अधिनायकवादविरुद्ध खबरदारी आवश्यक : जोशी

एजेन्सी
जेठ १५, २०७६

नेपाली काँग्रेसका केन्द्रीय प्रतिनिधि एवम् केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले एकदलीय अधिनायकवाद लाद्न खोजेको आरोप लगाउँदै त्यसविरुद्ध तरुण दलले खबरदारी गर्नुपर्ने बताएका छन्।

हिमाल पहाड तराइ – मधेश नेपाली काँग्रेस राष्ट्रिय जागरण अभियानअन्तर्गत नेपाल तरुण दल कास्कीले आयोजना गरेको विपतमा तरुण दलविषयक अभिमुखिकरण कार्यक्रममा बोल्दै नेता जोशीले सो कुरा बताएका हुन्।

नेता जोशीले भने, ‘सबैलाई अंकूश लगाउँदै अधिनायकवाद लाद्ने वर्तमान सरकारविरुद्ध तरुण जाग्नुपर्ने बेला आएको छ। ’

पार्टीको जागरण अभियान पनि वर्तमान सरकारको अधिनायकवाद विरुद्ध आन्दोलन र विरोधको तयारी भएको उनले जानकारी दिए।

‘अभियन गाउँ गाउँमा कार्यकर्ता जगाउँदै आन्दोलनको तयारीको शुरुवात हो’ उनले भने, ‘ अधिनायकको विरुद्ध आन्दोलन र विरोधमा उत्रिनका लागि तयार भएर बस्नुहोस्। ’

नेताहरुसँग रिस उठेको छ भने महाधिवेशनमा हराइदिन आग्रह गर्दै उनले नेताहरुलाई सार्वजनिक ठाँउमा गालि गर्नुभन्दा पनि अधिनायकविरुद्ध जाग्नु पर्ने बेला आएको बताए।

उनले काँग्रेसमा काँग्रेस भएर रुख चिन्हमा भोट हाल्ने र काँग्रेस भएर अर्कै चिन्ह्मा भोट हाल्ने दुई गुट भएको बताउँदै यसलाई सच्याउन लाग्नुपर्ने बताए।

काँग्रेसले भरोसा गरेको संस्था तरुण दल भएको बताउदै उनले देशको भष्ट्राचार विरुद्ध खरो भएर उत्रिन तरुण दललाई आग्रह गरे।

तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले तरुण दल जहिलेपनि जनताको साथ र माझ रहने स्पष्ट पारे। ‘ वर्तमान ओली सरकारले अहिले देशलाई नै विपद्तिर धकलेको छ’, उनले भने, ‘लोकतन्त्र रक्षाको लागि अब तरुण दल लड्नु पर्ने बेला आएको छ।

लोकतन्त्र रक्षा गर्नका लागि सम्पूर्ण तरुण जोश जाँगर र विचार बोकेर हिड्नु पर्ने बेला आएको उनको भनाइ थियो।

नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीले चट्टान जस्तो ढाल बनेर उभिने भातृ संस्था भनेको तरुण दल भएको बताउँदै तरुण दललाई पार्टीले सशक्त बनाएर लैजानु पर्ने उल्लेख गरे।

कार्यक्रममा नेपाली काँग्रेस क्षेत्र २ का सचिव दीपेन्द्र मरासिनी र प्रशिक्षक दिलीप गुरुङले विपद व्यवस्थापनको विषयमा सहजीकरण गरेका थिए।

कार्यक्रममा नेपाली काँग्रेस कास्कीका पूर्व सभापति सोभियतबहादुर अधिकारी, तरुण दलका पूर्व केन्द्रीय सदस्य ऋषिराज काफ्ले, तरुण दल केन्द्रीय पार्षद जमुना श्रेष्ठले बोलेका थिए।

नेपाल तरुण दल कास्की अध्यक्ष मनोज गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष दीपक गुरुङले स्वागत र सचिव नरेन्द्र थापाले सञ्चालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width