Worldlink ads

सरकारले पूरा हुने सपना देखेको छ : प्रधानमन्त्री

आदर्श समाज सम्वाददाता
वैशाख २५, २०७६
kpoli

काठमाडौँ, २४ वैशाख। प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले पूरा हुने र गर्न सकिने खालको सपना देखेको बताएका छन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदले आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममाथि उठाएका प्रश्नको जवाफ दिँदै उनले भने, “सरकारले जागै हुँदा देख्ने सपनाको कुरा गरेको हो। देश बनाउने अठोटको सपना देखेको हो। ”

प्रधानमन्त्रीले राति देख्ने सपना नभई देश बनाउने र भविष्य बनाउने सपनाको कुरा वर्तमान सरकारले गरेको उल्लेख गरे। प्रधानमन्त्रीले भने, “एक वर्षका लागि के गर्न सकिन्छ, त्यसपछिका वर्षमा के गर्न सकिन्छ, कहाँ पुग्न सकिन्छ भन्ने सपना हो, दिगो विकास लक्ष्य गर्ने सपना हो, संयुक्त राष्ट्र संघले देखेको सपना हो, यो सपना राति देखेको सपना होइन। पूरा हुने सपना हो। ”

आगामी आवका लागि प्रस्तुत नीति तथा कार्यक्रमले लोकतन्त्रलाई व्यापक अर्थमा अगाडि बढाउने स्पष्ट पार्दै उनले कार्यक्रमले आगामी पाँच वर्ष, दश वर्ष र पच्चीस वर्षपछि कसरी जाने भन्ने स्पष्ट दृटिकोण राखेको बताए।

संविधानले सामाजिक न्याय र समानताको परिकल्पना गरेको र सोही परिकल्पना पूरा गर्न नीति कार्यक्रम ल्याइएको उनको भनाइ थियो। “सामाजिक रुपमा रहेको कमजोरी, पछौटेपन हटाउने काम गरिएको छ। त्यसका निम्ति अनेक प्रकारको साम्प्रदायिक क्षेत्रीय सङ्कीर्णता नभई व्यापक सामाजिक न्याय र समानतामा आधारित सामाजिक न्यायको जगमा उठेको राष्ट्रिय एकता र सबै मिलेर राष्ट्रलाई एक बनाउने विषयलाई नीति कार्यक्रमले लिएको छ”, उनले भने।

राष्ट्र निर्माण र समृद्धिका लागि शिक्षा र स्वास्थ्यका क्षेत्रमा नीति कार्यक्रमले जोड दिएको बताउँदै उनले सुशासन र भ्रष्टाचार नियन्त्रण विकासका निम्ति अपरिहार्य आवश्यकता रुपमा रहेको उल्लेख गर्दै नीति कार्यक्रमका बारेमा अन्योलमा पर्नुपर्ने अवस्था नरहेको स्पष्ट गरे।

कृषिको आधुनिकीकरण र व्यवसायीकरण गरी कृषि क्षेत्रमा अल्झेको जनसङ्ख्यालाई अन्य काममा लगाउन सकिने सम्भावना रहेको उल्लेख गर्दै उनले कृषि उत्पादन र उत्पादकत्वको वृद्धि र प्राङ्गारिक कृषि खेतीतर्फ जोड दिइएको बताए। कृषिलाई व्यवस्थित र योजनबद्ध ढङ्गले अघि बढाउन गरेको सरकारको प्रयासका कारण यस वर्ष समग्र कृषि क्षेत्र ६ प्रतिशतले बढ्ने देखिएको प्रधानमन्त्रीले जानकारी दिए।

