‘छोरीलाई कराँते सिकाउनुपर्छ’

आदर्श समाज सम्वाददाता
जेठ २७, २०७६
53636653_2141281922632470_4678508184770445312_n_Fotor

वर्ष खेलाडी महिला बनेपछि उनलाई बधाई दिनेको धुइरो लाग्यो। मोबाइलमा सो दिन लगातार घण्टी बजिरह्यो। २ वर्षअघि मनोनयनमै चित्त बुझाएकी सुष्मी श्रेष्ठलाई गत शुक्रबार भने टीभीएस अपाचे चौथो पोखरा स्पोर्टस् अवार्डमा सवोर्त्कृष्ट खेलाडीको उपाधि मिल्यो। मनोनयनमा परेका सफ्ट टेनिसकी प्रीति बराल र सुटिङकी श्रेया केसीलाई पछि पार्दै उनले उपाधिसहित बतास ब्रदर्सको प्रायोजनमा वीगो स्कूटर चढेकी हुन्।

फूल कन्ट्याक्ट कराँतेकी राम्रो खेलाडी सुष्मीले आफ्नो नाम घोषणा हुँदा खुसीको क्षणमा सर्वप्रथम बुबाआमा र साथी प्रभालाई सम्झेको बताइन्। खेलमा लागेर एकपछि अर्को पदक जित्दैआएकी उनको लागि सो उपाधि जीवनकै महत्वपूर्ण थियो। उनी भन्छिन्, ‘खेलमा लागेर अरु केही नपाए पनि यस्तै पदक र उपाधिले खुसी बनाउँदो रहेछ। अझै देशको नाम अन्तराष्ट्रियस्तरमा चिनाउने लक्ष्य छ। ’

आठौ राष्ट्रिय खेलकुद प्रतियोगितामा खुला तौल समूहतर्फ काँस्य पदकधारी सुष्मी अघिल्लो संस्करणमा भने स्वर्ण विजेता हुन्। २९ औं यूरोपियन च्याम्पियनसीप क्युकोसिन कराँतेमा काँस्यसमेत जितेकी उनी सेकेण्ड साउथ एशियन रिजनल कन्ट्रिज क्युकोसिन कराँते च्याम्पियनसीप खुला तौल समूहमा स्वर्णधारी हुन्। जीवनको २० वसन्तमात्र पार गर्दै गर्दा उनले राष्ट्रिय प्रतियोगितामा कुल १५ स्वर्ण, २ रजत र ३ काँस्यमा आफ्नो नाम लेखाइसकेकी छन्। २ वर्षअघि दोस्रो पोखरा स्पोर्टस् अवार्डमा वर्ष उत्कृष्ट महिला खेलाडीको मनोनयनमा सुष्मीसहित भारोत्तोलनकी टीकामाया गुरुङ र भलिबलकी अरुणा शाही थिए। उपाधि भने अरुणाको पक्षमा गएको थियो।

यसपालिको गण्डकी प्रदेशस्तरीय अवार्डसम्म आइपुग्दा ७ वर्ष उमेरमै खेल क्षेत्र प्रवेशले सफलताको बाटो कोरेको थियो क्यारे। स्याङ्जा भीरकोटका मीनबहादुर श्रेष्ठ र औमाया श्रेष्ठ दम्पत्तिका ३ छोरीमध्ये सुष्मी जेठी हुन्। उनीसहित बहिनीहरु सिम्रन (एसइई) र सप्नम् (कक्षा ८) हाल पोखरा मालेपाटनमा बाबुआमासँग बस्छन्। बुबा मीनबहादुर पेसाले ड्राइभर हुन्। सुष्मीको उमेर जति भयो, त्यत्ति नै भयो उनले गाडी चलाएको। जीवनको गाडी अगाडि बढाउन लामो समयसम्म साहुकै भर परे। २ वर्षअघि मात्र मिनी बस ऋणधन गरी किनेर बेनी–बागलुङ–पोखरा चलाउँछन्। अवार्डको कौतुहलताबीच श्रेष्ठ दम्पत्ति ३ छोरीसहित उपस्थित थिए। आफ्नै पक्षमा अवार्ड आएपछि श्रेष्ठ परिवारमा एकाएक खुसी कोरिएको थियो। विगतको दुःख भुले। छोरीले आफ्नो नाम चम्काएकोम माामामा गद्गद् बने।

