पोखरा दोविल्लाका भरत रायमाझीको परिवारमा कसैको निधन हुँदा अन्तिम संस्कार नजिकैको सेती नदी किनारमा हुन्छ। उनको परिवारमात्रै होइन, पोखरा निर्मलपोखरी, कृष्तीदेखि स्याङ्जाको टक्सार, चिलाउनेखर्क, हलेदे लगायत ठाउँबाट पनि अन्तिम संस्कारका लागि दोविल्ला घाटमै ल्याउने गरेका छन्। घाटहरु अव्यवस्थित भएपछि बिरौटा, रातोपैह्रादेखिका लास पनि त्यही घाटमा लैजान्छन्। दोबिल्लाघाट त्यस क्षेत्रको पुरानो दाहसंस्कारस्थल हो। ‘सदिँयौदेखि चल्दै आएको दाहसंस्कार गर्ने घाट हो। पहिले अव्यवस्थित थियो। त्यही ठाउँमा महानगरले बधशाला बनाउन लागेछ, ’ रायमाझी भन्छन्, ‘अहिलेसम्म स्थानीयलाई जानकारी नै छैन। धर्म संस्कार मास्न पाइँदैन। ’
उनीहरुको दाहसंस्कार घाट नजिकै पोखरा महानगरपालिकाले आधुनिक बधशाला बनाउन लागेको छ। महानगरपालिका र कृषि मन्त्रालको सहकार्यमा बधशाला निर्माणको प्रक्रिया अघि बढेको छ। यसका लागि ५ करोड रुपैयाँसमेत विनियोजन भैसकेको छ। प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको ३ करोड र पोखरा महानगरपालिकाले २ करोड विनियोजन गरेका हुन्। पोखरा २१, दोविल्लामा आधुनिक बधशाला निर्माणको लागि समझदारीसमेत भैसकेको छ। प्रदेश मन्त्रालयका सचिव दुर्गाप्रसाद दवाडी र महानगरका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले बधशाला निर्माणको समझदारीपत्रमा हस्ताक्षर गरेका छन्।
शुक्रबार बधशाला निर्माणको लागि जग्गा नापजाँच गर्न इञ्जिनियरको टोली पुगेको थियो। तर स्थानीयले फर्काइदिए। ‘हाम्रोमात्रै होइन, धेरैतिरबाट अन्तिम संस्कार गर्न आउने पवित्रस्थल हो यो। कुनै पनि हालतमा यहाँ बधशाला बनाउन पाइँदैन, ’ स्थानीय दोविल्ला टोल विकास संस्थाका अध्यक्ष गौतम गिरीले भने, ‘त्यसैलाई जोगाउन हामीले वृक्षरोपण पनि गरेका छौं। अब प्रतीक्षालय र सार्वजनिक शौचालय बनाउछौं। मन्दिर बनाएर अझै पवित्र ठाउँको रुपमा चिनाउने लक्ष्य छ। ’
शनिवार स्थानीय भेला भएर त्यही ठाउँमा ३ सय विरुवा रोपेका छन्। जिल्ला वन कार्यालयले विरुवा सहयोग गरेको थियो। ‘बधशाला अन्त बनाउन मिल्छ। मरेको मान्छे लिएर जलाउन हामी कहाँ जाऔं? , ’ उनले अघि भने, ‘हाम्रो संस्कार जोगाइदिनुपर्यो। संस्कार मेटाउने हो भने बसाइँ सर्नुपर्ने भयो। ’ सरोकारवाला चाहीँ घाट नजिकै बधशाला बनाउनु उपयुक्त नहुने तर्क गर्छन्।
बधशाला आवश्यक पर्ने जमिन र त्यसको डीपीआरसहित व्यवस्थापनको जिम्मा महानगरको छ। मन्त्रालयले चाहीँ निर्माणको अनुगमन गरेर सुधारका लागि सुझाव दिनेछ। दोविल्लाको करिब डेढ सय रोपनी जग्गामा बधशाला बनाउन लागिएको मेयर मानबहाादुर जिसीले बताए। बधशालाले दाहसंस्कारलाई समस्या नहुने उनको भनाइ छ। ‘१ सय ४५ रोपनी जग्गा छ। २/४ रोपनीमा आधुनिक दाहसंस्कार स्थल बनाउँला, ’ उनले भने, ‘बाँकी जग्गामा बधशाला बनाउन समस्या हुँदैन। घाट बन्द गर्न भनेको होइन। घाटको लागि जति चाहिन्छ, त्यो छोडेर बधशाला बनाउने हो। ’ धुलो र धुवाँरहित आधुनिक दाहसंस्कारस्थल बनाउन महानगरले सहयोग गर्ने उनको प्रतिबद्धता छ।
