पोखरामा पर्यटक बसपार्क २ वर्षमा बनिसक्ने, साढे ७ करोड लाग्ने

यो बसपार्क दीर्घकालका लागि उपयुक्त नहुने जानकारहरुको तर्क छ।

प्रकाश ढकाल
जेठ १७, २०७६
tourist buspark_Fotor

निर्माणाधीन पर्यटकीय बसपार्क। तस्वीर : प्रकाश ढकाल

तत्कालीन अञ्चलाधीश शंकरराज पाठकले पोखरा विकासको गुरुयोजना तयार गर्दा पृथ्वीचोकमा स्तरीय बसपार्क बनाउन जग्गासमेत छुट्टाएका थिए। अहिले त्यो जग्गा सुकुम्वासीले भरिएको छ। बसपार्ककै लागि अधिग्रहण गरिएको १ सय ९६ रोपनी जग्गामध्ये मुस्किलले १ सय २५ रोपनी कायम छ। त्यो पनि सेती नदीले चचेर्पछि ८१ रोपनीमा मात्रै बसपार्क बनाउन मिल्ने पछिल्लो अध्ययनले देखाएको छ।

बसपार्क नहुँदा पोखरामा गाडी आवत्जावत्देखि पार्किङमा समेत ठूलो चुनौती थपिएको छ। धेरै पटक बसपार्क निर्माणको कुरा उठे पनि कार्यान्वयन भएको छैन। बसपार्कबाट सुकुम्बासी हटाउन नसकेपछि सरकारले राष्ट्रबैंक चोक नजिकै पर्यटकीय बसपार्क निर्माणको काम अघि बढाएको छ। पोखरा उपत्यका नगर विकास समितिको नाममा रहेको जग्गामा पर्यटन मन्त्रालयले हस्तक्षेप गरी बसपार्क निर्माण गर्न लागेको हो। यो जग्गा तत्कालीन समयमा संवैधानिक क्षेत्र बनाउन अधिग्रहण गरिएको थियो। अधिग्रहण भएको ३४ रोपनीमध्ये अधिकांश प्रयोग भैसकेको र बाँकी रहेको जग्गामा बसपार्क निर्माणका लागि पर्यटन विभागले ठेक्का लगाएको छ।

आशीष/सिएम/मिसन जेभिले ७ करोड ५० लाख रुपैयाँमा ठेक्का लिएर काम थालेको हो। यसका लागि आधा भाग सम्याइसकिएको छ। २ वर्षमा निर्माण सक्ने गरी ठेकेदार कम्पनीले २८ फागुनमा जिम्मेवारी लिएको हो। २०७७ साल असोजअघि काम सक्नुपर्ने छ। पर्यटन बसपार्कमा ४० वटा बस अट्नेछ। १० वटा माइक्रोबस, २० वटा ट्याक्सी पार्किङ गर्ने र केही ठाउँ कार पार्किङका लागि छुट्याइने छ। बीचमा आकर्षक आइल्याण्ड गाडेर्न बन्नेछ। बसपार्कमा व्यवस्थित शौचालय, चमेनागृह निर्माण गरिनेछ। निर्माण कम्पनीका प्रोजेक्ट डाइरेक्टर इञ्जिनियर अशिम बरालले अवरोध नभए तोकिएकै समयमा काम सक्ने बताए। उनका अनुसार स्थानीयले काममा अवरोध गरिरहेका छन्। २१ वर्षदेखि पोखरा उपत्यका नगर विकास समितिको नाममा रहेको जग्गामा अस्थायी बसपार्क सञ्चालन हुँदै आएको थियो। समितिको नाममा रहेको करिब १६ रोपनी जग्गाभित्र बसपार्क बनाउन लागिएको हो। २०७१ सालमा तत्कालीन अध्यक्ष विष्णुप्रसाद बास्तोलाले मासिक ५० हजार भाडा लिने गरी पोखरा सेन्टर लिजिङ प्रालिलाई बसपार्क जिम्मा लगाए।

जानकारहरु त्यो ठाउँमा दीर्घकालीन बसपार्क नबनाउन सुझाउँछन्। उपत्यका नगर विकास समिति पूर्व अध्यक्ष विश्वप्रकाश लामिछानेले तत्कालको आवश्यकता पूरा गर्न सामान्य मर्मत सम्भार गरे पनि दीर्घकालीन बसपार्क त्यहाँ उपयुक्त नहुने बताए। ‘१९९८ मा पोखरा भ्रमण वर्ष मनाउँदा अस्थायी भनेर कामचलाउ बसपार्कको रुपमा प्रयोग भयो। त्यसपछि निरन्तरजसो ठेक्कामा लगाइएको छ। गण्डकी सरकारले भ्रमण वर्ष मनाइरहँदा एउटा बसपार्क अपरिहार्य छ, ’ उनले भने, ‘पोखराको इज्जत राख्न भए पनि यसको सामान्य मर्मतसम्भार हुनुपर्छ। तर दीर्घकालका लागि कसैले सोच्छ भने २०३३ सालको भौतिक विकास गुरुयोजना पल्टाएर हेरोस्। त्यहाँ पोखराको पूरै प्लानिङ छ। ’ लामिछानेले पोखरामा तत्काल तीनवटा बसपार्क आवश्यक परेको बताए। पृथ्वीचोकमा सेन्टर बसपार्क, लामे आहालमा प्रदेशस्तरीय बसपार्क र छोरेपाटनमा अर्को वैकल्पिक बसपार्क निर्माण गरिनुपर्ने उनको भनाइ छ।

