संघीयता खारेज हुँदैन’ – अधिकारी

आदर्श समाज सम्वाददाता
जेठ ३०, २०७६
Sangiyata

लमजुङ, ३० जेठ । नेकपा गण्डकी प्रदेश संसदीय दलका मुख्य सचेतक मायानाथ अधिकारीले कुनैपनि हालतमा खारेज नहुने बताएका छन् । मुख्य न्यायाधिवक्तको कार्यालयद्वारा सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रममा उनले त्यस्तो धारणा व्यक्त गरेका हुन् ।

आफ्नो संक्षिप्त मन्तव्यमा अधिकारीले संघीयतालाई असफल बनाउन विभिन्न कोणबाट विभिन्न शक्ति लागिपरेको दावी गर्दै संघीयतालाई कुनैपनि शक्तिले ढाल्न नसक्ने बताए । उनले कसैले चाहेर पनि संघीयता खारेज नहुने भन्ने ठोकुवा गरे । अहिले ज्ञानेन्द्र शाहलगायतका शक्ति सल्बलाएको र उनीहरू सल्बलाउँदैमा केही नहुने प्रष्ट्याउँदै उनले संघीयतापछि विकास निर्माणका कामहरु धमाधम अघि बढेको दावी गरे ।

अहिलेसम्म पूरा नभएको काम एकबर्षमै खोजिएकाले केही भएको जस्तो नदेखिए पनि सरकारले जग खनेको र बाटो देखाएको भन्दै अब त्यही जगमा टेकेर विकास गर्ने उनले उल्लेख गरे । गण्डकी प्रदेश सभा सदस्य धनञ्जय दवाडीले हिजोकै मानसिकता र काम गर्ने शैलीले विकास निर्माणका कामहरू अघि बढ्न नसकेको बताउँदै कतै कतै कर्मचारी तन्त्रका कारणले पनि उदासिनता छाएको बताए ।

कार्यक्रममा गण्डकी प्रदेश मुख्य न्यायधिवक्ताको कार्यालयका मुख्य न्यायधिवक्ता राजेन्द्र घिमिरेले नेपालमा संघीयताको परिप्रेक्षमा मुख्यन्यायधिवक्ताको काम, कर्तव्य र अधिकारबारे जानकारी गराएका थिए । उनले नेपालको संविधान अनुसार स्थापना भएको मुख्यन्यायधिवक्ताको कार्यालयले न्यायिक तथा अर्धन्यायिक निकाले पेशीको सूचना मुख्य न्यायधिबक्ता कार्यालयमा पठाउनुपर्ने, मुख्यन्यायधिवक्ता महान्यायधिवक्ताको मातहत रहने व्यवस्था रहेको बताए ।

उनले मुख्यन्यायधिवक्ता र उच्च तथा जिल्ला सरकारी वकिल कार्यालयको समन्वय र सहकार्यको अवस्था, प्रदेशमा भएका सरकारी मुद्दाको प्रकृति, तिनीहरुको अनुसन्धानको अवस्थाको बारेमा प्रदेश सरकारलाई जानकारी दिने एवं समन्वय गर्ने व्यवस्था, कानुन र न्यायको क्षेत्रमा प्रदेश सरकार र स्थानीय तहबीचको सहकार्यको अवस्था लगायतका विषयमा अन्तरक्रिया गरिएको थियो ।

मुख्यमन्त्री कार्यालयका सचिव दलबहादुर अधिकारीले गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रमबारे जानकारी गराएका थिए । कार्यक्रममा जिल्ला अदालतका न्यायधिक कोमलप्रसाद आचार्य, बेंसीशहर नगरपालिका प्रमुख गुमानसिंह अर्याल, नेपाल बार एशोसिएसन लमजुङ इकाईका अध्यक्ष कृष्णप्रसाद अधिकारी लगायतले संघीयताको मर्म अनुरुप संघ, प्रदेश र स्थानीय तह अघि बढ्नुपर्नेमा जोड दिए ।

प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराई, जिल्ला न्यायधिवक्ता एकनारायण लम्साल, प्रहरी नायव उपरीक्षक रवीन्द्रमान गुरुङ लगायत सहभागी कार्यक्रममा डिभिजन बल अधिकृत मोहन काफ्ले, कृषि ज्ञान केन्द्रका प्रमुख रोहिणीराज घिमिरे, शिक्षा विकास समन्वय इकाई प्रमुख नारायण रेग्मी, पत्रकार महासंघका जिल्ला अध्यक्ष आश गुरुङ लगायतले विभिन्न जिज्ञासा राखेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width