समयलाई परिवर्तन गर्ने होइन, आफूलाई परिवर्तन गर्नुपर्छ –शाक्य

एजेन्सी
वैशाख २९, २०७६
Member-of-the-year-copy

साभार –अनलाइन खबर

पाेखरा, २९ वैशाख । कुनै समय हास्यव्यङ्ग्य साहित्यमा तीनजनाको बोलावाला थियो । भैरव अर्याल, रामकुमार पाँडे र विश्व शाक्य । यी तीनमध्ये भैरव अर्यालले धेरैअघि आत्महत्या गरे । अहिले पनि अर्यालका कृतिहरु सदावहार रुचाइन्छन । रामकुमार पाँडेले हाँसने घर खोलेर हाँस्यव्यङ्ग्यलाई निरन्तरता दिइरहेका छन । तर, विश्व शाक्यको नाम लगभग ओझेल परिसकेको छ ।

कुनैबेला झापाको ‘जुही’ पत्रिकाले विश्व शाक्यको प्रतिभाको कदर गर्दै महाविशेषाङ्क प्रकाशन गरेको थियो । केशवराज पिँडालीले विश्व शाक्य नै भोलिका हास्यव्यङ्ग्यका धरोधर भनेर प्रसङ्सा गरेका थिए । पिँडालीले भविष्यवाणी गरेझैं उनले १० वटा हाँस्यव्यङ्ग्य पुस्तक प्रकाशन गरे पनि नयाँ पुस्ताले उनलाई चिन्दैनन ।

विसं २०७१ सालमा ‘सोझा तस्वीर –बाउँठा कुरा’ नामक फोटो हास्यव्यङ्ग्य पुस्तक निस्कँदा बाहेक उनी सञ्चार माध्यममा दशकदेखि नै आइरहेका छैनन।

पोखरेली साहित्यकारबीच विश्व शाक्यको छवि छुच्चो, अव्यवहारिक र आफैंमा मग्न हुने मस्तमौला कविका रुपमा छ । उनी चर्चित फोटोग्राफर र लोकप्रिय कलाकार पनि हुन । अहिले उनलाई पोखरेलीले समय आन्दोलनको रुपमा चिन्दछन् । कुनैपनि कार्यक्रममा निमन्त्रण गर्दा कार्डमा लेखिएको समयलाई पाँच मीनेट ढीलाभएसम्म बस्छन् तर पाँच मिनेट भन्दा ढीला कार्यक्रम सुरु हुने देखियो भने उनी जतिसुकै महत्वपूर्ण कार्यक्रम होस् हिडिहाल्छन् ।
हालै शाक्यको फोटो पुस्तक ‘पोखरा हिजो र आज’ प्रकाशित भएको छ । उक्त पुस्तकले ५० वर्षअघिको पोखरा र अहिलेको पोखराको सजीव चित्रण गरेको छ । यति महत्वपूर्ण पुस्तक लेखक आफैंले झोलाभरि बोकेर बेच्न हिँडेको दृश्य आम पोखरेलीका लागि सामान्य हो ।

हास्यव्यङ्य बाहेक बुद्ध दर्शनसम्बन्धी १० पुस्तक र साहित्यका अन्य विधामा ६ पुस्तक पनि लेखेका विश्व शाक्यलाई अनलाइन खवरले पोखराको न्युरोडस्थित घरमा भेटेको थियो । उमेरले ७० वर्ष पुगे पनि उनी भर्खरको ठिटो झैँ घरका कोठा चोटा नापिरहेका थिए । सञ्चारमाध्यमले उनका विषयमा केही खोजखबर गर्न लागेको सुन्दा उनको अनुहारमा अविश्वास राम्रैसँग प्रकट भयो ।

हामीले विश्व शाक्यसँग कुराकानीको सुरुवात यही सन्दर्भबाट सुरु र्गयौं ।

राजधानीका पुराना स्रष्टामध्ये धेरैले तपाई निष्कृय भइसकेको ठान्छन । यसैको खोजखबर गर्न आएका हौं, कस्तो छ तपाईंलाई ?

