लोप हुँदै रैथाने बाली

आदर्श समाज सम्वाददाता
जेठ २३, २०७६
p 222_Fotor

पोखरा २८, सौर्यमा आयोजित बाली प्रदर्शनीमा किसानले सजाएका स्टलहरु। तस्वीर : प्रकाश ढकाल

कास्की कालिकाका किसानको खेतबाट अहिले झिनुवा धान लोप हुने अवस्थामा छ। हाईब्रिड धानको अतिक्रमण बढेपछि किसानले झिनुवा लगाउनै छोडिसके। झिनुवामात्रै होइन, स्थानीय जातको ज्याउदी खोले, मकै खोले र अँधेरे धान पनि खासै उत्पादन हुँदैनन् अचेल। ‘लगानी धेरै छ। पहिलेजस्तो पनि फल्दैन, ’ स्थानीय केदारनाथ अधिकारीले भने, ‘लगाइराखेको बाली भनेर अहिले पनि थोरै जमिनमा लगाउँछौं। तर यसले फाइदा भएन। ’ उनका अनुसार हाईब्रिड धानमा बढी उत्पादन र फाइदा भएपछि किसानले रैथाने जातका धान छोड्दै गएका छन्।

अहिले मधेशे, बहुला, जेठोबूढो लगायत धान किसानको खेतमा बढी देखिन्छन्। कास्कीका ग्रामीण क्षेत्रका वासिन्दाले निर्वाहका लागि मात्रै धान लगाउँछन्। तर उत्पादन घट्न थालेपछि वर्षेपिच्छे फरक प्रजातिका धान रोप्छन्। त्यही ठाउँकी आशा भण्डारीले भुटेको मुरली मकैमा खासै फूल उठ्दैन। ‘मुरली मकै भनेर भुट्यो सबै ठेट्नामात्रै हुन्छ। दोकानबाट ल्याएर भुटेको चाहीँ फुलले हाँडी भरिन्छ, ’ उनले भनिन्, ‘बीउ उही छ। माटो पनि त्यही हो। तर मकैको स्वाद पहिले भन्दा अहिले फरक पर्यो। खासै रसिला छैनन्। ’

काफलघारीका शोभियत अधिकारीले चैते धान लाउनै छोडे। ‘जसोतसो खेती त गरेको छु। तर धेरै धानका जाति हराइसके। अरु अन्नबाली पनि रोप्न छोडेँ, ’ उनले भने, ‘अहिले रोपेको बाली अर्को वर्ष थोरै उत्पादन हुन्छ। ’ क्रस बीउ खोजेर उत्पादन बढाउन सरकारले पहल गर्नुपर्ने उनको सुझाव छ। असिनाले चुटेर फल भित्र्याउन नपाएपछि खेती गर्नुको फाइदा नभएको सुनाउँछन्, सोही ठाउँका सूर्यराज भण्डारी। ‘हाम्रो बालीको सुरक्षा भएन। १५ मुरी क्षति हुन्छ। सरकारले ५ किलोको क्षतिपूर्ति दिन्छ, ’ उनी भन्छन्, ‘एकातिर बाँदरको आतंक छ। अर्कातिर असिनापानीको डर। ’ पहिले धेरै उत्पादन हुने फापर, गहुँ र कागुनो माझठानाकी किसान निर्मला तिवारीको खेतबारीमा भेटिँदैनन्। ‘३ मुरीसम्म कागुनो फलाएर बेचेको हुँ। अहिले बीउ पनि छैन, ’ उनी भन्छिन्, ‘पैले रोपेको ठाउँमा कागुनो खासै फल्दैन। त्यसैले तरकारीतिर बढी जोड दिन थालेँ। ’ माझठाना क्षेत्रमा घैया र सामा पहिले निकै चलेको खाद्य बाली हो। उत्पादन पनि राम्रो थियो। तर अहिले छैन। माझठानालाई सुन्तलाको पकेट क्षेत्र मानिन्थ्यो। अहिले एउटै बोटमा पनि राम्रो फल्दैन। ‘सुन्तला पकेट क्षेत्रको मान्छे भन्न पनि लाज लाग्छ। सुन्तला चाख्न पनि बजारबाट किनेर ल्याउनुपर्छ, ’ माझठानाकी मधुमाया केसीले भनिन्। जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (लि–बर्ड), पोखरा महानगरपालिका, जैविक स्रोत संरक्षण अभियान र कृषि सञ्जालले आयोजना गरेको विश्व वातावरण दिवस कार्यक्रममा किसानले आफ्ना उत्पादित बालीको स्टल राखेका थिए। अधिकांश किसानले जनशक्ति अभाव र उत्पादन घटेका कारण रैथाने जातका बाली लगाउन छोडेको प्रतिक्रिया दिए। सौर्यमा १६ कृषक समूहले आफूले उत्पादन गरेका जैविक विविधता प्रदर्शन गरेका थिए। प्रदर्शनीमा लोपोन्मुख प्रजातिका आगा, घैया, जनेर्ली, मनसरा, धान, जडिबुटी, मुरली मकै लगायत कृषि उत्पादनका प्रदर्शनी र प्रतियोगिता भएको थियो।

प्रदर्शनीमा जागरुक तथा मनकामना कृषक समूह प्रथम भएको छ भने बिमिरेपानी कृषक समूह दोश्रो र स्याङ्खुदी तेश्रो भएको छ। प्रथम, द्वितीय र तृतीयले क्रमशः ७ हजार, ५ हजार र ३ हजार नगद तथा प्रमाणपत्र पाए। उनीहरुलाई कृषि विकास निदेर्शनालयका प्रमुख डा शान्ता कार्की, पोखरा महानगरपालिका वडा २८ का वडा अध्यक्ष निर्मल दीयाली, पोखरा महानरपालिकाका कृषि महाशाखा प्रमुख मनहर कडरिया, ली–बर्डका कार्यकारिणी बोर्डका सचिव बेनीबहादुर बस्नेतले प्रमाणपत्र तथा पुरस्कार प्रदान गरेका थिए। कार्यक्रममा जैविक विविधता संरक्षणका बारेमा गित प्रतियोगिता पनि भएको थियो।

Related News

सम्बन्धित समाचार

hero news full width