चितवन दूधमा आत्मनिर्भर

रासस
जेठ २९, २०७६
timthumb

चितवन, २९ जेठ । देशलाई नै पोल्ट्री क्षेत्रमा आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको यस जिल्ला दूधमा आत्मनिर्भर भएको छ । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र चितवन दुग्ध उत्पादक सहकारी संस्थाले करीब तीन महीना लगाएर गरेको अध्ययनले जिल्ला पूर्णरूपमा आत्मनिर्भर भएको देखाएको हो ।

केन्द्रका प्रमुख डा विजय श्रेष्ठका अनुसार विश्व खाद्य सङ्गठनले एक व्यक्तिले स्वस्थ रहन एक दिनमा २५० मिलीलिटर दूध प्रयोग गर्नुपर्ने जनाएको छ । जसअनुसार एक व्यक्तिले एक वर्षमा ९१ लिटर दूध प्रयोग गर्नुपर्छ । श्रेष्ठले भने “जिल्लामा छ लाख २५ हजार जनसङ्ख्या छन । जसलाई दैनिक एक लाख ५६ हजार लिटर दूध आवश्यक पर्दछ ।” उनको भनाइमा जिल्लामा दैनिक दुई लाख ९० हजार लिटर दूध उत्पादन हुँदै आएको छ ।

जिल्लामा खपत भएर बाँकी रहेको एक लाख ३४ हजार लिटर दूध बाहिरी जिल्ला जाने गरेको छ । श्रेष्ठले धेरै दूध काठमाडौँ जाने जानकारी दिँदै बाँकी कास्की र छिमेकी जिल्लामा जाने गरेको बताए । केन्द्रले सङ्कलन गरेको तथ्याङ्कअनुसार जिल्लामा दूध दिने गाई ४९ हजार छन् । जसमध्ये उन्नत ३९ हजार र स्थानीय १० हजार रहेका छन् । यसैगरी १० हजार स्थानीय र नौ हजार उन्नतजातका भैँसी छन ।

स्थानीय तहको पशु सेवा शाखामार्फत तथ्याङ्क लिइएको हो । चितवन दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष रत्नमणि न्यौपानेका अनुसार जिल्लामा १३८ दुग्ध उत्पादक सहकारीमध्ये १०४ क्रियाशील छन् । उनले सरकारले सहयोग गरेमा पाँच वर्षभित्रमा हालको उत्पादनको ५० प्रतिशत दूध बढाउन सक्ने जानकारी दिए । गाई, बाच्छी प्रजनन केन्द्रको विकास गर्न सहयोग पाएमा दूध र गाईसमेत बाहिरबाट नेपालमा ल्याउन नपर्ने गरी यही उत्पादन गर्न सकिने न्यौपानेको भनाइ छ ।

यसैगरी किसानलाई दिइने सहुलियत ऋण लिन कठिन हुने, नेपाल सरकारको अनुदान पर्याप्त नभएको, संस्था दर्ता गरेर पहुँचको भरमा अनुदान दिइने, भ्याक्सिन समयमा नपाउनेजस्ता समस्या भएको न्यौपानेले जानकारी दिए ।

यस जिल्लालाई आज दूधमा आत्मनिर्भर जिल्लाको रुपमा घोषणा गरिँदैछ । यसअघि काभ्रे जिल्ला आत्मनिर्भर जिल्लाको रूपमा घोषित भएको थियो । पशुसेवा विज्ञ केन्द्रका अनुसार चितवनलाई दोस्रो जिल्लाको रूपमा घोषणा गरिँदैछ ।

Related News

सम्बन्धित समाचार

hero news full width