प्रधानमन्त्रीले जन्मसिद्ध श्रेष्ठताको विषय ग्राह्य र गरिमा हुने तर जनताद्वारा निर्वाचित संस्था निकायको मान्यता नहुने वा तिनको गरिमा नहुने प्रकारको मानसिकता त्याग्न आग्रह गरे। प्रधानमन्त्रीले भने, “जनतादारा निर्वाचित जनप्रतिनिधिमा जुन गरिमा छ, स्वघोषितमा त्यस्तो गरिमा हुँदैन, जननिर्वाचित प्रणाली हामीले लडेर ल्याएका हौँ, जनता सार्वभौमसत्ता सम्पन्न हुने प्रणाली हामीले ल्याएका हौ।

राष्ट्रपतिले ‘मेरो सरकार’ भनेकामा कुनै आश्चर्य नमान्न आग्रह गर्दै उनले राष्ट्र प्रमुखले त्यसो भन्नु अन्तराष्ट्रिय अभ्यास भएको प्रष्ट्याए। प्रतिपक्षी दलका नेताले नीति कार्यक्रमको छलफलमा ‘बेलायती महारानीको जस्तो’ भन्दै राष्ट्रपतिमाथि गरेको टिप्पणी कूटनीतिक रुपमा समेत राम्रो नभएको उल्लेख गर्दै उनले यसले नेपालको विकास साझेदार मुलुकको भावनामा चोट पुर्याएको बताए।

राष्ट्रपति जस्तो संस्थालाई विवादमा ल्याउन नहुनेमा जोड दिँदै प्रधानमन्त्रीले भने, “राष्ट्रपति राज्य व्यवस्थाको सवोर्च्च सम्मानित संस्था हो, त्यो संस्था साझा हुन्छ, कुन पार्टीले सरकारले नेतृत्व गरेको छ भन्ने फरक विषय हो, राष्ट्रपतिले ‘मेरो सरकार’ भन्नु कुनै भुल होइन। राष्ट्रप्रमुखले आफूमातहतका सरकारलाई मेरो सरकार भन्नुमा अलमलिनु हुँदैन। ” वर्तमान सरकारलाई प्रतिपक्षले पनि आफ्नै सरकार भने हुने प्रधानमन्त्रीको भनाइ थियो।

प्रधानमन्त्रीले आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन हुने पनि बताए। संविधान असंशोधनीय दस्तावेज नभएकाले औचित्य र आवश्यकताका आधारमा देशको हितलाई केन्द्रमा राखेर संशोधन गरिने स्पष्ट परे।

त्यसैगरी, कम्युनिष्ट सिद्धान्तलाई गरीबीको वितरण हो भनेर भन्ने गरिए पनि त्यस्तो प्रचार गनेर्हरू कमजोर भएको बताउँदै उनले समृद्धि र आर्थिक विकासको मार्गमा समेत देशलाई अगाडि बढाउने सङ्कल्प लिएको स्पष्ट गरे। प्रधानमन्त्रीले भने, “कोही पनि नेपाली पछाडि पर्नुहुँदैन, सबै पक्ष, सबै ठाउँमा पुगेको पूर्ण लोकतन्त्र भन्दा चित्त दुखाउनुपर्ने ठाउँ छैन। सबैका लागि लोकतन्त्र भन्दा तानाशाहीकरण गर्न खोजेको भनेर शङ्का नगर्न आग्रह गर्दछु। ”

अतिकम विकसित मुलुकको स्तरबाट मुक्त हुने र मध्यमस्तरको आय भएको मुलुकका रुपमा अघि बढ्ने, दीर्घकालीन योजना र दिगो विकास लक्ष्य हासिल गरेर अघि बढ्ने तथा यो शताब्दीको अन्त्यसम्म गर्नुपर्ने कामका सम्बन्धमा निश्चित लक्ष्य लिएर सरकार अघि बढ्न खोजेको उनको भनाइ थियो। बढ्दो व्यापार घाटा न्यूनीकरण गर्न सरकार सजग रहेको प्रष्टोक्ति दिँदै उनले आयात प्रतिस्थापन गर्न उत्पादन वृद्धिमा ध्यान दिइएको बताए। लगानी गर्दा उत्पादन र रोजगारी वृद्धि, आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्न नीति कार्यक्रमले दिशानिदेर्श गरेको प्रधानमन्त्रीको कथन थियो।

