१० वर्षपछि ब्रिटिस एयरवेज पाकिस्तान फर्कियो

रासस
जेठ २१, २०७६
british airways

दश वर्षभन्दा पहिले सुरक्षा अवस्था कमजोर रहेका कारण उडान स्थगित गरेको ब्रिटिस एयरवेजले सोमबारदेखि पाकिस्तान उडान शुरु गरेको छ। बेलायती वायुसेवाको उक्त उडान पाकिस्तानका लागि निकै महत्वपूर्ण उपलब्धिका रुपमा हेरिएको छ।

इस्लामाबादको म्यारिअट होटलमा घातक आक्रमण भएपछि ब्रिटिस एयरवेजले सन् २००८ देखि उडान स्थगित गरेको थियो। अब ब्रिटिस एयरवेजले लन्डनको हिथ्रो विमानस्थलबाट पाकिस्तानको राजधानी इस्लामाबाद सिधा उडान हप्ताको तीन दिन गनेर्छ।

बेलायतमा पाकिस्तानी मुलका दश लाखभन्दा बढी मानिस बसोबास गर्दछन्। युरोपमै सबैभन्दा बढी पाकिस्तानी बेलायतमा रहेका छन्। “बेलायती ध्वजाबाहक विमानसेवा शुरु भएको छ। धेरै किसिमबाट यति निकट दुबै मुलुकबीचको सम्बन्धलाई अझ निकट ल्याएको छ, ’ पाकिस्तानका लागि बेलायती उच्चायुक्त थोमस ड्रयूले बताएका छन्।

हालसम्म पाकिस्तान इन्टरनेसनल एयरलाइन्स (पिआइए) ले मात्र दुबै मुलुकबीच सिधा उडान गर्दै आएको थियो। म्यारिओट होटलमा आक्रमणपछि दुई मुलुकबीचको हवाई यात्राका लागि मध्यपूर्वका विमानसेवाहरु खासगरी एतिहाद र इमिरेट्समा निर्भर रहनुपर्ने बाध्यता थियो।

पछिल्लो पटक सन् २०१४ मा कराँचीमा तालिबानीहरुले गरेको भिषण आक्रमणपछि हङकङस्थित क्यादी प्यासिफिकले पनि पाकिस्तान उडान स्थगित गरेको थियो। त्यसपछि कुनै पनि विदेशी विमानसेवाले पाकिस्तान उडान गरेका थिएनन्।

पाकिस्तानले पछिल्ला १५ वर्ष मुलुकभित्रै सक्रिय लडाकू समूहसँग सङ्घर्ष गर्नु परेको थियो जसका कारण हजारौंको ज्यान गइसकेको छ। तर पाकिस्तानको अवस्था पछिल्ला केही वर्षदेखि नाटकीय रुपमा सुधार आएको छ।

Related News

सम्बन्धित समाचार

hero news full width