न म कुनै राजनीतिक दलसँग आवद्ध छु । न म कुनै शक्तिकेन्द्रमा छु । न मेरो विषयमा लेख्दा पत्रिकाहरु बिक्छन् । उल्टै मसँग कुरा गर्न आउनेले मेरा पुस्तकहरु किन्नुपर्छ । यस्तो मानिससँग कुरा गर्नकै लागि कोही किन आउँछ र ? मलाई त विश्वास लागेन ।

कोही त तपाईंले गरेको योगदान सुनेर पनि भेट्न आउलान् नि, आउँदैनन र ?

मैले अरुका लागि काम गरेको हो र ? आफ्नै अहम तुष्टि गर्न लेख्थेँ । पछि थाहा पाएँ, लेखेर न त मन शान्त हुन्छ, न समाज परिवर्तन हुन्छ । त्यसपछि लेख्नै छाडिदिएँ । बरु ध्यान गरेर बस्छु । बुद्ध दर्शनसम्बन्धी पुस्तक लेख्छु । यो साहित्य भन्ने कुरा वाहियत त भन्दिनँ, तर यसले केही परिवर्तन हुन्छ भन्ने लाग्दैन । मान्छेले अरुलाई केहीगरी पनि परिवर्तन गर्न सक्दैन । परिवर्तन गर्ने त आफैंलाई पो हो ।

पछिल्लो पटक ५० वर्षभन्दा बढी समय लगाएर खिचिएका पोखराका तस्वीरहरुलाई पुस्तकको रुप दिनुभएको रहेछ । यो पुस्तक प्रकाशन गर्ने कारण चाहिँ के हो ?

मैले हेर्दाहेर्दै पोखरा परिवर्तन भयो । साहित्य मेरो सौख थियो भने फोटोग्राफी व्यवसाय । तैपनि मैले पोखराको जनजीवनका हजारौंं तस्वीर खिचेको रहेछु । मलाई लाग्यो, हिजो जुन ठाउँबाट मैले ती तस्वीरहरु खिचेँ, आज त्यो ठाउँबाट पोखरा कस्तो देखिन्छ भन्ने कुरा मनमा उब्जियो । ती ठाउँ गएर फोटो खिच्दै जाँदा समय क्रममा हामीले पोखरालाई कसरी बिनास गरिरहेका छौं, स्पष्ट देखियो । यो आम मानिसलाई थाहा होस् भनेर निकालेको हुँ । जसलाई यसको महत्व थाहा छ, उसले किन्छ । थाहा छैन भने उसलाई मैले यो काम गरेँ भन्दै हिँड्दिनँ ।

तर, पुस्तक बोकेर बेची हिँड्नु हुन्छ, यो काम त प्रकाशकहरुको हो नि, होइन र ?

विश्व शाक्य कुनै प्रकाशकलाई नमस्कार गर्दै मेरो पुस्तक छापिदेऊ भन्दै हिँड्ने स्तरको व्यक्ति होइन । यो मैले घमण्ड गरेर भनेको होइन । सामग्री आफैंले तयार पारेको हुँ । आफंै छाप्छु, आफैं बेच्छु । लगानी उठेपछि कुरै सकियो । किन अरुलाई भनी हिँड्ने ? आफूले मेहनत गरेको कुरा बेच्नलाई लजाउने भए किन लेख्नुपयो ? यो त सिर्जनात्मक काम हो । मलाई चिन्नेले तपाईं जसरी खोज्दै आउनुभयो, त्यसैगरी अरु पनि आउँछन् र पुस्तक पनि किन्छन । अनि किन चाहियो प्रकाशक ?

तपाईंलाई चिन्ने मानिसहरुले तपाईंका बारेका के भन्छन्, थाहा छ ?

थाहा छैन । तर, छुच्चो भन्छन् भन्ने अञ्दाज गरेको छु ।

किन होला ?