सरकार सार्वजनिक सम्पत्तिको संरक्षण गर्न दत्तचित्त भएर लागेको स्पष्ट पार्दै प्रधानमन्त्रीले भने, “यो सरकार बनेपछि खुलामञ्च मासेको हो र? खुलामञ्च त अगाडि नै मासिएको थियो, अहिले खुलामञ्चलाई फिर्ता ल्याइएको छ। बालुवाटारको जग्गा अहिले मासिएको हो र? भएको जग्गा खोजिएको छ, वाइडबडी तथा विभिन्न घोटालाको पनि हाल छानबीन भइरहेको छ। ”

प्रधानमन्त्रीले सुन तस्करीको सञ्जाल नष्ट गर्दै त्यसमा संलग्नलाई नियन्त्रणमा लिइएपछि सुन तस्करी बन्द भएको बताए। उनले भने, “सरकारले सुन तस्करीको प्वाल टाल्यो, तस्करीमा संलग्न समातिएर जेलमा छन्। ”

अनुपयोगी ढङ्गले रहेको सार्वजनिक जमीनको सदुपयोग गर्न सरकार अघि बढेको प्रष्टोक्ति दिँदै प्रधानमन्त्रीले आवश्यकतानुसार सार्वजनिक सम्पत्तिको सदुपयोग गर्न लागिएको बताए।

महिलामाथि कुनै प्रकारको हिंसा हुन नदिइने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्रीले महिलामाथि हिंसा भएमा पीडकमाथि कडा कानूनी कारवाही गरिने बताए। महिलाको सशक्तीकरणका लागि थुप्रै कार्यक्रम ल्याइएको जानकारी दिँदै उनले महिलाको समस्याका रुपमा रहेको स्तन क्यान्सरको निःशुल्क परीक्षण गर्न सक्ने व्यवस्था मिलाइएको बताए। उनले भने, “सबै सामुदायिक विद्यालयमा निःशुल्क सेनेटरी प्याड वितरण, महिला उद्यमीको क्षमता वृद्धि, सम्पत्तिको अधिकार बढाउन विविध कार्यक्रम ल्याइएको छ। ”

पूर्वाधार, कृषिको विकास, विद्युतीकरण र पर्यटनको विकास गर्नु नीति कार्यक्रमको प्राथमिकता रहेको दोहोर्याउँदै उनले डिजिटल नेपाल र साक्षर नेपाललाई सार्थक बनाउन सरकार क्रियाशील रहेको बताए।

नेपालमा अब निरपेक्ष गरीबी एक दुई वर्षभन्दा अगाडि नजाने जिकिर गर्दै उनले भने, “अब कोही भोकै मर्दैन, भोकै पर्दैन, आवासविहीन हुँदैन, आधारभूत शिक्षा निःशुल्क र खाजाको समेत व्यवस्था गरेका छौँ। स्वाथ्य बीमा कार्यक्रम ल्याइएको छ। ” सडकमा अलपत्र बेसहारा, अशक्त, अपाङ्गता भएका व्यक्तिको सरकारले संरक्षण गर्ने उनको भनाइ थियो।

नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको प्रस्तुत गरेको आगामी आवको नीति तथा कार्यक्रमले जनतको भावना र चाहनालाई अधिकतम सम्बोधन गरेको बताए। उनले एकवर्ष अवधिको कामलाई समावेश गरिएको नीति तथा कार्यक्रमले जनताको आधारभूत आवश्यकताका अधिकतम विषयवस्तु समेटिएकामा सरकारलाई धन्यवाद ज्ञापन गरे।

