बालश्रम र विवाह न्यूनीकरण गर्न सचेत बन्दै नागरिक

रासस
वैशाख २५, २०७६
Save-Our-childern-Nepal-980×600

दाङ, २५ वैशाख । बालविवाह न्यूनीकरण तथा बालश्रम अन्त्य गर्न दाङको तुलसीपुर उपमहानगरपालिकाले थालेको अभियान प्रभावकारी बन्दै गएको छ । तुलसीपुर उपमहानगरपालिकालाई बालमैत्री नगर निर्माणका लागि अभियानको थालनीपछि बालविवाह तथा बालश्रममा न्यूनीकरण आएको पाइएको छ ।

तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख माया आचार्य, महिला तथा बालबालिका शाखा संयोजक नवराज लामिछाने, महिला शाखा प्रमुख माया श्रेष्ठलगायतको टोलीले अनुगमन गर्दा यस्तो भेटिएको हो ।

तुलसीपुरको सबैभन्दा बढी बालश्रमिक र बालविवाह गर्ने गरेको तुलसीपुरको वडा नं ४, ७ , १०, ११ तथा साविक उरहरी, टरिगाउँ र हलवार गाविस हुने गरेको भए पनि पछिल्लो समय त्यहाँका नागरिक सचेत बनेको उपमहानगरपालिकाका उपप्रमुख माया आचार्यले बताए । “साविकको टरिगाउँ, उरहरी र हलवार बालविवाह र बालश्रम बढी हुने गरेका गाविस थिए, यिनैलाई लक्षित गरी विभिन्न सङ्घसंस्थाको सहकार्यमा कार्यक्रम सञ्चालन ग¥यौँ”, उनले भने । “यी कार्यक्रम सञ्चालनपछि अहिले बालश्रम र बालविवाह गराउनु हुन्न भन्नेमा अभिभावकहरु सहमत देखिएका छन ।”

तुलसीपुर उपमहानगरपालिका र सिबिसको आर्थिक सहयोगमा नवजागरण महिला तथा बाल संरक्षण केन्द्र (न्युसिपिसी)ले बालविवाह न्यूनीकरण र बालश्रम अन्त्यका लागि कार्यक्रम सञ्चालन गरिरहेको तुलसीपुर उपमहानगर महिला तथा बाल संरक्षण केन्द्रका संयोजक नवराज लामिछानेले बताए ।

बालविवाहले पार्ने असरका बारेमा सबै नागरिक सचेत भइसकेको तुलसीपुर उपमहानगर महिला शाखा प्रमुख माया श्रेष्ठले बताए । उनले भने “बालविवाह गर्दा गर्भवती किशोरीको मृत्यु नै हुनसक्छ भन्ने चेतना भएपछि यस्तो कार्य रोकिएको छ ।”
अहिले बालविवाह तथा बालश्रम अन्त्यका लागि तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेको पत्र, पर्चा पम्पलेट वितरण गर्नुका साथै सडक नाटक प्रस्तुत गर्ने गरिएको न्युसिपिसीका कार्यक्रम संयोजक सन्तोष चनाराले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width