लुम्बिनी भ्रमण वर्ष तयारी, गण्डकी प्रदेशलाई निम्तो

आदर्श समाज सम्वाददाता
वैशाख २५, २०७६
lumbini visit_Fotor

पोखरा, २४ वैशाख। प्रदेश ५ सरकारले लुम्बिनी भ्रमण वर्ष–२०७६ अवसरमा गण्डकी प्रदेशवासीलाई निम्तो दिएको छ। ‘बुद्ध जन्मस्थल लुम्बिनी जाऔं, शान्तिको सन्देश फैलाऔं’ भन्ने नारासहित आगामी बुद्धपूर्णिमादेखि लुम्बिनी भ्रमण वर्ष शुरु हुँदैछ।

गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालको उपस्थितिमा यहाँका पर्यटन व्यवसायीबीच मंगलबार भएको पत्रकार सम्मेलनमा प्रदेश ५ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले भ्रमण वर्षको निम्तो दिएको हो।

प्रदेश ५ का पर्यटन मन्त्रालयका सचिव धनञ्जय पौडेलले गण्डकी प्रदेश पर्यटनको राजधानी भएकाले निम्तो दिन आएको बताए। उनले विश्वभरिका डेढ अर्ब बौद्धमार्गीहरुको मुख्य तीर्थस्थल लुम्बिनी क्षेत्रलाई थप प्रबद्र्धन गर्ने उद्देश्यसहित भ्रमण वर्ष घोषणा गरिएको जानकारी दिए।

गण्डकी प्रदेशका पर्यटकीयस्थलमा आउने पर्यटक लुम्बिनी पुर्याउने र लुम्बिनी आएका पर्यटक गण्डकी प्रदेशको पर्यटकीयस्थल घुम्ने वातावरण बनाउन प्रदेश–प्रदेशबीच सहकार्य र समन्वयका लागि पनि सो अभियान शुरु गरेको पौडेलले बताए।

पौडेलले लुम्बिनी क्षेत्रलाई केन्द्रमा राखेर प्रदेश ५ को महत्वपूर्ण पर्यटकीय गन्तब्य प्रचारप्रसार गर्ने लक्ष्यसहित भ्रमण वर्ष मनाउन लागेको बताए। नेपाल घुम्न आउने पर्यटकको संख्या २५ लाख पुर्याउने उद्देश्य सहित प्रदेश ५ सरकारले २०७६ साललाई लुम्बिनी भ्रमण वर्ष मनाउँदैछ।

‘नेपाल सरकारले सन् २०२० लाई भिजिट नेपाल वर्षको रुपमा मनाउदैछ,’ उनले भने, ‘हाम्रो लक्ष्य भनेको यसका लागि प्रशस्त आधारहरु निर्माण गर्ने हो। ‘कार्यक्रम लुम्बिनी क्षेत्रमा मात्र होइन, प्रदेशको अन्य पर्यटकीय ठाउँहरुमा पनि गर्ने छौ, पौडेलले भने, ‘जसले गर्दा सिंगो प्रदेश ५ नै पर्यटकीय गन्तब्य बन्न सकोस्। ’

बुद्धको जन्मभूमि रुपन्देहीको लुम्बिनी, क्रीडास्थल कपिलवस्तुको तिलौराकोट, मावली तथा ससुराली रुपन्देहीको देवदह, बुद्धको अस्तुधातु रहेको नवलपरासीको रामग्राम, बुद्धस्थल गोटिहवा, सगरहवा, कुदान, अरौराकोट, सिसहनिया लगायत पर्यटकीयस्थललाई थप पूर्वाधारसहित पर्यटकको गन्तव्य बनाइनेछ। आगामी जेठ ४ गते बुद्धजयन्तीदेखि अर्को वर्षको चैत शुक्लपूर्णिमासम्म भ्रमण वर्षको रुपमा मनाइने कार्यक्रम छ।

भ्रमण वर्षको शुभारम्भसँगै मायादेवी प्रसूती उत्सव, लुम्बिनी फूड फेष्टिबल, सडक प्रदर्शनी, मायादेवी मन्दिर परिसरमा दैनिक दीप प्रज्ज्वलन, मासिक फूल मुन डे उत्सव, धार्मिक यात्रा तथा त्रिपिटक वाचन लगायत कार्यक्रमहरु तय गरिएको छ।

Related News

सम्बन्धित समाचार

hero news full width