प्राप्त ३ लाख तथा पोखरा समाज सिड्नीका महासचिव दीपक पहारीबाट प्राप्त १० हजार रुपैयाँ सामुदायिक रेडियो ‘रेडियो पर्वत’ लाई सहयोग गरिएको छ।

Related News

सम्बन्धित समाचार

hero news full width