पिताको स्मृतिमा विद्यालय भवन निर्माण

रासस
वैशाख २३, २०७६
download

बलेवा, २३ वैशाख । बागलुङ जिल्लाको अमलाचौरका दुई व्यवसायीले आफैँले अध्ययन गरेको विद्यालयमा आफ्ना बाबुको स्मृतिमा रु छ करोड खर्चेर पक्की विद्यालय भवन निर्माण गरेका छन् ।

देशकै प्रतिष्ठित आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र उनका भाइ हेमराज ढकालले बागलुङ नगरपालिका–१२ को अमलाचौरमा रहेको पृथ्वी हीरण्य माध्यमिक विद्यालयमा करीब रु छ करोड २४ लाख खर्चेर विद्यालय भवन निर्माण गरेका हुन् । उनका बुबा स्व समाजसेवी हीरण्यप्रसाद ढकालको स्मृतिमा अत्याधुनिक १४ कोठे भवन निर्माण भएको छ ।

दुई तले भवन निर्माणका लागि रु पाँच करोड २८ लाख र विद्यालय पसिरसमा पर्खाल, खेल मैदानलगायतका संरचना निर्माणको लागि बाँकी रकम खर्चेको विद्यालयका प्रधानाध्यापक प्रेमप्रसाद चापागाईंले बताए । भवनसँगै चारकोठे शौचालयसमेत निर्माण गरिएको छ । सुविधा सम्पन्न भवन निर्माणपछि शैक्षिक क्रियाकलाप सञ्चालनमा सहज भएको उनले बताए । तीन वर्ष पहिले निर्माण थालिएको भवन यसै महीना निर्माण सम्पन्न भएको हो ।

विद्यालय भवनको हस्तान्तरण सोमबार एक कार्यक्रमका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नेछन । भवन हस्तान्तरणको लागि आज राष्ट्रपति बागलुङ आउने कार्यक्रम तय भएको बागलुङ नगरपालिका–१२ का वडाध्यक्ष गुरुदत्त पाठकले जानकारी दिए ।

सोही विद्यालयका विद्यार्थीको सक्रियतामा स्थापना गरिएको मल्टिमिडिया सेन्टरको उद्घाटन गर्ने कार्यक्रम पनि तय भएको विद्यालयले जनाएको छ । कार्यक्रममा राष्ट्रियसभाका सदस्य तथा सत्तारुढ दलका नेता दीनानाथ शर्मा, सांसदद्वय डा सूर्य पाठक र देवेन्द्र पौडेललगायत पनि सहभागि हुनुहुने कार्यक्रम रहेको छ ।

सांसद डा पाठकका अनुसार राष्ट्रपति भण्डारीले सोही दिन अमलाचौरस्थित भैरव मन्दिरको दर्शन गर्ने कार्यक्रम छ । यसैबीच, अमलाचौर स्कूल ‘अलुमनाइ’का अध्यक्ष डा हेमराज शर्माले पूर्वविद्यार्थी तथा गैरआवासीय नेपालीबाट सङ्कलित रु ५० लाखको अक्षयकोषको चेक राष्ट्रपति भण्डारीको उपस्थितिमा विद्यालयलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width