Worldlink ads

अनि बालकृष्णले पत्रिका बेचे

नारायण शाही
जेठ २१, २०७६
balkrishna subedi 9846110799 (2)_Fotor

मिर्मिरेमै उठ्यो। पोखरामा भएका सबै पत्रिकाका कार्यालय धायो। महेन्द्रपुलबाट राष्ट्रिय–स्थानीय पत्रिका जम्मा पारेपछि घरघरै डुल्यो। बिक्रीबाट बचत रकम गुजारामा खर्च गर्यो।

पोखराको मुख्यबजार फन्को मार्नु ६२ वर्षीय ‘मोफसल हकर’ बालकृष्ण सुवेदीको दैनिकी हो। न्यूरोड, सभागृहचोक, नयाँबजार, महेन्द्रपुल, चिप्लेढुंगा, पन्थीगल्ली, देउराली गल्ली छिरेर पालिखेचोक हुँदै नदीपुरबाट फर्किएपछि बास्तोलाथरको सगरमाथा स्कूलसम्म पत्रिका लिएर पुग्छन्, उनी।

पत्रिका बेचेरै पालिएका उनीभन्दा पुराना मान्छे पोखरामा छैनन्। विगत ४० वर्षदेखि पत्रिका बेच्न थालेका बालकृष्ण अहिले पनि उत्तिकै सक्रिय छन्। उनलाई पोखरेलीले धेरै नामले चिन्छन्। पहिलेदेखि चिनेजानेकाले ‘बालकृष्ण’ भनेर बोलाउँछन्। अलि पढेलेखेका चाहीँ ‘बालकृष्ण दाइ’ भन्छन्। नयाँ युवापुस्ताले बोलाउँदा उनको नाम ‘पत्रिका बाजे’ हो। जे नामले बोलाएपनि आफूलाई प्यारो लाग्ने उनी सुनाउँछन्।

गोरखापत्र बाजेको संगतले २०३५ सालदेखि हकरको काम गर्दै आएको बालकृष्णले बताए। ‘पहिले घर बनाउने ठाउँमा सिमेन्ट र बालुवा घोल्थेँ। दिनभरि काम गर्दा २ रुपैयाँ ज्याला पाइन्थ्यो, ’ बालकृष्णले विगत सम्झिए, ‘कहिलेकाहीँ फुर्सद हुँदा महेन्द्रपुलतिर बरालिन्थेँ। पोखरामा पत्रिका बेच्ने एक जनामात्रै थिए, गोरखापत्र बाजे। उनीसँगै सिकेर पत्रिका बेच्न थालेँ। गोरखापत्र बाजेपछि सबैभन्दा पुरानो हकर मै हुँ। ’

कमजोर आर्थिक परिवारमा जन्मे हुकेर्का बालकृष्णले जागिर खाने गरी पढ्न सकेनन्। कक्षा ३ पढ्दै गर्दा पैसाले साह्रो पारेपछि हुत्तिएर पोखरा झरे, उनी। गोरखापत्र बाजे पत्रिका च्यापेर महेन्द्रपुल डुल्थे। बालकृष्णले शुरुमा अचम्म मानेर सोधे, ‘यो के हो? ’

‘अखबार’। गोरखापत्र बाजेको उत्तर हुन्थ्यो।

‘त्यतिबेला, पोखराको बजार भनेकै महेन्द्रपुल थियो। त्यतिबेलाको महेन्द्रपुलमा धान, च्यूरा, पिठो कुट्ने काठका ढिँकी भएको लहरै घरहरु भएको सानो बजार बसेको थियो। केही मान्द्रोले बेरेको भुइँतलाका मात्रै होटलहरु थिए। बेलुकाको खाना खाएको र बास बसेको १ रुपैयाँ लाग्थ्यो। त्यतिबेलाको १ रुपैयाँ, अहिलेको १ हजारभन्दा ठूलो हुन्थ्यो, ’ उनले सम्झिए।

त्यतिबेला, उनले महेन्द्रपुलबाट नदीपुरहुँदै बगरस्थित पृथ्वीनारायण क्याम्पससम्म १ सय ३० प्रतिसम्म गोरखापत्र बेच्ने गरेको सुनाए। त्यो बेला पोखराबाट ‘हिमदूत’ र ‘साँचो कुरा’ पत्रिकामात्रै निस्कन्थे।

