रतनपाण्डेको ६२ औं वार्षिकोत्सव

चन्दादाताको भव्य सम्मान

आदर्श समाज सम्वाददाता
वैशाख २६, २०७६
ratan (6)_Fotor

रतनपाण्डे माविको ६२ औं वार्षिकोत्सव अवसरमा पूर्व स्वास्थ्य मन्त्री एवं प्रतिनिधिसभा सदस्य खगराज अधिकारी र वडाध्यक्ष दर्शन लामाले विद्यालयमा सहयोग गर्ने चन्दादातालाई सम्मान गर्दै। तस्वीर : विजय नेपाल/आदर्श समाज

पोखरा, २५ वैशाख। रतनपाण्डे मावि पोखरा– १३ आर्वाको ६२ औं वार्षिकोत्सव, अभिभावक दिवस बुधवार सम्पन्न भयो। सो अवसरमा चन्दादाताको सम्मान तथा पुरस्कार वितरण गरियो।

प्रमुख अतिथि पूर्व स्वास्थ्य मन्त्री एवं प्रतिनिधिसभा सदस्य खगराज अधिकारीले समारोह उद्घाटन गर्दै समय परिवर्तनसँगै विज्ञान र प्रविधिसँग जोडिएका विषय पढाउनुपर्नेमा जोड दिए। उनले पछिल्लो समय रतनपाण्डेको मुहार फेरिएकोमा खुसी व्यक्त गर्दै नेपाली माटोमै श्रम र सीप खर्चिने ज्ञान सिकाउन गुरुवर्गलाई सुझाव दिए। उनले राजनीतिक विवादले शिक्षाक्षेत्र बिगार्न नहुने भन्दै देश बनाउने अभियानमा लाग्नुपर्ने बताए। उनले अब पूर्वाधार विकासमा जोड दिने संकल्पमा लाग्न सम्पूर्णलाई आग्रह गरे।

गण्डकी प्रदेशबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदहरुको एउटै माग पोखरा विमानस्थल निर्माण समयमै निर्माण पूरा गर्न, पोखरामा रिङरोड निर्माण, लामेअहालमा प्रदेशस्तरको बसपार्क, मध्यपहाडी लोकमार्गलाई भलाम हुँदै लैजाने लगायत बृहत् योजना लिएर अघि बढेको जानकारी दिए।

वडाध्यक्ष लेकबहादुर तामाङ (दर्शन लामा) ले पोखरा– १३ नमुना बन्ने अभियानमा अघि बढेको बताए। उनले वडाभरि एउटै शैक्षिक क्यालेण्डर, एउटै प्रश्नपत्र सहितको वार्षिक ४ वटा परीक्षा संचालन हुने बताए। उनले भौतिक पूर्वाधार विकाससँगै अब रतनपाण्डेले गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने सुझाव दिए। उनले अबको २ वर्षभित्र गुणस्तरीय रिजल्टको अपेक्षा गरेको बताए।

सो अवसरमा विद्यालयको शैक्षिक, भौतिक तथा व्यवस्थापकीय विकासका लागि नगद सहयोग गर्ने चन्दादातालाई दोसल्ला ओढाउँदै सम्मानपत्र प्रदान गरिएको थियो। सबैभन्दा बढी ३ लाख ३ हजार ३ सय ३३ दान दिने कृष्णकुमारी बराल र उनका पति कृष्णराज बराललाई प्रमुख अतिथि अधिकारीले सम्मान गरे। कृष्णकुमारी विद्यालय व्यवस्थापन समिति सदस्य तथा कृष्णराज विद्यालयका पूर्व शिक्षक हुन्।

यस्तै २ लाख चन्दा दिने सिर्जनाचोक निवासी विष्णु भण्डारी, १ लाख ५ हजार दिने आर्वाका नमराज बराल, आर्वा निवासी स्व. तुलसीदेवी बरालका तर्फबाट १ लाख ११ हजार १ सय ११ दिने उनका परिवार, १ लाख १ हजार १ सय ११ दिने राजु सुनार, १ लाख बढी दिने दिवाकर बराल र उनका बाबु कृष्णप्रसाद बराल लगायत करिब २ सय जना संघसंस्था तथा व्यक्ति विशेषलाई सम्मान गरियो। हालसम्म करिब २० लाख रुपैयाँ संकलन भैसकेको चन्दा अभियान आगामी दसैँसम्म चल्ने विद्यालय व्यवस्थापन समिति अध्यक्ष बसन्तराज बरालले जानकारी दिए।

विद्यालयको हितको लागि भन्दै यतिखेर आर्वावासी, शुभचिन्तक लागिपरेका छन्। विद्यालयले हालैमात्र बस सुविधा दिएपछि विद्यार्थीको संख्या समेत बढ्दो छ। २ वर्षअघि ७२ विद्यार्थी रहेकोमा हाल बढेर ३ सय १० जना पुगेको विद्यालय प्रअ डिल्लीराम बरालले जानकारी दिए। सोही अवसरमा विद्यालयले संचालन गरेको स्कूल बस प्रमुख अतिथि अधिकारीले रिवन काटेर उद्घाटन गरेका थिए।