किनभने म नचाहिँदो स्वार्थमा हिँड्दिनँ । कसैलाई नमस्कार गरेर हजुर भन्दिनँ । साहित्यकारहरु सकेसम्म आफ्ना कार्यक्रमहरुमा मलाई बोलाउँदैनन् । बोलाइहाले पनि उनीहरुलाई समयमै कार्यक्रम सक्न दबाव हुन्छ । नत्र म उठेर हिँड्छु । राजनीतिका मान्छे मनपराउँदिनँ, किनभने उनीहरुसँग केही लिनुदिनु छैन । यदि अरुजस्तो राजनीति वा शक्तिकेन्द्रको पछि नलाग्नु, समयको ख्याल राख्नु, मैले गरेको काम राम्रो हुनुपर्छ भनेर दबाव दिनु र आदर्श जीवन बाँच्नुलाई छुच्चो भनिन्छ भने म छुच्चो नै हुँ ।

तपाईंमा यस्तो स्वभाव कहिलेदेखि आयो ?

सायद पहिलेदेखि नै यस्तै थिएँ जस्तो लाग्छ । उदाहरणका लागि म फोटोग्राफी गर्दा मेरा ग्राहकहरु जस्तोसुकै भए पनि फोटो भए पुग्छ भन्ने ठान्थे । तर, म राम्रो कामका लागि दोर्होयाएर, ढिलो गरेर, मेहेनत गरेर काम गर्थें । यसो गर्दा मेरा ग्राहक पनि भड्कन्थे, घरका मानिस पनि रिसाउँथे । ग्राहक खुसी छ भने तिमीलाई किन जान्ने हुनुर्पयो, किन दोर्होयाएर, पटक(पटक मेहेनत गरेर फोटो खिच्नुर्पयो भनेर कराउँथे । अरे बाबा, मैले पैसाका लागि काम गरेको हो र ? मलाई त काममा आनन्द आउनुपर्छ । मेरो कामका पछि विश्व शाक्यको नाम जोडिएको छ भन्थेँ । उनीहरु यस्ता कुरा बुझ्दैन थिए । उनीहरुको विचारमा म मूर्ख र घमन्डी हुँ । समयको धारसँगै बग्न नसक्ने मान्छे हुँ ।

मेरो यस्तो बानी बढ्दै गयो । मानिसहरु बाहिर एकथरी हुन्छन्, भित्र अर्कोथरी हुन्छन् । रीस उठ्यो भने पनि भोलि अप्ठ्यारो हुन्छ भनेर दबाएर राख्छन । यस्ता मानिस रोगी हुन्छन् । तर, म भित्र जस्तो छु, बाहिर पनि उस्तै छु । म पाखण्डी भएर बाँच्नुभन्दा छुच्चो भएर मर्न चाहन्छु ।

तपाईंका पुस्तक पढ्दा धर्ममाथि निकै ब्यङ्ग्य गरेको देखिन्छ, किन होला ?

विकृति कि राजनीतिमा छ, कि धर्ममा छ । व्यङ्ग्य लेखक भएपछि जहाँ बढी विकृति हुन्छ, उसले त्यहीँ व्यङ्ग्य गर्छ । राजनीतिका विषयमा धेरै लेखिएका छन। तर, धर्मका विषयमा कमै लेखिन्छन । धर्मका नाममा हुने गलत कुरा लेख्दा समाजलाई थोरै परिवर्तन गर्न सकिन्छ भने मैले त्यो जोखिम उठाउनैपर्छ ।

उदाहरणका लागि अहिंसाको पूजारी बुद्ध धर्म मान्नेहरु नै हिंसा हुने काम गर्छन् । यो देखेपछि एउटा लेखक कसरी चुप लागेर बस्न सक्छ ? त्यसपछि लेख्नैपर्छ ।

बुद्धम शरणम गच्छामी,

ऐला छोयला भक्षामी

नेवारी बुद्धिष्टहरुले गर्दै आएको यस किसिमको अहिंसालाई कसरी पचाउनु ? म हिन्दुका विकृतिमाथि पनि कहिलेकाहिँ कलम चलाउँछु । तर, बढी बौद्ध धर्मकै विषयमा लेख्छु । किनभने, म त्यो धर्म मान्छु । अरुका धर्ममाथि बोल्ने अधिकार मलाई छैन ।

तपाईं राम्रो कलाकार पनि हुनुहुन्थ्यो रे । एकल प्रदर्शनी पनि गर्नुभएको थियो । कलाको संसार किन त्याग्नुभयो ?