उनले नीति तथा कार्यक्रमलाई दृढ समर्थन गर्दै सोको पक्षमा मतदान गर्न आग्रह समेत गरे। गत आवको भन्दा अहिलेको नीति कार्यक्रम व्यवस्थित ढङ्गबाट आएको उल्लेख गर्दै उनले भने, “जनताको भावना र चाहनालाई सम्बोधन गर्न अधिकतम् प्रयास गर्ने कोशिस भएको छ। म सरकारलाई धन्यवाद दिन चाहन्छु। ”

नीति कार्यक्रम गत सालको भन्दा गुणात्मक रुपले नयाँस्तरमा उठ्न खोजेको महसुस आफूले गरेको उल्लेख गर्दै अध्यक्ष दाहालले प्रतिपक्षले पनि गत सालको तुलनामा तयारीका साथ लिखित रुपमा आफ्ना धारणा राखी बहसलाई नयाँ स्तर प्रदान गरेको बताए।

सरकार शान्ति प्रक्रियाको बाँकी काम सम्पन्न गर्न लागिपरेको जानकारी दिँदै उनले सत्ता पक्ष र प्रतिपक्ष शान्ति प्रक्रियाका बाँकी कामलाई अन्तिम निष्कर्षमा पुर्याउन प्रतिबद्ध रहेको बताए।

उनले भने, “अहिले सत्ता पक्ष र प्रतिपक्ष तथा सबै राजनीतिक शक्ति सीमाभन्दा बाहिर गएर एकअर्कालाई निषेधात्मक गर्ने छुट हामीलाई छैन्। ”

अध्यक्ष दाहालले नेपालको वैदेशिक सम्बन्धलाई सन्तुलित र व्यवस्थित गर्न देखिएका चुनौती हल गर्न नयाँ सरकार निर्माण भएपछि छिमेकीसँगको सम्बन्धलाई सन्तुलित बनाउने, नेपालको राष्ट्रिय हित अनुकूल, विकास प्रयासअनुसार अघि बढाउने प्रयन्त भएको बताए। उनले भने, “भारतसँग भएको थुप्रै सहमति, सिमाना, हवाई प्रवेश बिन्दु, रेल, हुलाकी मार्ग निर्माणको सहमति दूगरगामी महत्वका छन्, यसले विकासको आधार तय गरेको छ।

Related News

सम्बन्धित समाचार

    • विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रलाई कोरोना

      आदर्श समाज सम्वाददाता माघ ३, २०७८
      पोखरा । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई कोरोना संक्रमण भएको छ । मिश्रले आफूलाई पनि कोरोना संक्रमण भएको सामाजिक…
    • एक्यापसँग निरीह तल्ला सरकार

      आदर्श समाज सम्वाददाता माघ ३, २०७८
      पोखरा। कास्कीको मादी गाउँपालिकाले आफ्नो क्षेत्रबाट अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) हटाइदिन संघ सरकारसँग आग्रह गरेको छ । विकासमा साझेदारी…
    • पत्रकार नारदजस्तो तटस्थ र निर्भीक हुनुपर्छः बास्तोला

      आदर्श समाज सम्वाददाता माघ १, २०७८
      कपिलबस्तु । स्वतन्त्र पत्रकार संघ नेपालका संस्थापक अध्यक्ष कृष्णप्रसाद बास्तोलाले पत्रकार नारदजस्तो हुन सक्नु पर्ने बताएका छन् । उनले स्वतन्त्र…
    • नेपाली नर्स लैजान बेलायत तयार

      रासस माघ १, २०७८
      पोखरा । नेपाल र बेलायतबीच श्रम सम्बन्ध कायम गर्ने विषयमा दुई देशका अधिकारी सहमत भएका छन्। दुवै देशका अधिकारीबीच शुक्रबार…
    • नरभक्षी बाघ नियन्त्रणका लागि टोली परिचालन   

      आदर्श समाज सम्वाददाता पौष ३०, २०७८
      नवलपुर। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा बाघको आक्रमण बढ्दै गएपछि सो बाघको अनुगमन र नियन्त्रणका लागि टोली खटिएको छ । जिल्लाको विनयी त्रिवेणी…

    hero news full width