सातबुँदे घोषणपत्रसहित सकियो सहकारी युवा गोष्ठी

श्रीराम सुवेदी
असार १, २०७६
Sahakari gosthi photo_Fotor

नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. (नेफ्स्कुन) को आयोजनामा गण्डकी प्रदेशस्तरीय सहकारी युवा गोष्ठी सातबुँदे साझा घोषणापत्र जारी गर्दै सकिएको छ।

घोषणापत्रमा सहकारी नेतृत्वमा युवाको सहभागिता, युवाको आवश्यकता, क्षमता र पहिचानसहितको युवालक्षित कार्यक्रम, प्रविधिमा आधारित सहकारी सेवा सञ्चालन, १६ देखि ३५ वर्षसम्म युवाको उमेरलाई कायम गरिनुपर्ने, वित्तीय औजार, सीपमूलक कार्यक्रम, सामूहिक लगानी र उद्यमशीलतामार्फत स्वरोजगार बनाउने, आविष्कार तथा सिर्जना गरिएका प्रविधिलाई सहकारीमार्फत प्रवद्र्धन गरिने, सम्बन्धित निकायसँगको सहकार्यमा युवासम्बन्धी कार्यक्रम सञ्चालन गर्ने लगायत उल्लेख छन्।

प्रमुख अतिथि गण्डकी प्रदेश नीति तथा योजना आयोग उपाध्यक्ष डा गिरधारी शर्माले देश परिवर्तन र समृद्धिमा युवाको साथ र सहयोगको महत्वपूर्ण भूमिका रहने बताए। उनले सहकारीमार्फत युवालक्षित कार्यक्रम अगाडि बढाउने प्रदेश सरकारको नीति तथा कार्यक्रममा स्पष्ट व्यवस्था गरिने जानकारी दिए।

पर्यटन, उर्जा, पूर्वाधार, कृषि, उद्योग र जनशक्ति विकासमा समृद्धि ल्याउन सहकारीको भूमिकासम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै डा शर्माले सहकारीमार्फत युवालाई नेतृत्वदायी जिम्मेवारी दिई उत्पादनमुखी, आत्मनिर्भर र समाजवादउन्मुख अर्थतन्त्रको निर्माण गर्न सकिने बताए। राष्ट्रिय सहकारी महासंङकाे  सञ्चालकसमेत रहेकी प्रदेश सांसद प्रभा कोइरालाले सरकार नै सहकारी क्षेत्रबाट देशको समृद्धि र विकास गर्न सकिन्छ भनी अग्रसर रहेको बताउँदै स्थानीय सरकार र सहकारीको सहकार्यमा युवाको आवश्यकता, महत्व र उपलब्धि मूल्यांकन गर्ने गरी आत्मनिर्भर बनाउन सकियो भने मात्र देशको समृद्धि र अर्थतन्त्रमा परिवर्तन गर्न सकिने उल्लेख गरिन्।

युवा परिषद् उपाध्यक्ष माधव ढुङ्गेलले सबै जनता सहकारीमा आबद्ध भएमात्र त्यसले राज्यको नीति बदल्न सहयोग गर्ने बताए। राज्यबाट ल्याइएका नीति तथा कार्यक्रम प्रभावकारी नभएको अवस्थामा कार्यान्वयनका लागि अब त्यो तागत सहकारीमा मात्र भएको बताउँदै उनले देशको भ्रष्ट्राचार नियन्त्रणका लागि सहकारीको माध्यमबाट युवालाई अघि सार्नुपर्ने धारणा व्यक्त गरे।

नेफस्कुन अध्यक्ष डिबी बस्नेतले युवाउद्यम, आत्मनिर्भरता, समाजलाई समृद्धि बनाई विकास गर्न सकिन्छ भन्ने सोच विकास हुनुपर्नेमा जोड दिए। अरुले गरिदिएन भन्ने नकारात्मक सोचका कारण युवा पछाडि परेको बताउँदै उनले भने काम गर्ने ईच्छा, जोश र जाँगर भएमात्र युवामा आत्मनिर्भरको लहर आउने उल्लेख गरे।

नेफस्कुन वरिष्ठ उपाध्यक्ष परितोष पौड्यालले युवालाई विकासको केन्द्रमा राखी सामाजिक रुपान्तरणको मूल प्रवाहमा सहभागिता, अख्तियार र शक्तिको हस्तान्तरण र युवा दक्षताको प्राविधिक उपयोग गर्नुपर्ने बताए।

पोखरा महानगरपालिकाका सहकारी समिति अध्यक्ष तेजनारायण अधिकारीले युवालाई सशक्तिकरणमार्फत अगाडि बढाउने लक्ष्य पोखरा महानगरले राखेको बताए।

गोष्ठी संयोजक तथा नेफस्कुनका युवा उपसमिति संयोजक दीपक पनेरु, सञ्चालक चण्डी शर्मा पौडेललगायतले टिप्पणी राख्दै राज्यले नै सहकारीलाई पूर्ण विश्वास गर्न नसकेको र स्पष्ट नीति, आधार नवीनतम प्रविधिको उपयोगमा झन्झटिलो भएको कारण युवाले सहकारीमा आफ्नो भावी सम्भावना नदेखेको बताए।

गोष्ठीमा डा गिरधारी शर्मा, कृष्ण श्रेष्ठ, युवा वैज्ञानिक विराज भण्डारी र परितोष पौडेलले युवाको भविष्य, चुनौती, अवसर र वित्तीय समावेशीकरणमार्फत युवा दक्षताको उपयोगविषयक कार्यपत्र प्रस्तुत गरेका थिए भने नेफ्स्कुनका सञ्चालक एवम् गण्डकी प्रदेशका संयोजक भीमबहादुर गुरुङले नेफ्स्कुनको परिचय गराएका थिए।

छुट्टाछुट्टै सेसनमा भएको कार्यक्रमको अध्यक्षता क्रमशः नेफ्स्कुनका वरिष्ठ उपाध्यक्ष परितोष पौडेल, सञ्चालक चण्डीप्रसाद शर्मा पौडेल, जिल्ला सहकारी संघ लि.का अध्यक्ष रविरमण तिवारी र सहकारी माहाशाखाका अध्यक्ष तोयानाथ अधिकारीले गरेका थिए।

कार्यक्रम सञ्चालन क्रमशः नेफस्कुन महासचिव चन्द्रप्रसाद ढकाल कोओपरेटिभ क्लब कास्कीका अध्यक्ष मिलन ढकाल, कास्की बचत संघका कोषाध्यक्ष नारायणप्रसाद आचार्य र संघका अध्यक्ष सुदीप ढकालले गरेका थिए। पोखरा महानगरपालिका र कास्की बचत तथा ऋण सहकारी लि. र कोओपरेटिभ म्यानेजर्स क्लब कास्कीको सहकार्यमा भएको एकदिने गोष्ठीमा गण्डकी प्रदेशका २ सय सहकारी प्रतिनिधिको सहभागिता थियो।

Related News

सम्बन्धित समाचार

hero news full width