‘त्यतिबेला, महेन्द्रपुल र बगरबीच केही कपडा पसलका साहू र पीएन क्याम्पसका मास्टरले गोरखापत्र किनेर पढ्थे, ’ उनले सुनाए, ‘मास्टरहरु पीएन क्याम्पसभित्रका क्वार्टरहरुमा बस्थे। मैले उनीहरुको क्वार्टरको ढोका–ढोकामा गोरखापत्र पुर्याउँथे। गोरखापत्रको मूल्य त्यतिबेला २५ पैसा थियो। एउटा गोरखापत्रको कमिसन ५ पैसा आउँथ्यो। ’

स्याङ्जाको तत्कालीन सातुपसल पञ्चायत मुसीडाँडा गैरीपोखरीबाट कामको खोजीमा पोखरा झरेका थिए, बालकृष्ण। गाउँबाट बाडखोला झरेर नुवाकोट उक्लदै मट्टीखान, फोक्सिङ, छोरेपाटनहुँदै पोखरा आइपुगेको उनले सम्झन्छन्। सिद्धार्थ राजमार्ग खुले पनि स्याङ्जाका मानिसहरु हिँडेरै पोखरा आउने जाने गरेको उनले सुनाए।

‘त्यतिबेला स्याङ्जाबाट मान्छेहरु हिँडेरै पोखरा आउँथे, ’ उनले सम्झिए, ‘मोटरबाटोमा दुई चारवटा बसहरु खाली नै दौडन्थे। सरदारजीहरु बसका ड्राइभर हुन्थ्यो। मोटरभाडा ४ रुपैयाँ थियो। मान्छेहरु खासै मोटर चढ्थेनन्। हिँडेरै पोखरा र स्याङ्जा आउजाउ गर्थे। ’

छोरेपाटनबाट पार्दी बिरौटा, ड्यामसाइड, रत्नचोक, सिर्जर्नाचोक, आलु माइलाचोक, सिद्धार्थचोक, चिप्लेढुंगाहुँदै महेन्द्रपुल निस्किएको बालकृष्ण दाइलाई सम्झना छ। उनका अनुसार त्यतिबेला छोरेपाटनबाट पार्दी बिरौटा भएर सिधैँ अहिलेको जस्तो एयरपोर्ट, पृथ्वीचोक, नयाँबजारहुँदै महेन्द्रपुल निस्कने बाटो नै थिएन।

त्यतिबेला महेन्द्रपुल अलावा पालिखेचोक, तेर्सापट्टी, गणेशटोल, रामकृष्णटोल, भैरवटोल, बागबजार पोखराका मुख्यबजार थिए। पूर्वतर्फ रानीपौवा र शीतलादेवीसम्म लहरै बस्ती बसेको थियो। अहिलेको रानीपौवाबाट गण्डकी हस्पिटल जाने बाटो चौर थियो। उनका अनुसार त्यतिबेला अहिलेको गैह्रापाटन क्षेत्रमा मान्छेहरु हुँदैनथे। गाईवस्तुहरुको चरन क्षेत्र थियो। अहिलेको न्यूरोडमा खेतैखेत थियो। खेत रोप्न आकाशको पानी कुर्नुपर्थ्यो। पानी परेपछि वर्षे भेललाई थुनेर अहिलेको न्यूरोडमा खेत रोपिन्थे।

२०३८ सालसम्म उनले पोखरामा पत्रिका बेच्ने काम गरे। त्यसपछि उनी भारत हानिए। भारतको गुहावटी पुगेर दूध बेच्ने काममा लागे। दिनहुँ ५० लिटर दूधको खर्पन काँधमा राखेर भारतको गुहावटी बजारमा दुध बेचेको उनी सम्झन्छन्। गुहावटीमा दुध बेच्न हिँड्दा दुवै काँधमा घाउ भएको उनलाई सम्झना छ।

