Worldlink ads

विमानस्थलको ‘डिपिआर’ तयार

रासस
वैशाख २७, २०७६
balewa-airport

बलेवा, २७ वैशाख । बागलुङको ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकाको बीचमा पर्ने अर्नाकोटमा विमानस्थल निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको अगुवाइमा ‘डिपिआर’ बनाइएको हो ।

मध्यपहाडी लोकमार्ग र गोरुसिङ्गे, सालझण्डी ढोरपाटन मार्गको सङ्गम रहेको अर्नाकोटमा ट्वीनअटर विमान आउजाउ गर्नसक्ने विमानस्थल निर्माण गर्न प्राधिकरणले जिम्मा दिएपछि ‘रियल पार्र्ट इञ्जिनीयरिङ कन्सल्टेन्सी’ले डिपिआर बनाएको इञ्जिनीयर गुरुप्रसाद अधिकारीले बताए । सात सय मिटर लामो रनवेसहित झण्डै एक किमी लामो मैदान बनाउन सकिने प्राविधिक टोलीले सुझाव दिएको छ । प्राधिकरणका प्राविधिकले अघिल्लो वर्ष स्थलगत अध्ययन गरेपछि कन्सल्टेन्सीमार्फत डिपिआर बनाउन दिएको थियो ।

उक्त कन्सल्टेन्सीले बनाएको डिपिआर प्राधिकरणलाई हस्तान्तण गरिएको अधिकारीले बताए “विमानका लागि ७०० मिटर लामो र १०० मिटर चौडाको रनवे, केही पार्किङ बनाउन सकिने सम्भावना छ”, अधिकारीले भने “समुद्री सतहबाट दुई हजार मिटर उचाइमा भएकाले पर्यटकीय दृष्टिले पनि उत्तम छ ।” यो स्थान बुर्तिवाङ बजारदेखि पाँच किमी कच्ची सडकमा पुग्न सकिन्छ । ढोरपाटन सिकार आरक्षमा आउने साहसिक पर्यटक र घुम्न आउनेलाई पनि यो उपयुक्त हुने उनले बताए ।

आरक्षभित्र पनि दशकौँ अघि बनेको एयरपोर्ट छ । मर्मत र नियमित सञ्चालन नभएकाले यहाँ तारबार लगाएर मात्र राखिएको छ । अर्नाकोटमा विमानस्थल बनाएमा पदमार्गमार्फत डेढ घण्टामा ढोरपाटन पुग्न सकिने स्थानीय द्रोण कुँवरले बताए । “यहाँ विमानस्थल बनेमा ढोरपाटनसहित रुकुम, रोल्पा, म्याग्दी र डोल्पासम्मका बासिन्दाले यात्रा गर्न सक्नेछन”, कुँवरले भने , “सडक सञ्जाललाई स्तरोन्नति गर्न सकियो भने बिरामीले काठमाडौँसम्म पुगेर उपचार गर्न पनि यो मार्ग प्रयोग गर्न सक्छन ।”
ढोरपाटन नगरपालिकाले सुरक्षित सुत्केरी सेवाका लागि हेलिकोप्टरबाट उद्धार गर्ने नीति बनाएको छ । यो नीतिलाई पनि हवाईमैदान उपयोगी हुने स्थानीयवासीको मत छ । डिपिआरले रु दुई अर्बमा ट्वीनअटर विमान आउने स्तरीय हवाईमैदान बनाउन सकिने सुझाव पनि दिएको छ । प्रारम्भिक अध्ययनका लागि भने रु ४० लाख खर्च भइसकेको छ ।

यो स्थान सदरमुकाम बागलुङबजारदेखि १०० किमी पश्चिममा पर्छ । बागलुङमा दुई हवाईमैदान छन् । बलेवाको मैदानमा केही समय जहाज आउजाउ गरेर स्थगित अवस्थामा छ । प्राविधिक कारणले उडान स्थगन भएको छ । अर्को ढोरपाटनमा छ । उक्त मैदान अहिले बन्द छ । यहाँ सिकार आरक्षका लागि आउने पर्यटक आउजाउमा प्रयोग गर्थे । पछिल्लो समय हेलिकोप्टर लिएर आएका सिकारीले ब्लकमा पुगेर अवतरण गर्न थालेपछि यो विमानस्थल पनि अलपत्र जस्तै अवस्थामा रहेको छ ।

Related News

सम्बन्धित समाचार

    • अङ्ग्रेजी नयाँ वर्षमा बन्दीपुरमा ८ हजार पर्यटक

      रासस पौष १८, २०७८
      दमौली । अङ्ग्रेजी नयाँ वर्षको अवसरमा तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा आठ हजार पर्यटक पुगेका छन् । अङ्ग्रेजी नयाँ वर्षको अवसरमा…
    • बेगनासमा पर्यटन प्रवद्र्धन उपाय

      आदर्श समाज सम्वाददाता पौष १५, २०७८
      पोखरा । गण्डकी प्रदेश सरकारका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्माले बेगनास तालको वराह क्षेत्र विकासमा साझा अवधारणा…
    • महोत्सवका लागि सिँगारियो लेकसाइड

      धनबहादुर गुरुङ पौष १२, २०७८
      पोखरा । बैदाम र जरेबहरमा ठूलठूला गेट । लेखिएको छ, ‘२३ औैं पोखरा स्ट्रिट फेस्टिबल’ । त्यस लगत्तै बाटैभरि ध्वजापतका…
    • हिमालमुनि मेला

      आदर्श समाज सम्वाददाता पौष ११, २०७८
      पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका ११, छोम्रोङमा २० औं संस्करणको सेन्चुरी ल्होसार मेला २०७८ सुरु भएको छ । सेन्चुरी युवा…
    • छोम्रोङमा सेन्चुरी ल्होसार महोत्सव

      आदर्श समाज सम्वाददाता पौष ११, २०७८
      पोखरा । अन्नपूर्ण गाउँपालिका १० छोम्रोङमा आयोजना आइतबारदेखि २० औं संस्करणको सेन्चुरी ल्होसार महोत्सव हुँदैछ । सेन्चुरी युवा क्लबले ल्होसार…

    hero news full width