पोखरामा एक कला प्रदर्शनी गर्ने पहिलो पोखरेली कलाकार म नै हुँ । नेपाल ललितकला संस्थाको पोखरामा शाखा खोल्ने पहल पनि हामीले नै गरेका हौं । तत्कालीन राजारानीहरु पनि हाम्रो कलाकारिता हेर्न आएका थिए । दुर्गा बराल (वात्सायन) र म कलाकारितामा राम्रै जमेका थियौं । तर कलाकारिताभन्दा त्योबेला फोटोग्राफीमा पैसा थियो । ग्रामीण क्षेत्रका फोटोहरु पर्यटकले खोजी खोजी लैजान्थे । मेरा कतिपय तस्वीरहरु हजारौंप्रति पनि बिकेका छन । एक प्रकारले आर्थिक कारणले पनि मैले कलाकारिता छाडको हुँ । एक साथ साहित्य, कला र फोटोग्राफी थेग्न नसकेर पनि छाडेको हुँ ।

फोटाग्राफीमा चाहीँ कसरी आउनुभयो ?

मेरो घरअघि शम्भुरत्न शाक्यको फोटो स्टुडियो थियो । त्यहाँ मेरा दाजु काम गर्नुहुन्थ्यो । मानिसहरुको सधैं भिड लाग्दथ्यो । त्यो बेला फोटो खिच्नु साह्रै महंगो सौख मानिन्थ्यो । एसएलसी दिन र नागरिकता बनाउन पनि फोटो चाहिन्थ्यो । दसैं तिहारमा लाइन लागेर फोटो खिच्ने मानिस आउँथे । यसले मलाई आकर्षित गर्दै लग्यो ।

विश्व शाक्यको पहिलो तस्वीर
तर, मेरो फोटोग्राफीमा कलाकारिता थियो, साहित्य थियो । व्यङ्ग्य त झन् बढी थियो सायद । यही कारण मेरा तस्वीरहरु विदेशीले निकै मनपराए । पहिलो तस्वीर मैले सिरिसको फूललाई टेबुलमा राखेर खिचेको थिएँ । आज हेर्दा पनि त्यो तस्वीरमा कलाको नमूना देख्न सकिन्छ । सायद यसै कारण हुनुपर्छ, चाँडै मेरो प्रगति पनि भयो । घरमा फोटो स्टुडियो मात्रै चलेन, बाहिर पनि असाध्यै धेरै काम आउन थाल्यो । साहित्यमा रुची नहुनेहरुले मलाई फोटोग्राफर नै भनेर चिन्छन ।

साहित्यमाचाहिँ कसरी आउनुभयो ?

कक्षा ७ मा पढ्दा म १४ वर्षको थिएँ । विद्यालयले हरेक शुक्रवार साहित्यिक कार्यक्रम गर्दथ्यो । त्यसमध्ये नाटक पनि प्रमुख विधा थियो । त्यही बेला मैले पृथ्वीनारायण शाहको नेपाल एकीकरणको विषयमा नाटक प्रदर्शन गर्न ५७ पृष्ठ लामो नाटक लेखेको थिएँ । विद्यालयमा नै लेख्ने वातावरण थियो र हौसला दिइन्थ्यो । सायद यही कारण त्यो नाटक लेखेँ । त्यो प्रदर्शन भएपछि मलाई लेख्ने हौसला जाग्यो ।

पछि विद्यालयका विकृतिका विषयमा पनि लेख्न थालेँ । त्यस्ता लेखहरु चाहिँ व्यङ्ग्य भएछन् । खासमा मैले व्यङ्ग्य लेख्छु भनेर ती लेखेको थिइनँ । तर, अञ्जानमै ममा त्यो प्रतिभा बढ्दै गएको रहेछ ।

तपाईंले साहित्य, कला र फोटोग्राफीमा धेरै काम गर्नुभयो । तर, पुरस्कारहरु भने खासै पाउनुभएको देखिएन, किन होला ?

