विद्यार्थीलाई शैक्षिक सामाग्री

एजेन्सी
वैशाख २२, २०७६
BasudevPaudel_RSS_Pokhara+_helpforstudent1

पोखरा, २२ वैशाख । बाबा फाउण्डेशन नेपालले यस वर्ष सामुदायिक विद्यालयका करीब पाँच सय जना गरीब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने भएको छ ।

‘वातावरणमैत्री र बालमैत्रीका लागि बाबा फाउण्डेशनको अभियान’ भन्ने नाराका साथ यस शैक्षिक वर्षको शुरुमा नै गण्डकी प्रदेशअन्तर्गत पोखरा महानगरपालिकासहित कास्की र अन्य जिल्लामा उक्त सहयोग वितरण गर्न लागिएको हो ।
फाउण्डेशनले पोखरा– ३३ वटै वडामा सम्बन्धित वडा कार्यालयको सिफारिशमा १०/१० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्न लागेको फाउण्डेशनका अध्यक्ष दिलीपराज श्रेष्ठले जानकारी दिए ।

बालबालिका र वातावरणका क्षेत्रमा काम गर्ने उद्देश्यका साथ २०६५ सालमा स्थापित संस्थाबाट हालसम्म एक हजार १०० जना बालबालिका लाभान्वित भइसकेको फाउण्डेशनका सचिव टङ्कराज अधिकारीले जानकारी दिए । न्यूनतम आवश्यकताको अभावमा विद्यालयको पहुँचमा पुग्न नसक्ने विद्यार्थीलाई कापी, कलम, झोला, विद्यालय पोशाक आदिमा फाउण्डेशनले सहयोग पुर्याउँदै आएको उनले बताए ।

यसैबीच फाउण्डेशनले आइतवार पोखरा –२ स्थित बिन्ध्यवासिनी मावि, वडा नं ५ स्थित धर्मस्थली आधारभूत विद्यालय र बाराही मावि एवं वडा नं १६ का विभिन्न विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।

यसअघि पोखरा महानगरपालिका–३ स्थित कन्या मावि, ४ स्थित नवीन मावि र ७ स्थित श्रीकृष्ण माविमा गरीब तथा जेहेन्दार विद्यार्थीलाई स्टेशनरी सामान वितरण गरिसकेको सचिव अधिकारीले जानकारी दिए । उनका अनुसार वैशाखभित्र महानगरपालिकाभित्र सम्बन्धित वडा कार्यालयको सिफारिशअनुसार सामुदायिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिनेछ ।

फाउण्डेशनले वातावरणीय संरक्षणका लागि वृक्षरोपण र फोहर व्यवस्थापनका लागि डस्टबिन वितरण गर्दै आएको छ । त्यस्तै सन् २०१९ सम्ममा पोखरा महानगरपालिकालाई बालमैत्री लक्ष्यलाई सहयोग गर्न फाउण्डेशनले महानगरपालिकाको सहयोगमा प्रत्येक वडामा बाल भेला सञ्चालनलाई अघि बढाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width