नयाँ नियमअनुसार सर्वेश्वर सहकारी

आदर्श समाज सम्वाददाता
जेठ ३, २०७६
2×14 new_Fotor

सर्वेश्वर बचत तथा ऋण सहकारी संस्था उद्घाटन समारोहका अतिथि। तस्वीरः भीमपाणि बराल/आदर्श समाज

सहकारी नियमावली, २०७५ अनुरुप स्थानीय तहबाट सहकारी संचालन गर्नुपर्ने नियमअनुसार पोखरा महानगरपालिका पहिलो पटक दर्ता भएको सर्वेश्वर बचत तथा ऋण सहकारीले बुधवारदेखि विधिवत रुपमा आफ्नो सेवा संचालन गरेको छ।

सहकारी डिभिजन खारेज भएपछि स्थानीय तहबाट सहकारीहरु संचालन हुनुपर्ने नियम अनुरुप पोखरा २७ मा प्रधानकार्यालय रहने गरी दर्ता भएको सर्वेश्वरले डाँडाकोनाकमा कार्यालय स्थापना गरी सेवा संचालन गरेको हो।

सहकारी उद्घाटन गर्दै पोखरा २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले सहकारीले छरिएर रहेको पुँजी एकीकृत गरी आयआर्जन क्षेत्रमा लगानी गर्नुपर्ने सुझाव दिए।

सहकारीहरुले नाफाका लागि पैसा बेचेर बोनस बाँड्ने प्रचलन अन्त्य गरी उत्पादनशील क्षेत्रमा लगानी बढाएर आफ्ना सेयर सदस्यको जीवनस्तर उकास्ने गरी रोजगारीका अवसर ल्याउनुपर्नेमा उनको जोड छ।

सहकारी तदर्थ समिति अध्यक्ष चक्रबहादुर शाहीको अध्यक्षतामा भएको सो कार्यक्रममा सहकारी दर्ता प्रक्रियादेखि हालसम्मको अवस्थाबारे प्रमुख सल्लाहकार चन्द्रकान्त पौडेलले जानकारी गराए। कार्यक्रममा सामुदायिक सेवा केन्द्र लेखनाथका अध्यक्ष रमेश ओझा, गण्डकी विकास बैंक तालचोक शाखाका प्रमुख सन्तोष गुरुङ, सेयर सदस्य सूर्यमणि लामिछाने लगायतले स्थानीय तहमा दर्ता भई संचालनमा आएको सहकारीले लगानीका सम्भावना खोजी गरी सहकारीको मर्म र सिद्धान्तअनुसार अगाडि बढ्नुपर्नेमा जोड दिए।

संस्थाका उपाध्यक्ष डम्बरप्रसाद पौडेलले संचालन गरेको सो कार्यक्रममा स्वागत सदस्य पुतलीदेवी रानाभाटले गरेकी थिइन्।

सहकारी दर्ताका लागि २०७५ साउनमा निवेदन पेश भएकोमा यही वैशाख ४ मा पोखरा महानगरपालिकाबाट दर्ता प्राप्त गरेको सो सहकारीले जनाएको छ।

संस्थामा हाल दुई करोड १५ लाख ९० हजार सेयर पुँजी छ। सहकारीमा कुल एक सय ६५ सेयर सदस्य छन्। संस्थाको तदर्थ समिति अध्यक्षमा चक्रबहादुर शाही, उपाध्यक्ष डम्बरप्रसाद पौडेल, सचिव अमृता बास्तोला, कोषाध्यक्ष सूर्यनाथ पौडेल र सदस्यमा पुतलीदेवी रानाभाट, ध्रवराज पौडेल र कृष्णबहादुर बल्छौडी रहेका छन्।

Related News

सम्बन्धित समाचार

hero news full width