व्यवसायीका समस्या सुन्दै उद्योग वाणिज्य संघ

आदर्श समाज सम्वाददाता
जेठ २७, २०७६
PCCI Bagar_Fotor

पोखरा उद्योग वाणिज्य संघलाई सवल र चुस्त बनाउँदै उद्यमशीलता विकास र व्यवसायीको हकहित रक्षामा थप क्रियाशील रहन सदस्यहरुले सुझाएका छन्।

उनीहरुले संघको विकल्प भनेको संघ नै भएकोमा जोड दिँदै सदस्यमाथि भरोसा गर्न आग्रह पनि गरेका छन्।

व्यवसायीहरुको प्रतिष्पर्धी क्षमता बढाउन तालिम र गोष्ठी आयोजना तथा निजी क्षेत्रले भोगेका समस्या समाधानमा गरिने प्रयासलाई बढावा दिन पनि उनीहरुको आग्रह छ। सदस्यहरुबीच आपसी भाइचारा अभिवृद्धिका साथै व्यवसायीका समस्या पहिचानका लागि पोखरा उद्योग वाणिज्य संघले सुरु गरेको घरदैलो कार्यक्रममा उनीहरुले यी सुझाव दिएका हुन्।

पोखराको पुरानो व्यापारिक क्षेत्र भैरवटोल, मोहोरियाटोल, बगर र बागलुङ बसपार्क क्षेत्रका व्यवसायी माझबाट सुरु गरिएको अभियानमा बोल्दै व्यवसायी विष्णु बास्तोलाले खुकुरीको चोट अचानाले जान्दैन भनेजस्तै निजी क्षेत्रको समस्याबारे सरकारले खासै ध्यान नदिएको गुनासो गरे। उनले प्रतिष्पर्धी क्षमता बढाउन साझेदारी अवधारणामा व्यवसाय बिस्तारका सम्भावनाको खोजी गर्न पोखरा उद्योग वाणिज्य संघसँग आग्रह गरे।

व्यवसायी कल्पना आचार्यले व्यवसायलाई चाहिने नवीनत्म सोच र प्रविधिबारे जानकारी दिन संघले थप तालिमको व्यवस्थापन गर्नुपर्नेमा जोड दिइन्।

कार्यक्रम व्यवस्थापनमा सहकार्यसमेत गरेका बगर व्यवसायी कल्याणकारी क्लबका अध्यक्ष प्रकाश बास्तोलाले उद्योग व्यवसाय प्रवद्र्धनका लागि करको दर घटाउनु पर्ने, घरभाडाको क्षेत्रमा देखिएका समस्या समाधान हुनुपर्ने र सामान ढुवानीमा देखिएको समस्या निराकरण हुनुपर्नेमा जोड दिए।

पुस्तक व्यवसायी तथा संघका पूर्व कार्यसमिति सदस्य देवकृष्ण काफ्लेले भन्सार करका विषयमा संघले अभिमुखीकरण गर्नुपर्नेमा जोड दिए। अहिले पुस्तक आयातमा भन्सार लगाइएकोमा उनको आपत्ति रहेको थियो। व्यवसायी यादव शर्माले घरभाडा कर व्यवसायीले नै तिर्नुपर्नेमा जोड दिँदै व्यवसायिक सुरक्षामा ध्यान दिन उद्योग वाणिज्य संघसँग आग्रह गरे।

संघले उत्पादनशील क्षेत्रमा लगानी गर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड व्यवसायी दुर्गा पोखरेलको थियो भने प्रेम भुषालले रातको समयमा व्यापार हुने रेष्टुरेण्ट व्यवसायीले भोग्नु परेको प्रशासनिक झण्झट अन्त्यको पहल हुनुपर्ने बताए।

व्यवसायी मुक्तिनाथ आचार्यले अब व्यवसायलाई अर्को पुस्ता हस्तान्तरण गर्नुपर्ने वातावरण बनाउनु पर्ने धारणा व्यक्त गरे। यता, तिलक कोइरालाले घरभाडा कर व्यवसायीले नतिर्ने वातावरण बनाउनेतर्फ उचित कदम चाल्न संघसँग आग्रह गरे। व्यवसायी कल्याण पण्डितले बैंकको बेला न कुबेला बढ्ने ब्याजदर घटाउन सामूहिक रुपले आवाज उठाउनु पर्नेमा जोड दिए।

व्यवसायीका गुनासा र सुझाव सुनेपछि संघका अध्यक्ष दामु अधिकारीले आवश्यक तालिम र उठेका विषय संवोधन गर्न संघले कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गरे।

उनले घरभाडा करको नाममा राजश्व मात्रै उठाउने हो कि त्यो कर कसरी संकलन भएको छ भन्नेबारे बुझ्ने पनि हो भन्ने प्रश्न गर्दै यो विषयमा सरोकारवाला निकायको पटक–पटक ध्यानाकर्षण गराइएको जानकारी दिए।

कार्यक्रममा बोल्दै संघका महासचिव अर्जुन पोखरेलले सदस्यहरुले दिएका सुझावले संघ अझ बलियो बन्ने बाटो खुलेको बताउँदै सदस्यहरुको क्षमता अभिवृद्धिका लागि संघले आवश्यक सबैखाले व्यवस्था गर्ने बताए। उनले व्यवसायीलाई प्रविधि मैत्री हुन आग्रह गर्दै संघले निकट भविष्यमा सदस्यहरुको जानकारीको लागि मोवाइल एप्ससमेत निर्माण गर्न लागेको बताए। समस्या पहिचान अभियानका संयोजक तथा संघका कार्यसमिति सदस्य रामेश्वर अधिकारीले यो अभियानलाई हरेक टोलमा पुर्याउने प्रतिबद्धता व्यक्त गरे।

Related News

सम्बन्धित समाचार

hero news full width