कुराकानीका क्रममा मीनबहादुरललले भने, ‘मलाई अत्यत्नै खुसी लागेको छ, छोरीको सफलतामा। अझै आफ्नो चम्काओस्। हामीहरुले पनि खेलका लागि वातावरण दिएका छौं। ’ सुष्मीको आमा भने घरगृहस्थीमै व्यस्त छिन्।

सुष्मीको खेल यात्रा अटूट छ। अवार्ड जितेकै दिन उनी चितवनमा आयोजित फस्ट अल नेपाल क्युकोसिन कान च्याम्पियनसीपमा भाग लिन रातारात पुगिन्। शनिवारको खेलमा आफ्नौ सीप कौशल देखाइन्। खुला इभेन्ट्समा स्वर्ण हात पारिन्। अब जुलाई पहिलो साता मलेसियामा ओयामा क्युकोसिन कान कराँते च्याम्पियनसीपमा भाग लिन आवश्यक तयारी गर्ने उनको योजना छ।

सुष्मीको खेल जीवन शुरुवात दिनमा उसुबाट भएको हो। पृथ्वीनारायण क्याम्पस खेल मैदानमा गुरुहरुले उनलाई ६ महिना उसु सिकाए। विस्तारै क्युकोसिन कराँतेतर्फ आकर्षित भइन्। पीएन क्याम्पसमा भीमजंग खवास र नारायण आचार्यसँग कराँते प्रशिक्षण लिइन्। हरेक दिन बिहानै कराँते सिक्न उनी नेपाल क्युकोसिन बुदोकाइ पीएन क्याम्पस डोजो जान्थिन्। १३ वर्षसम्म कराँतेमै बिताइसकेकी उनी अहिले त्यही ठाउँमा प्रमुख प्रशिक्षक छन्। विभिन्न उमेर समूहका गरी दैनिक ३०/४० जनालाई सुष्मीले कराँते सिकाउँछिन्।

सुष्मी पढाइमा पनि राम्रो विद्यार्थी हुन्। बाल मन्दिर नदीपुरमा नर्सरीदेखि ५ सम्म अध्ययन गरेकी उनले समता स्कुलबाट एसइई (ए ग्रेड) पूरा गरिन्। हाल पोखरा हाइयर सेकेण्डरी स्कुल, बगरमा व्यवस्थापन विषयको कक्षा १२ को परीक्षा दिएर बसेकी छन्।

कक्षाका सहकर्मीले पनि उनी कराँतेकी राम्रो प्लेयर हो भनेपछि खेलबारे उनको कुरा जिज्ञासा मानेर सुन्छन्। खेलका लागि भारत र नेदरल्याण्ड पुगिसकेकी उनले भारतमा भएको सेकेण्ड साउथ एशियन रिजनल कन्ट्रिज क्युकोसिन कराँते च्याम्पियनसीपमा स्वर्ण हात पारेकी हुन्। त्यस्तै, दोस्रो राष्ट्रिय नेपाल न्यू प्लाजा क्यूकोसिन बुदोकाइ कराँते टुर्नामेन्टमा यु–४० तौल समूहमा स्वर्णसहित वेष्ट फाइटर उनी नेपाल नेश्नल एण्ड इन्टरनेशनल प्लेयर्स एशोसिएसनको अवार्ड विजेता हुन्। खेलका लागि दैनिक बिहान २ घण्टा र साँझ ३ घण्टा छुट्टाउँछिन्।

मुलुकमा बलात्कारको घटना बढिरहँदा कराँते खेल स्वस्थ जीवनसँगै आत्मसुरक्षाका लागि अत्यावश्यक छ। किशोरीहरुलाई आत्मसुरक्षा तालिमका लागि उनले कराँते सिकाउन कास्कीसहित सप्तरीसमेत पुगिन्। भन्छिन्, ‘अहिलेको समयमा त झन् महिलालाई आवश्यक छ। यसले आत्मबल बढाउनुका साथै आत्मसुरक्षा दिन्छ। हरेक छोरीलाई कराँते सिकाउनुपर्छ।’

Related News

सम्बन्धित समाचार

hero news full width