अमेरिकी नागरिकलाई क्युबा भ्रमणमा प्रतिबन्ध

रासस
जेठ २३, २०७६
Vintage taxis on street against historic buildings

ट्रम्प प्रशासनले अमेरिकी नागरिकलाई क्युबा भ्रमणमा मङ्गलबार प्रतिबन्ध लगाएको छ। अमेरिकी अर्थ विभागले अमेरिकी नागरिकको शैक्षिक भ्रमण, क्रुज पानीजहाज र निजी डुङ्गाबाट हुने क्युबा भ्रमण रोक्का गरिएको जनाएको छ। अमेरिकी यस प्रतिबन्धबाट क्युबाको अर्थतन्त्रमा निकै असर पार्ने अनुमान गरिएको छ किनभने सन् २०१९ को चार महिनामै करिब तीन लाख अमेरिकीले क्युबाको भ्रमण गरेका थिए। अघिल्लो वर्षको तुलनामा यो संख्या झण्डै दोब्बर हो।

अमेरिकी विदेश मन्त्रालयले अमेरिकी पर्यटकबाट हुने आम्दानी भेनेजुएलाका राष्ट्रपतिलाई मद्दत गर्नेगरी खर्च गरिएको अनुसन्धानबाट देखिएको जनाएको छ। क्युबाको सहयोगमा भेनेजुएलाका राष्ट्रपतिले दक्षिण अमेरिकी क्षेत्रलाई अस्थिर बनाउने र मानवीय सङ्कट निम्त्याएको अमेरिकी भनाई छ। क्युबाली सत्तालाई अमेरिकी डलर प्राप्त हुने स्थितिबाट अमेरिकाले रोक्ने हरसम्भव प्रयास गर्ने अमेरिकी राष्ट्रपतिका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले बताए। क्युबा सरकारले अमेरिकी कदमको निन्दा गरेको छ। क्युबाका विदेशमन्त्री ब्रुनो रोड्रिगेजले ट्वीट गर्दै अमेरिकी कदम पुनः असफल भइछाड्ने दाबी गरे।

तत्कालीन राष्ट्रपति बाराक ओबामाको शासनकालमा अमेरिकी पर्यटकलाई क्युबा भ्रमण खुला गरिएको थियो। सन् २०१४ मा गरिएको यस व्यवस्थाबाट आधा शताब्दीदेखि जारी अमेरिकी व्यापार नाकाबन्दी केही खुकुलो भएको थियो। तर अमेरिकी सरकारले लगाइआएका कतिपय प्रतिबन्धले पूर्ण रुपमा व्यापार सहजीकरण हुन सकेको थिएन।

Related News

सम्बन्धित समाचार

hero news full width