विश्वबैंकको प्रक्षेपण : ७ दशमलव १ प्रतिशत वृद्धिदर

आदर्श समाज सम्वाददाता
जेठ २४, २०७६
world-bank-logo_700

विश्व बैंकले चालु आर्थिक वर्ष २०७५/०७६ मा नेपालको आर्थिक वृद्धिदर ७ दशमलव १ प्रतिशत हुने प्रक्षेपण गरेको छ।

उक्त बैंकले कृषि र सेवा क्षेत्रको योगदानको आधारमा नेपालको अर्थतन्त्रको विस्तार तीव्र दरमा हुन थालेको उल्लेख गरेको छ। विहीवा प्रतिवेदन सार्वजनिक गर्दै सेवा क्षेत्रमा मात्रै ७ दशमलव ५ प्रतिशतले विस्तार हुने भन्दै विश्व बैंकले खुला व्यापार, होटल र रेष्टुरेन्ट लगायतको उपक्षेत्रमा पनि प्रगति भएको उल्लेख गरेको छ।

पर्यटन आगमन दर बढेको र त्यसले पनि सेवा क्षेत्रको विस्तारमा थप योगदान दिएको जनाउँदै विश्व बैंकले रेमिट्यान्सको वृद्धिले निजी उपभोगमा पनि बढोत्तरी ल्याएको जनाएको छ। कृषि क्षेत्रमा मात्रै ५ प्रतिशतको वृद्धि देखिने भन्दै उसले यो ३० वर्षको औसत ३ दशमलव १ प्रतिशतभन्दा माथि भएको बताएको छ। सही समयमा भएको राम्रो वर्षा पनि यसको कारण रहेको बैंकको बुझाइ छ।

यसैगरी, बढ्दो व्यापारीकण, मल र बीउको सहज उपलब्धता, सिँचाइ पूर्वाधारको विस्तारले कृषि क्षेत्रको विस्तार गर्न सहयोग पुगेको सो बैंकको प्रतिवेदनमा उल्लेख छ। उसले औद्योगिक उत्पादनको वृद्धिदर पनि सुखद रहेको बताएको छ। यो वर्ष ८ दशमलव १ प्रतिशत औद्योगिक वृद्धिदर हात लाग्ने उसको प्रक्षेपण छ।

विद्युत्को सहज उपलब्धताका कारण यस्तो अवस्था बनेको ठहर विश्व बैंकको छ। निजी क्षेत्रबाट गरिएको लगानी र उपभोग बढ्नुमा पनि ७ अंक माथिको आर्थिक वृद्धिको मुख्य भूमिका रहेको विश्व बैंकको निष्कर्ष छ।

बैंकले यो वर्ष ४.१ प्रतिशतको मूल्यवृद्धि हुने बताएको छ। यो वर्ष औद्योगिक वस्तुको आयात बढ्दा त्यसको लाभ अर्थतन्त्रलाई भएका प्रतिवेदनमा जनाएको छ। सरकारी खर्च राम्रो नभएको भन्दै विश्व बैंकले तामाकोशी र मेलम्चीजस्ता ठूला परियोजना पछि धकेलिएको जनाएको छ।

विश्वका दुई शक्तिशाली अर्थतन्त्र भएका दुई छिमेकी चीन र भारतबाट फाइदा लिन सके अहिले भइरहेको आर्थिक वृद्धिदरले झनै फड्को मार्ने भन्दै विश्वबैंकले सरकारी खर्च भने यो वर्ष निराशाजनक हुने जनाएको छ। यसैगरी बैंकको प्रतिवेदनमा नेपालमा तीन वटै तहको सरकार गठन हुनु नेपालको आर्थिक क्षेत्रको विकासका लागि राम्रो अवसर भएको पनि जनाइएको छ।

बैंकले प्रत्येक ६ महिनामा नेपालका आर्थिक अवस्थाको चित्रणसहितको प्रतिवेदन सार्वजनिक गर्दै आएको छ। कमजोर सरकारी खर्च, बजार संरचनामा सिन्डिकेट तथा बढ्दो व्यापार घाटाका बाबजुद पनि उच्च वृद्धिदर कायमै हुने बैंकको प्रक्षेपण छ।

चालु वर्ष पनि नेपालको निर्यात व्यापार सुधार नभएकाले व्यापार घाटा फराकिलो बन्दै गए पनि आयातमा उपभोग्य वस्तुको तुलनामा औद्योगिक आयात बढेकाले सकारात्मक गतिमा अर्थतन्त्र बढेको बैंक नेपालकी वरिष्ठ अर्थशास्त्री केन इजमेनारीले जनाएकी छन्।

आयातमा उपभोग्य वस्तुको तुलनामा औद्योगिक वस्तुको आयात बढ्दा यसको लाभ अर्थतन्त्रलाई पुगेको उनको भनाइ छ।

कमजोर निर्यात, अप्रतिष्पर्धी बजार तथा श्रम सहभागितामा लैंगिक असमानता नेपाली अर्थतन्त्रका जोखिम भएको बैंकका दक्षिण एसिया अर्थशास्त्री हेन्स टिमरले बताए।

Related News

सम्बन्धित समाचार

hero news full width