खानेपानीको महसुल ई–सेवाबाट

रासस
वैशाख २७, २०७६
khane-pani-photo

चितवन, २७ वैशाख । भरतपुर खानेपानी व्यवस्थापन बोर्डले अनलाइनमार्फत पनि महसुल बुझाउन सकिने व्यवस्था गरेको छ । बिहीबार यहाँ पत्रकार सम्मेलन आयोजना गरी खानेपानीको महसुल बुझाउन कार्यालय जानु नपर्ने व्यवस्था मिलाइएको जानकारी दिइएको हो ।

खानेपानीको महसुल बुझाउन अब ग्राहकले कार्यालयमा धाइरहनुनपर्ने गरी ई–सेवाको शुरुआत गरिएको हो । वैशाख १५ गतेदेखि परीक्षणको रूपमा शुरु गरिएको ई–सेवालाई बिहीबारबाट औपचारिकरूपमा ल्याइएको कार्यालयका कार्यकारी निर्देशक प्रजापति दाहालले जानकारी दिए ।

खानेपानी बोर्डमा २७ हजार ग्राहक छन । उनीहरुलाई सहजताका लागि ई–सेवा फोनपे प्रालिसँगको समझदारीमा यो सेवा दिन लागिएको हो । सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउन यो कार्यक्रम लागू गरिएको दाहालले बताउनुभयो । यो सेवामार्फत ५० प्रतिशत सेवाग्राहीलाई सेवा दिने लक्ष्य रहेको छ । विसं २०३३ बाट जुगेडीमा पाइपलाइनको विस्तारसँगै शुरु भएको खानेपानी कार्यालय अहिले आएर बोर्डमा परिणत भएको हो ।

भरतपुर महानगरपालिकाभित्र सेवा दिने उद्देश्यका साथ सञ्चालनमा रहेको बोर्डले अहिले महानगरको १ नं वडादेखि १६ नं वडासम्म सेवा दिँदै आएको छ । बोर्डले महानगरका ४३ प्रतिशत जनतालाई सेवा दिएको दाहालले जानकारी दिनुभयो । अन्य क्षेत्रमा पनि सेवा विस्तारको कामलाई तीव्र बनाइने उहाँले जानकारी दिए ।

अहिले ३३ डिपबोरिङमार्फत जनतालाई सेवा दिँदै आएको बोर्डले जमीनमुनि १०० मिटर तलबाट पानी तानेर प्रशोधन गरी पिउन योग्य बनाउँदै आएको छ । अहिले दैनिक दुई करोड पाँच लाख लिटर पानी प्रशोधन भई वितरण गरिँदै आएको छ । जसमध्ये २५ प्रतिशत चुहावट हुने गरेको र अन्य सेवाग्राहीले प्रयोग गर्ने गरेको बोर्डले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width