प्रदेश ५ मा राजधानी विवाद कायमै

आदर्श समाज सम्वाददाता
जेठ ३१, २०७६
pradesh_Fotor

प्रदेश ५ को प्रदेश सभाको बैठकले प्रदेशको स्थायी राजधानी र नाम सिफारिस गर्न गठन भएको विशेष समितिको म्याद पुन ६ महिनाका लागि थप गर्ने निर्णय गरेको छ।

बुटवलस्थित प्रदेश सभामा बसेको विहीवारको प्रदेश सभा बैठकले विशेष समितिको म्याद ६ महिना थप गर्ने निर्णय गरेको हो। प्रदेशको स्थायी राजधानी र नाम सिफारिस गर्न गठन भएको बिशेष समितिले प्रदेशका १२ वटै जिल्लामा पुगी सुझाव संकलन गरिसकेको छ। सुझाव संकलनपश्चात भूगोल, मौसम, वातावरण तथा सांस्कृतिक एवं सुरक्षाविद्सँग राय लिएर प्रतिवेदन पेश गर्न विशेष समितिले ६ महिना समय माग गरेकाले बैठकबाट म्याद थप गरिएको सभामुख पूर्णबहादुर घर्तीले जानकारी दिए। यसअघि पनि समितिको म्याद २ पटक ३/३ महिना थप गरिएको थियो।

यसअघि विशेष समिति सभापति दीपेन्द्रकुमार पुनमगरले विज्ञहरुको राय लिएरमात्रै प्रतिवेदनलाई अन्तिम रुप दिनु उपयुक्त हुने भएकाले समितिको बैठकले म्याद थप गर्न अनुरोध गर्ने निर्णय गरेको बताए।

सभापति मगरका अनुसार समितिले त्रिविका भूगोल, मौसम, वातावरणविद्हरुसँग राय लिन शुरु गरेको छ। त्यस्तै सांस्कृतिक तथा सुरक्षाविद्सँग राय लिन बाँकी रहेको र उनीहरुसँग पनि राय लिइने बताए।

विज्ञहरुलाई जिल्ला/ जिल्लाबाट आएका सुझाव आधारमा राजधानीका लागि बुटवल, दाङ, कपिलवस्तु र कोहलपुरबारे अध्ययन गर्न अनुरोध गरिने बताइएको छ। नामका सवालमा लुम्बिनी प्रदेशका पक्षमा अत्यधिक धेरैले सुझाव राखेको तथा सुझावमा बुद्ध प्रदेश, बुद्धभूमि, स्वर्गद्वारी, मगरात, थरुहटलगायत नाम पनि आएका थिए। नामका बारेमा पनि विज्ञहरुसँग राय लिने बताइएको छ। विज्ञहरुले दिने सुझाव र जिल्ला जिल्लाबाट आएका सुझावको विश्लेषण गरेर विशेष समितिले राजधानी र नामका लागि सिफारिससहितको प्रतिवेदन तयार पार्ने र सो काम आगामी ६ महिनाभित्रैमा पूरा गरिने समितिका सभापति पुन मगरले बताए।

संविधानको धारा २८८ मा भएको व्यवस्थाअनुसार प्रदेशको नाम र स्थायीराजधानी सम्बन्धित प्रदेश सभाले निर्णय गरेबमोजिम हुने व्यवस्था छ। प्रदेश ५ को नामाकरण गर्न र स्थायी राजधानी तोक्ने प्रयोजनको लागि प्रदेश सभा नियमावली २०७४ (संशोधन सहित) को नियम १५२ मा व्यवस्था भएअनुसार विशेष समिति बनाइएको थियो।

प्रदेश ५ सरकारले गत जेठ ९ गते प्रस्तुत गरेको नीति कार्यक्रममा आर्थिक वर्ष २०७६/७७ मा प्रदेशको स्थायी राजधानी र नामाकरणको टुंगो लगाउने उल्लेख छ।

Related News

सम्बन्धित समाचार

hero news full width