Worldlink ads

झरीमा तपतप धुपमा हपहप, न गाँस न सुरक्षित नै छ बास

आदर्श समाज सम्वाददाता
जेठ २२, २०७६
31265378_1729894260430706_8177887507069796352_n

काभ्रेपलाञ्चोक, २२ जेठ । आजकाल बेतालमा आउने हुरीबतास र पानीले चन्द्रमाया मानन्धरको मुटु झस्काइरहन्छ ।

जस्तापाताले घेरेको र जस्तापाताले नै छाएको र त्यसमा पनि त्रिपाल र बोराले टालटुल गरेको टहरो पनि उडाएर भएको बास पो उखेल्ने हो कि १ पानी पर्न थालेपछि भएभरका भाँडाकुँडा टहरोभित्रै थाप्नुपर्ने अर्को पीडा पनि त छ उनलाई । साथमा रहेका अबोध दुई छोरीलाई च्यापेर बस्नुपर्ने बाध्यताले कहाँ छोडेको छ र बनेपा नगरपालिका–७ झापालीटोलकी ४६ वर्षीया मानन्धरलाई ।

जन्मजात शारीरिक अपाङ्गता र सुस्त मनिस्थितिकी १२ वर्षकी उनकी जेठी छोरी रमिलाको गत आइतबार निधनले उनमा अर्को पीडा थपिएको छ । रमिला राम्रोसँग हिँड्न र बोल्न सक्दिनथिन । सोमबार उनलाई दागबत्ती दिएपछि चन्द्रमाया सोही टहरोमा किरिया बसेकी छन् । यसअघि उनी भूकम्पले भत्किएको भग्नावशेषमा आफ्नी अपाङ्गता भएकी छोरीलाई रुँदै खाना खुवाइरहेको अवस्थामा भेटिएकी थिइन् ।

बनेपा शहरको बीच भागमा वरिपरि अग्ला पक्की घरले घेरिएको तीनधारा गल्लीमा चन्द्रमायाको असुरक्षित टहरो छ । कान्छी छोरी प्रमिला जन्मिनु तीन दिनअघिमात्रै पति रामभक्तको पनि मृत्यु भएकाले उनी वेसाहारा भएकी थिइन् ।

अपाङ्गता भएकी छोरीलाई जसोतसो हुर्काइरहेकी चन्द्रमायालाई श्रीमान् बितेकै बखत सुत्केरी बन्नुपरेको बाध्यता र बत्ती काटेर जसोतसो दुई छोरी हुर्काउँदै गर्दा २०७२ वैशाख १२ को भूकम्पले अर्को बज्रपात पा¥यो । हेर्दाहेर्दै उहाँकै आँखा अगाडि तीनतले घर ढल्यो । रमिला र प्रमिलालाई च्यापेर घिस्रिँदै तीनवटा प्राण बचाउनु पर्दाको घटना सम्झँदा चन्द्रमाया भक्कानिन्छिन ।

“भूकम्पले त्यही सबैको प्राणपखेरु छिनाइदिएको भए यसरी दुःखमाथि दुःख त झेल्नु पर्दैनथ्यो”, चन्द्रमायाले रुँदै भनिन् । भूकम्पपछिका प्रत्येक दिनका पीडाका साथै गाँस र बासको अभाबले अब बचेकी एक छोरीलाई हुर्काउनुपर्ने बाध्यताले पिरोलेको छ । छोरी प्रमिलालाई बसोबास समेत हुनेगरी कुनै स्कूलतिरै राख्न पाए आफूले एक पेट दुःखजिलो गरेर खान सक्थेँ भन्ने उनको चाहना छ ।

सोझा प्रकृतिका रामभक्त सार्वजनिक सवारीसाधनको एक काउन्टरमा टिकट काट्ने काम गर्थिन । यसैक्रममा जसोतसो एउटा घर किनेर उनीहरूले गुजारा चलाउँदै आएका थिए । पहिली छोरी जन्मजात शारीरिक र मानसिक अपाङ्गता भएकी जन्मिई, त्यही समयदेखि रामभक्त बिरामी परेकी थियन् । चन्द्रमाया भन्छिन “बिरामी श्रीमान र अपाङ्ग छोरीलाई स्याहार्दै म कसरी यहाँसम्म आए होला आजसम्म, सम्झँदा पनि कहाली लाग्छ ।”

भूकम्पले घर भत्किएपछि सबैले घर ठड्याए । तर लामो समयसम्म चन्द्रमायाको परिवार भूकम्प लाभग्राहीको सूचीकृत भएन । भूकम्पपछि बनेपास्थित पुन्यमाता किनारमा भाडामा जसोतसो एउटा टहरो बनाएपछि जग्गा कारोवारीले एक वर्षमै जग्गा बेचियो भनेर हटाइदिए । त्यसपछि पनि नजिकै रहेको किनारमा टहरो सारेर बस्नुभएकी चन्द्रमायालाई भत्केको घर नाप्न सर्वेक्षणकर्ता कहिले आए, गए केही पत्तै भएन ।

पुन्यमाताको नदी किनारमा भाडा तिरेर बस्दा पनि निकै पटक बाढीको सामना गरेकी उनी भन्छिन “कहिले आधा जिउँसम्म पानीले डुबायो त कहिले बगाउँला नै जस्तो हुन्थ्यो ।” चन्द्रमायाको दुःख त्यतिमै पनि सीमित भएन, बनेपा नगरपालिकाले ‘पुन्यमाता करिडोर’ बनाउने नाउँमा गत वर्ष डोजर लगाएर भएको टहरो पनि भत्काएपछि भने आफ्नो भत्केको घरमै टहरो हालेर बसेकी हुन् ।

सरकारले अनुदान दिन्छ भन्ने सुनेकी चन्द्रमायाले पटक–पटक गुनासो गरेपछि मात्र बल्ल यो वर्ष भूकम्पपीडितको सूचीमा उनको नाम सूचीकृत भएको छ । भूकम्पपीडितको सूचीमा नाम त आयो तर यसबाहेक घर कसरी बनाउने हो भन्ने पीर गर्दै चन्द्रमाया भन्छिन “कहाँ जाने हो, के गर्ने हो, केही जानेको छैन, निरक्षर छु, कुनै अक्षर पढ्न आउँदैन म के गरु ” आफ्नो बोलिदिने कोही नहुँदा पहिले भूकम्पपीडितको लाभग्राही सूचीमा नपरेको गुनासो गदै उनले भन्नुभयो “अहिले सूचीमा त परेँे, तर घर बनाउन सक्ने औकात छैन ।”

Related News

सम्बन्धित समाचार

    hero news full width