कार्यक्रममा विद्यालय प्रअ डिल्लीराम बरालले शैक्षिक सत्र २०७५/०७६ को वार्षिक प्रगति प्रतिवेदन र आगामी शैक्षिक सत्रको अनुमानित बजेट तथा योजना प्रस्तुत गरे। उनले सामुदायिक विद्यालयको दह्रिलो आधार श्रोत भनेको सचेत अभिभावक, अनुशासित विद्यार्थी, प्रतिबद्ध र समर्पित शिक्षक हुन् भने। उनले विद्यालयको दीगो श्रोतको पहिचान गर्ने, सूचनामैत्री र प्रविधियुक्त शिक्षामा जोड दिने, कम्प्युटरमा सफ्टवेयरबाट लेखाप्रणाली चुस्त दुरुस्त पार्ने, आगामी शैक्षिक सत्रमा थप १ सय विद्यार्थी थप गर्ने योजना रहेको बताए। उनले यसै वर्षदेखि कक्षा ११ मा व्यवस्थापन विषय पढाइ हुने बताए।

कार्यक्रममा भूपू विद्यार्थी मञ्च अध्यक्ष श्रीनाथ बराल,आजीवन सल्लाहकार एवं नापी विभाग पूर्व महानिर्देशक तोयनाथ बराल, शिक्षक महासंघ कास्कीका सहअध्यक्ष महेन्द्रमणि पौडेल, भद्रकाली मावि प्रअ घनश्याम रिजाल लगायतले रतनपाण्डे वडा १३ कै नमूना विद्यालय अभियानमा अघि बढेको बताए।

सो अवसरमा वर्ष शिक्षकबाट सुनिता बराल, वर्ष अभिभावक विष्णुमाया पौडेल बराल, वर्ष विद्यार्थी वीनिता भुजेल र एसइई उत्कृष्टतर्फ संगम सुनारलाई सम्मान गरियो भने कक्षा नर्सरीदेखि १० सम्म कक्षागत प्रथम, दोस्रो र तेस्रो हुने विद्यार्थीलाई पुरस्कृत गरियो। उनीहरुलाई प्रमुख अतिथि पूर्व मन्त्री खगराज अधिकारी, वडाध्यक्ष दर्शन लामा, वडा सदस्य कमला सुनार, विद्यालय आजीवन सदस्य तोयनाथ बराल, विद्यालय व्यवस्थापन समिति अध्यक्ष बसन्तराज बराल, विद्यालय व्यवस्थापन समिति सदस्य विनोद बराल, प्रअ डिल्लीराम बराल, चन्दादाता कृष्ण्कुमारी र कृष्णराज बराल, विष्णु भण्डारी लगायतले सम्मान गरे।

विभिन्न व्यक्तिले विद्यालयमा स्थापना गरेको अक्षकोषबाट विभिन्न नाममा विद्यार्थीलाई पुरस्कार तथा छात्रवृत्ति वितरण गरियो भने सञ्चार क्षेत्रबाट विद्यालयको विकासमा सघाउ पुर्याएकोमा पत्रकार विजय नेपाललाई सम्मान गरियो।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष वसन्तराज बरालको अध्यक्षतामा भएको कार्यक्रमको संचालन शिक्षिकाद्वय विष्णु आचार्य र राधा बरालले गरेका थिए। शिक्षक मीन केसी र विद्यार्थी तर्फबाट आशिका सापकोटाले स्वागत मन्तव्य व्यक्त गरे। सो अवसरमा विद्यार्थीले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए। विद्यालय २०१४ सालमा स्थापना भएको हो। विद्यालयमा हाल २० जना शिक्षक छन्। प्रअ डिल्लीराम बरालको नेतृत्वसँगै पछिल्लो समय विद्यालयले मुहार फेरेको शिक्षिका नारायणी बरालले बताइन्।

Related News

सम्बन्धित समाचार

  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…
  • दरौंखोला समाजको भित्तेपात्रो

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा दरौंखोला सामीप्य समाजको भित्तेपात्रो विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान शनिबार पोखरामा गरिएको छ । स्याङ्जाको दरौंखोला आसपासबाट पोखरामा…
  • भुलभुला देवीमा ट्रस्ट भवन उद्घाटन

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । पोखरा ३३ पुडिटारस्थित भुलभुला देवी मन्दिरको परिसरमा निर्मित ट्रस्ट भवन एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । पोखरा ३३…
  • छोरेपाटन भूपू विद्यार्थीबीच शुभकामना

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । छोरेपाटन मावि भूतपूर्व विद्यार्थी मञ्चले नयाँ वर्षको अवसर पारेर शुभकामना आदानप्रदान गरेको छ । छोरेपाटन मावि विद्यालय व्यवस्थापन…

hero news full width