याङ्जाकोट महोत्सवको तयारी

आदर्श समाज सम्वाददाता
वैशाख २७, २०७६
Yangjakot Mahotsav

पोखरा, २७ वैशाख । कास्कीको मादि गाउँपालिका याङ्जाकोटमा विगतको वर्षमा जस्तै यस वर्ष पनि याङ्जाकोट महोत्सव हुने भएको छ ।

२५६३ औं बुद्ध जयन्तिको अवसर पारेर जेष्ठ १ गतेदेखि ४ गतेसम्म महोत्सव चल्ने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बताइएको छ ।
याङ्जाकोट मिलन युवा क्लबको आयोजनामा हुने महोत्सवमा खेलकुद, लोकदोहरी, साँस्कृतिक नाच प्रतियोगिता लगायत विभिन्न साँस्कृतिक कार्यक्रमहरु आयोजना गरिने बताइएको छ ।

याङ्जाकोटको प्राचीन परम्परा र संस्कृृतिलाई निरन्तरता दिने र गाउँ छाडेर बाहिर गएकाहरुलाई गाउँ फर्काउने, आन्तरिक र बाह्य पर्र्यटक भित्राई ग्रामीण पर्यटकीय क्षेत्रको रुपमा गाउँलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यले महोत्सव गरिदैं आएको क्लबका अध्यक्ष विकास गुरुङले बताए । उनका अनुसार क्लब यतिखेर महोत्सवको तयारीमा जुटेको छ ।

लोपोन्मुख साँस्कृतिक परम्परा घाँटु, सोरठी र कृष्ण चरित्र लगायतको संस्कृति र परम्पराको संरक्षण गर्ने महोत्सवको उद्देश्य रहेको क्लबका संस्थापक अध्यक्ष देवीजंग गुरुङले बताए । याङ्जाकोट गाउँको होमस्टेको विकाससँगै स्थानीयलाई आत्मनिर्भर बनाउने महोत्सवको अर्को उद्देश्य रहेको गुरुङले जानकारी दिए ।

गण्डकी प्रदेश आर्थिक मामिला मन्त्री किरण गुरुङले महोत्सवको उद्घाटन गर्ने कार्यक्रम छ । महोत्सवको अवसरमा शिक्षा क्षेत्रमा योगदान गरेको भन्दै बाबुराम पन्त र चिनु रानाभाट तथा वैदेशिक रोजगारको क्षेत्रमा योगदान गरेवापत तिलक रानाभाटलाई सम्मान गर्ने कार्यक्रम छ ।

क्लबले स्थापना गरेको अक्षयकोषका लागि सहयोग गर्ने अक्षयकोषदाताहरुलाई समेत सम्मान गर्ने कार्यक्रम छ । ०७२ सालमा स्थापना गरिएको क्लबको अक्षयकोषमा हालसम्म ४० लाख संचित रकम पुगेको क्लबका सचिव योगेन्द्र गुरुङले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width