२०४२ सालको दशैँ मान्न उनी प्रवासबाट फर्किए। घर फर्किदा भारमा उनले कमाएको ७ सय रुपैयाँ थियो। त्यो पैसाले पर्वत कार्कीनेटाकी पवित्रा पौडेलसँग बालकृष्णले विवाह गरे। केही समय घर बसेर उनी फेरि पोखरा झरे। उही पुरानै पत्रिका बेच्ने काममा लागे बालकृष्ण। उनका अनुसार विगतमा काठमाडौंबाट प्रकाशित गोरखापत्र र साप्ताहिक पत्रिकाहरु विमर्श, देशान्तर, पुनर्जागरण, नयाँ बाटो, आरती पत्रिकाहरु पोखरामा आउँथ्यो। त्यतिबेला गोरखापत्रको मूल्य ५० पैसा र अन्य साप्ताहिक पत्रिकाको मूल्य २/३ रुपैयाँसम्म थियो। गोरखापत्रको १० पैसा र अन्य साप्ताहिक पत्रिकाको एक रुपैयाँसम्म कमिशन दिइन्थ्यो। ‘त्यो बेला बिहान, बेलुका पत्रिका बेच्ने र दिउँसो महेन्द्रपुलस्थित रामचन्द्र थापाको आइरन स्टोरमा फलाम जोख्ने काम गर्थे, ’ उनले सुनाए, ‘त्यस पसलमा १ क्वीन्टल फलाम जोखेवापत ३ रुपैयाँ र सटरको सामान वक्र्ससपसम्म पुर्याइदिए वापत ४० रुपैयाँसम्म कमाइन्थ्यो। त्यतिबेला दैनिक ४ सय रुपैयाँसम्म कमाइयो। ’

पत्रिका बेचेर जीवनमा खासै उन्नति गर्न नसकेको तितो अनुभव बालकृष्णसँग छ। पहिलेजस्तो अहिले पत्रिका बिक्री हुन छाडेको उनले बताए। पत्रिकै बेचेर खाने आफ्नो उमेर अवस्था नरहेकोमा बालकृष्णलाई अचेल चिन्ता परेको छ। उनी भन्छन्, ‘मान्छेहरुले पहिले पत्रिकालाई कति चिज मान्थे। अहिले त्यस्तो छैन। पत्रिका पनि धेरै बन्द भए। बिक्री हुन पनि छाड्यो। त्यतिबेला, बल, जाँगर थियो। कमाइ पनि थियो। अहिले बल जाँगर पनि छैन। पत्रिका बेचेर पहिलेको जस्तो आम्दानी पनि छैन। ’

Related News

सम्बन्धित समाचार

    • पोखरा महानगरपालिकाको अत्यावश्यक बाहेकका सेवा स्थगित

      रासस माघ १३, २०७८
      पोखरा । भौगोलिक रूपमा देशकै सबैभन्दा ठूलो पोखरा महानगरपालिकाबाट प्रवाह हुँदै आएका अत्यावश्यक बाहेकका नियमित सेवाहरू आजदेखि स्थगित गरिएको छ…
    • निर्माणाधीन पुल चर्कियो

      आदर्श समाज सम्वाददाता माघ १३, २०७८
      गगनगौंडा । पोखरा वडा ३२ र ३३ गगनगौंडा र लामगादी जोड्ने सेती नदीमाथि निर्माणाधीन पक्की पुल चर्किएको छ । ६१…
    • टोल विकास संस्थास्तरीय वक्तृत्वकलामा पार्वती प्रथम

      आदर्श समाज सम्वाददाता माघ १३, २०७८
      पोखरा । पोखरा वडा १३ कार्यालयद्वारा आयोजित टोल विकास संस्थास्तरीय वक्तृत्वकला प्रतियोगितामा कुँडहर टोलअन्तर्गत बाल कल्याण आमा समूहकी पार्वती सिग्देल…
    • मिस तामाङ भर्चुअल हुने

      आदर्श समाज सम्वाददाता माघ ११, २०७८
      पोखरा । छैटौं मिस तामाङ पोखरा–२०२२ को ग्रान्ड फिनाले भर्चुअल हुने भएको छ । पछिल्लो समय कोभिड–१९ को नयाँ भेरियन्ट…
    • खास्टे र न्यूरेनी ताल सफाइ

      आदर्श समाज सम्वाददाता माघ ११, २०७८
      लेखनाथ । खास्टेताल मत्स्य तथा कृषि सहकारी संस्थाले आफ्नो छैटौं स्थापना दिवस अवसरमा ताल वरपर सरसफाइ गरेको छ । तालको…

    hero news full width