यो बधशालालाई प्रदेशकै आधुनिक बनाउन लागिएको छ। खसीबोका र राँगा पाडाको छुट्टाछुट्टटै बधस्थल बन्नेछ भने बध गर्नुअघि पशुको स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइने छ। हेफर नेपालसँग सहकार्य गरेर बधशाला व्यवस्थित गरिने मेयर जिसी बताउँछन्। ‘पोखरालाई स्मार्ट सिटी बनाउने भन्छौं। गल्ली गल्लीमा मासु काटिरहेको भेटिन्छ। एकातिर मासु अस्वस्थ हुन्छ। अकोर्तिर दुर्गन्ध, ’ उनी भन्छन्, ‘जसरी पनि व्यवस्थित बधशाला बनाउनै पर्छ। यसमा पोखराको पहिचान पनि जोडिएको छ। ’ डीपीआर तयार नभएकोले लागत स्टीमेट यकीन गरिएको छैन। यद्यपि १० करोड हाराहारीमा खर्च हुने अनुमान छ। यसका लागि चालु वर्षभित्रै टेण्डर निकालिने महानगरले जनाएको छ। बधशाला निर्माणको अध्ययन गर्न भारतीय विज्ञहरुले गरिरहेका छन्। सरकारी लगानीमा बधशाला निर्माण गरिए पनि सञ्चालनको जिम्मा चाहीँ निजी क्षेत्रलाई दिने तयारी छ। तर महानगरले यसको कानून भने बनाइसकेको छैन।
यसअघि पनि पटक–पटक बधशाला निर्माणको बहस चलेको थियो। साविकको जिल्ला पशु सेवा कार्यालयले बजेट नै विनियोजन गरे पनि बधशाला बनाउन सकेन। पोखरा १५ मा रहेको जग्गामा बधशाला बनाउन धेरै पटक सिफारिस गरिएपनि प्रक्रिया नै शुरु नभई धेरै पटक तुहिएको छ। तत्कालीन पोखरा उपमहानगरपालिकाको १७ औं नगरपरिषद्ले नगर क्षेत्रमा व्यवस्थित बधशाला निर्माण गर्ने योजना पारित गरेपछि यसको बहस शुरु भएको हो। आर्थिक वर्ष २०७०/७१ देखि सम्भाव्यता अध्ययन गरेर बधशाला बनाउन थाल्ने तयारी थियो। व्यवस्थित बधशाला अभावमा पोखरामा बध गरी बिक्री हुने मासु अस्वस्थकर भएको गुनासो आएपछि नगरपालिकाले २०६८ सालमा निर्देशिका नै जारी गरेको थियो। निर्देशिका कार्यान्वयन चाहीँ हालसम्म भएन। व्यवसायीहरुले आफ्नै हिसाबले पशु बध गरी मासु बिक्री वितरण गर्दै आएका छन्। पशु बध गरेको २४ घण्टापछि मात्रै मासुको रुपमा उपभोग गर्नु उपयुक्त हुन्छ। खसी तथा कुखुरा मासु व्यवसायी समितिको तथ्यांकअनुसार पोखरामा दैनिक ३० हजार केजी कुखुराको मासु बिक्री हुन्छ भने खसी एवं अन्य गरी १० हजार केजीभन्दा बढी मासु बिक्री भइरहेको छ। अहिले पोखरामा करिब १ हजार ५ सय हाराहारीमा मासु पसल सञ्चालित छन्।
Related News
सम्बन्धित समाचार
चोटिलो बन्दै गण्डकीको संसदीय राजनीति
पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य
सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त
प्रेमील गजलकारको भावपूर्ण बिदाइ
अधिवेशन आह्वानप्रति कांग्रेसको आपत्ति, द्वन्द्व निम्तिन सक्ने चेतावनी
hero news full width
मुख्य समाचार
गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान
गण्डकीमा अधिवेशन डाक्न सिफारिस, मुख्यमन्त्रीले विश्वासको मत लिँदै
वैशाख ५, २०८१दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल
वैशाख ४, २०८१प्रकट पगेनी ‘शिव’ को निधन
वैशाख ४, २०८१कामचलाउ मुख्यमन्त्री अधिकारी विश्वासको मत लिने तयारीमा
वैशाख ४, २०८१फेरि बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको भाउ
वैशाख ३, २०८१