तीन अर्ब ८४ करोड राजश्व सङ्कलन

रासस
जेठ ४, २०७६
Departmnent-of-Revenue-Investigation

दमौली, ४ जेठ । आन्तरिक राजश्व कार्यालयले चालू आर्थिक वर्ष २०७५/७६ को वैशाखसम्म तीन अर्ब ८४ करोड ८३ लाख राजश्व सङ्कलन गरेको छ । वैशाख मसान्तसम्म तीन अर्ब ६६ करोड ८८ लाख सङ्कलन गर्ने लक्ष्य रहे पनि उक्त कार्यालय लक्ष्यभन्दा बढी राजश्व सङ्कलन गर्न सफल भएको हो ।

कार्यालयका सूचना अधिकारी मोहनरमण त्रिपाठीले लक्ष्यभन्दा रु १७ करोड ९५ लाख बढी राजश्व सङ्कलन भएको जानकारी दिँदै वैशाख महीनामा मात्रै रु ६६ करोड राजश्व सङ्कलन भएको बताए ।

उक्त कार्यालयले आर्थिक वर्ष २०७४/७५ मा रु ४८ करोड २४ लाख ५७ हजार राजश्व सङ्कलन गरेको थियो । गत आवसम्म करदाता सेवा कार्यालयको रुपमा रहेको कार्यालय यही वर्षबाट आन्तरिक राजश्व कार्यालयको रुपमा स्तरोन्नति भएको थियो । कार्यालयले तनहुँसहित लमजुङ, गोरखा र मनाङका व्यवसायीलाई सेवा प्रवाह गर्दै आएको छ ।

कार्यालयका प्रमुख कर अधिकृत सूर्य सेढाईंले चारवटै जिल्लामा पुगेर कर सचेतनासम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए । उनका अनुसार चालू आवमा मनाङको चामे, धारापानी, पिसाङ, तनहुँको भिमाद, खैरेनीटार र लमजुङ र गोरखाका विभिन्न स्थानमा कर सचेतना कार्यक्रम गरिएको थियो ।

उनका अनुसार समय–समयमा दर्ता अनुगमन गर्ने, दर्ता भएर कर नतिर्नेलाई नियमअनुसार कारवाही प्रक्रियामा ल्याउनेलगायतका कामलाई अगाडि बढाइएको र कर तिर्ने वातावरण सिर्जना गर्ने काम पनि भइरहेको छ । विसं२०६९ वैशाख ९ गते करदाता सेवा कार्यालयको रुपमा स्थापना भएको कार्यालय २०७५ असार २० गते आन्तरिक राजश्व कार्यालयको रुपमा स्तरोन्नति भएको थियो । चार जिल्लामा करीब ३० हजार करदाता करको दायरामा आएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width