यो देशमा लेखेर पुरस्कार पाइन्छ भन्ने भ्रममा हुनुहुन्छ सायद । म पनि यस्तै भ्रममा थिएँ । पुरस्कार पाउन दुईवटा गुण चाहिन्छ ः एउटा शक्तिकेन्द्रमा हुनुपर्छ, अर्को चाकडी गर्न सक्नुपर्छ । मसँग यी दुई गुणको एक अंश पनि छैन । सानो छँदा बालकविता प्रतियोगितामा प्रथम भएयता मैले लेखेरै पुरस्कार पाएको बिरलै होला । केही सम्मान पाएँ हुँला तर पुरस्कार पाएको छैन । लिन्न पनि ।

आज पोखरासम्बन्धी जति पनि तस्वीर पोस्टरहरुमा देख्नुहुन्छ, तीमध्ये अधिकांश मेरा हुन । यो नै मेरा लागि पुरस्कार हुन । संसारभर पोखराका तस्वीरहरु पुगेका छन ।तीमध्ये पनि अधिकांश मेरा हुन । यो नै मेरा लागि ठूलो पुरस्कार हो ।

बरु आमाबुवाका नाममा ६० लाख रुपैयाँको अक्षयकोष खडा गरेर मैले एक सयजति बच्चालाई छात्रवृत्तिमा विद्यालय पढाइरहेको छु । प्रतिभाहरुलाई पुरस्कृत गरिरहेको छु ।

आफू फरक छु भन्ने देखाउन यस्ता काम गर्नुभएको हो कि भन्नेहरु पनि छन के भन्नुहुन्छ ?

भन्न त के–के भन्छन भन्छन । मान्छेले आफू काम गर्नुपर्छ । अरुको कुरा सुन्ने होइन, आफ्नो काम गर्नुपर्छ । समाजलाई परिवर्तन गर्ने होइन, आफूलाई परिवर्तन गर्नुपर्छ । यति बुझ्न मलाई वर्षांै लाग्यो । बुझेपछि म त्यता लागेको छु । अब अरुले के भन्छन्, किन भन्छन् भनर पछि किन लाग्ने ? के आवश्यक छ ?
साभार अनलाईनखवर

Related News

सम्बन्धित समाचार

  • गीताञ्जलीको २६१ औं साधना प्रभात

    आदर्श समाज सम्वाददाता असाेज ११, २०८१
    पोखरा । गीताञ्जली साहित्य परिवारको २६१ औं साधना प्रभात तथा नियमित रचनावाचन कार्यक्रम सम्पन्न भएको छ । संस्थाका वरिष्ठ उपाध्यक्ष…
  • प्रधानसम्पादक बास्तोलालाई आर्थिक पत्रकारिता पुरस्कार

    आदर्श समाज सम्वाददाता असाेज ११, २०८१
    लेखनाथ । आदर्श समाज राष्ट्रिय दैनिकका प्रधानसम्पादक कृष्णप्रसाद बास्तोलालाई ‘आर्थिक पत्रकारिता पुरस्कार–२०८१’ बाट सम्मान गरिने भएको छ । लेखनाथ उद्योग…
  • माधवशरणलाई राधा–लक्ष्मी पुरस्कार

    आदर्श समाज सम्वाददाता असाेज ८, २०८१
    पोखरा । हेमजा साहित्य प्रतिष्ठनद्वारा सञ्चालित राधा–लक्ष्मी पुरस्कारबाट पंं. माधवशरण बास्तोला पुरस्कृत भएका छन् । प्रतिष्ठानले मंगलबार लक्ष्मीशरण उपाध्यायको ८७…
  • ‘आनन्द संहिता’ माथि परिचर्चा

    आदर्श समाज सम्वाददाता भाद्र ३०, २०८१
    पोखरा । पत्रकार तथा साहित्यकार घनश्याम खड्काद्वारा लिखित ‘आनन्द संहिता’ को पोखरामा शनिबार परिचर्चा भएको छ । ¥यान्डम रिडर्स सोसाइटीले…
  • मिस मगरमा म्याग्दीको वर्चश्व

    आदर्श समाज सम्वाददाता भाद्र २३, २०८१
    पोखरा, २३ भदौ । म्याग्दीकी कृष्टिना पुनमगरले सातौं मिस मगर नेपालको उपाधि जितेकी छिन् । एसटी क्रियशन आयोजनामा पोखरामा शनिबार राति…

hero news full width