अर्का पूर्व अध्यक्ष प्रकाशमोहन खनाल पनि त्यस ठाउँमा पर्यटकीय बसपार्क बनाउन नहुने बताउँछन्। ‘जे कामको लागि अधिग्रहण गरिएको हो, सोही काममा जग्गा प्रयोग गर्नुपर्छ। बसपार्क बनाउन लागेको हो भने पृथ्वीचोकमा जग्गा छ, ’ उनले भने, ‘यो ठाउँ संवैधानिक क्षेत्र हो। कार्यालय र आवास निर्माणमा मात्रै प्रयोग गर्न पाइन्छ। ’ उनले यथाशीघ्र पृथ्वीचोकको बसपार्क निर्माण प्रक्रिया अघि बढाउन आग्रह गरेका छन्। बसपार्क पोखराका लागि अति आवश्यक भए पनि ठाउँ उपयुक्त नभएको उनको तर्क छ।

नाट्टा पश्चिमाञ्चल अध्यक्ष सन्तोष पोखरेलले राम्रो कामको थालनी हुन लागेकोले विरोध नगर्न आग्रह गरे। ‘पहिलेजस्तो जे काममा जग्गा अधिग्रहण गर्यो, त्यही संरचना बनाउनुपर्छ भन्ने छैन। अब सरकारलाई आवश्यक परेको संरचना बनाउन मिल्छ। काममा विरोध आउनु राम्रो हैन, ’ उनले भने, ‘कसैलाई समस्या परेको हो भने समाधान गरेर अगाडि बढ्नुपर्छ। सबैको सहमतिमा काम गर्नुपर्छ। ’ यो बसपार्क नितान्त पर्यटकको लागि बनाइएको उनले बताए। ‘पर्यटकलाई सुरक्षा र स्तरीयता चाहिन्छ। अहिलेसम्म त्यो देखिएन, ’ पोखरेलले भने, ‘पर्यटकहरु टल्केको बस चढेर आउँछन्। धुलो उडेको बसपार्कमा ओर्लिन्छन्। यसले राम्रो सन्देश दिएन। ’

नगर विकास समिति अध्यक्ष तथा पोखराका मेयर मानबहादुर जिसीले महानगरको चाहना भए पनि डिजाइन सही नभएको बताए। ‘महानगर र पर्यटन विभागले संयुक्त काम गरौं भनेको हो। त्यसकै लागि हामीले पनि १ करोड छुट्याएका थियौं। तर माथिबाट हस्तक्षेप भयो, ’ उनी भन्छन्, ‘डिजाइन पनि पोखराको टिपिकल हुनुपर्छ भनेको हो। पोखरामा बन्ने बसपार्कमा झरेपछि पोखरा आएको फिल गर्नुपर्यो नि पर्यटकले। ’ नगर विकास समिति महानगरको मातहतमा आएकोले बसपार्कको दायित्व पनि स्वतः सरेको उनले बताए।

स्थानीयको विरोध

संवैधानिक क्षेत्र बनाउन अधिग्रहण गरिएको जग्गामा बसपार्क निर्माण गर्न थालेपछि स्थानीयले विरोध गरेका छन्। ‘जे कामका लागि अधिग्रहण गरियो त्यही संरचना बनाउनुपर्छ। अहिले मनलाग्दी गर्न पाइँदैन, ’ स्थानीयले भने, ‘न हामीसँग सल्लाह गरिएको छ। न स्पष्ट डिजाइन सार्वजनिक गरिएको छ। यस्तो अपारदर्शी काम गर्न पाइँदैन। ’ बसपार्क आडैका वासिन्दा वरिष्ठ अधिवक्ता भूपनिधि पन्तले पहिलेदेखि नै प्रयोग गर्दै आएको बाटोसमेत थुनेर धमाधम काम गरिएको गुनासो गरे।

‘घरमा ल्याएको खानेपानी पाइप उप्काएर फ्याँकिदिए। हिडिरहेको बाटो पनि थुनियो, ’ उनले भने, ‘कमसेकम काम गर्नुअघि हामीसँग त कुरा गर्नुपर्थ्यो। के काम गर्न लागेको हो कुनै जानकारी छैन। हामीले कोसँग गुनासो गर्ने? ’ विहीवार स्थानीयवासी महानगरमा डेलिगेसन गएका थिए। मेयर जिसीले प्रयोग गर्दै आएको बाटोको निकास खालेरमात्रै काम गर्ने प्रतिबद्धता जनाएका छन्।

नगर प्रमुख मानबहादुर जिसीले स्थानीय छिमेकीको मागबारे उक्त निवेदन आफूले बैठकमा राखी निर्णय गराउने आश्वासन प्राप्त भएको टोली प्रमुख पन्तले जानकारी दिएका छन्।

वरिष्ठ अधिवक्ता पन्तको नेतृत्वमा गएको सो डेलिगेसनमा निर्माण व्यवसायी संघ कास्कीका अध्यक्ष सुरेश श्रेष्ठ, समाजसेवी सूर्यबहादुर कार्की, कृष्ण महत र सीता गुरुङ सम्मिलित थिए।

Related News

सम्बन्धित समाचार

hero news full width