विद्यार्थीसँग रमाउँदै कलाकार कायस्थ

रासस
जेठ २७, २०७६
BasudevPaudel_RSS_Pokhara_chetralalkayastha

पोखरा, २७ जेठ । उमेरले ७६ वर्ष लागिसके पनि युवा जस्तै जोसिला र फुर्तिलो छन्, पोखरेली कलाकार क्षेत्रलाल कायस्थ । केही दिनयता पोखरा आर्ट ग्यालरीमा चलिरहेको संयुक्त चित्रकला प्रदर्शनीमा विद्यालयका विद्यार्थीलाई कलाबारे जिज्ञासा मेट्नु यतिखेर उनको दैनिकी बनेको छ । नातिनातिनाले घेरिएजस्तै स्कुले विद्यार्थीले उनलाई प्रदर्शनी कक्षमा घेरेर कला सम्बन्धमा विभिन्न जिज्ञासा राखिरहँदा र त्यसलाई मेट्न पाउँदा आफूलाई निकै सन्तोषको अनुभूति दिलाएको कायस्थले बताए ।

विद्यार्थीमा देखिएको कलाप्रतिको लगावसँगै यस क्षेत्रको भविष्य पनि दिनानुदिन सुनौलो बन्दै गएको उनको बुझाइ छ । कायस्थको कलाकारिताप्रतिको लगावलाई आत्मसात गर्दै उनको परिवारजन र कलाप्रेमीको सक्रियतामा स्थापित कलाकार क्षेत्रलाल कायस्थ प्रतिष्ठानले स्कुले विद्यार्थीसँगै संयुक्त प्रदर्शनीको अवसर जुटाइदिएको हो ।

प्रतिष्ठानमार्फत दुई वर्षअघि देखि पोखराका बालमन्दिर, कन्या, ज्ञानभूमि, नवीन, महेन्द्र र नवप्रभात स्कुलमा कक्षा ७ देखि ९ सम्मका विद्यार्थीलाई कला सिकाउनका लागि कला शिक्षकको व्यवस्था गरिएको थियो । यस वर्ष बालमन्दिर, ज्ञानभूमि र नवीन गरी तीन वटा स्कुलमा कला विषयको कक्षा सञ्चालन हुँदै आएको छ ।

कला शिक्षकको सम्पूर्ण पारिश्रमिक प्रतिष्ठानले व्यहोर्ने गरी हप्ताको एक दिन कला विषयको कक्षा लिने व्यवस्था मिलाइएको छ । प्रतिष्ठानले कला विषयको पठनपाठनमा सहयोग पु¥याएसँगै कला सिकेकै विद्यार्थीसँग संयुक्त कला प्रदर्शनी गर्ने कायस्थको इच्छाबमोजिम संयुक्त कला प्रदर्शनी आयोजना गरेको हो ।

कलाकार कायस्थले आफैँ पनि समयसमयमा विद्यालयमा विद्यार्थीसँग पुगी कला सिकाउने कामसमेत गर्दै आएका थियो । “कला कक्षा शुरु गरेदेखि नै मलाई यी विद्यार्थीसँगसँगै संयुक्त कला प्रदर्शनी गर्ने इच्छा जागेको थियो,” कलाकार कायस्थले भने, “विभिन्न विद्यालयमा विद्यार्थीले तयार गरेका झण्डै एक सय कला यतिखेर सँगै प्रदर्शनीमा छन्, उनीहरूले निकै राम्रा कला कोरेका छन मलाई त अत्यन्त खुशी लागेको छ ।”

झण्डै आठ सय विद्यार्थी प्रदर्शनी अवलोकन गर्न आएको बताउँदै उनले ती विद्यार्थीहरूमा देखिएको कलाप्रतिको अभिरुचिले आफूलाई निकै हर्षित बनाएको अनुभव सुनाए । प्रत्येक विद्यार्थीका आ–आफ्ना रुचि र क्षमता हुने भएकाले उनीहरूका प्रतिभा प्रष्फुटन हुन पाउनुपर्ने कायस्थको भनाइ छ ।

समुद्रदेखि पहाड हुँदै हिमालसम्म पुगी कला कोर्ने कायस्थलका अहिले प्रदर्शनीमा राखिएका ३३ वटा कलामध्ये १५ वटा अष्ट्रेलियामा तयार गरिएका हुन भने १८ वटा हिमालपारिको जिल्ला मुस्ताङको उपल्लो भेग लोमन्थाङमा तयार गरिएको हो । विद्यालयमा कला शिक्षकको व्यवस्था गरी प्रतिष्ठानबाट सो विषयमा पठनपाठन सञ्चालन गरिनु अत्यन्त उपलब्धिमूलक बन्दै गएको बालमन्दिर मावि नदीपुरका सहायक प्रधानाध्यापक भीष्म लामिछानेले बताए ।

Related News

सम्बन्धित समाचार

  • सञ्जीवले ल्याए ‘जून ओर्लेको रात’

    आदर्श समाज सम्वाददाता चैत्र ११, २०८०
    पोखरा । कवि सञ्जीव पौडेलको कवितासंग्रह ‘जून ओर्लेको रात’ बजारमा आएको छ । शनिबार पोखरामा आयोजित दौंतरी कार्यक्रममा उक्त कृति…
  • ‘प्रिया !’ मुक्तक संग्रह लोकार्पण

    आदर्श समाज सम्वाददाता चैत्र ११, २०८०
    पोखरा । उपप्राध्यापक सुरज पौडेलद्वारा लिखित ‘प्रिया !’ मुक्तक संग्रह लोकार्पण गरिएको छ । सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखरा आयोजनामा शनिबार…
  • फेवाताल किनारमा चित्ताकर्षक ओडिसी नृत्य

    आदर्श समाज सम्वाददाता चैत्र १०, २०८०
    पोखरा । नेपाल र भारतको समृद्ध सांस्कृतिक सम्पदा मनाउन पोखरामा शनिबार साँझ भारतीय शास्त्रीय ओडिसी नृत्य र नेपाली लोकनृत्य प्रस्तुत गर्दै…
  • कर्मचारी युनियन कास्कीको क्यालेन्डर

    आदर्श समाज सम्वाददाता चैत्र ९, २०८०
    पोखरा । नेपाल निजामती कर्मचारी युनियन कास्कीले विसं २०८१ को क्यालेन्डर निकालेको छ । शुक्रबार पोखरा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा…
  • जसुलाई रोटरी भोकेसनल एक्सिलेन्स अवार्ड

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०८०
    पोखरा । पोखराकी जसु गुरुङ १ लाख राशिको रोटरी भोकेसनल एक्सिलेन्स अवार्डबाट सम्मानित भएकी छन् । महिलालाई सामाजिक सेवामा प्रोत्साहित…

hero news full width