विजयपुरमा वैकल्पिक पुल शिलान्यास

आदर्श समाज सम्वाददाता
वैशाख २६, २०७६
bijay pur_Fotor

लेखनाथ, २५ वैशाख। पोखराको मुख्य प्रवेश नाका विजयपुर पुल जीर्ण हुँदा जनताले भोग्नुपरेको समस्या अब एक वर्षभित्र समाधान हुने भएको छ। आठ वर्षअघि निर्मित पुल कमजोर हुँदा डाइभर्सन गरी सवारी आवतजावत गरिँदा यतिखेर यात्रु वर्गले दुःख पाएका छन्।

पोखरा– १४ र साविक लेखनाथ वडा २६ को सीमाना सक्नेरीस्थित डहरेको साघुले चिनिने विजयपुर खोलामाथि करिब एक करोड २० लाखको लागतमा वैकल्पिक पक्की पुल बनाउन लागिएको हो।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्वा गुरुङले बुधबार पुल शिलान्यास गरेका हुन्। गुरुङले विकासको आधार भनेको विद्यालय, खानेपानी, बाटो र पुल भएकाले कुरामा नभै ब्यवहारमा विकास गरेर देखाउने बताए।

गत वर्ष कानून बनाउन समय बितेकोमा अबका वर्ष विकासका वर्ष हुने भन्दै्र उनले विकास कार्यमा एकताबद्ध भएर लाग्न सबैमा अनुरोध गरेका थिए।

प्रतिनिधिसभा सदस्य खगराज अधिकारीले पोखरालाई पर्यटकीय राजधानी बनाउन बाटो, पक्की पुलको निर्माणले यस क्षेत्रका वासिन्दाको जीवनस्तरमा वृद्धि हुने बताए।

वरिष्ठ उद्योगपति समेत रहेका प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीले पुल निर्माण समयमै पूरामा विश्वास व्यक्त गरे।

कार्यक्रममा गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री रामशरण बस्नेतले गाउँको विकास गर्नका लागि नै संघीयता ल्याएको बताउँदै गण्डकी प्रदेशलाई समृद्ध बनाइछाड्ने अठोटका साथ प्रदेश सरकारले काम गरिरहेको बताए।

गण्डकी प्रदेश सदस्य एवं विकास समितिका सभापति दीपक कोइराला, गण्डकी प्रदेश सदस्य मनबहादुर गुरुङ, जिल्ला समन्वय समिति कास्की प्रमुख बैनबहादुर अधिकारी, वडा १४ का वडा अध्यक्ष प्रेमबहादुर कार्की लगायतले पुल निर्माणपछि स्थानीय र विदेशी पर्यटकलाई समेत टेवा पुग्ने बताए।

वडा २६ का वडाध्यक्ष नारायणप्रसाद बरालको अध्यक्षतामा भएको सो कार्यक्रममा स्वागत रामज्योति मावि विद्यालय व्यवस्थापन समिति अध्यक्ष रंगनाथ तिमिल्सेना र संचालन भगवती हाइड्रोपावरका निर्देशक वसन्तमोहन भट्टराईले गरेका थिए।

नेपाल सरकारको मापदण्ड अनुरुप निर्माण हुने पुलको लम्बाइ २५ मिटर, ८.४ मि. चौडाइ रहने छ। पुल निर्माण जिम्मा स्मार्ट सिभिल कन्ट्रक्सन जेभिले पाएको छ। पुल निर्माणले पोखरा वडा २६ र १४ जोड्ने छ। पुल बन्ने भएपछि यस क्षेत्रका वासिन्दामा खुसी छाएको छ।

Related News

सम्बन्धित समाचार

hero news full width