प्रेस स्वतन्त्रता हननका घटना उस्तै

रासस
वैशाख २०, २०७६

विश्व प्रेस स्वतन्त्रता दिवस शुक्रबार विभिन्न कार्यक्रम गरी मनाइँदै छ। सन् १९९३ मा संयुक्त राष्ट्रसङ्घको साधारणसभाले घोषणा गरेपछि युनेस्कोको आह्वानमा प्रत्येक वर्ष मे ३ का दिन संसारभर विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै आएको छ।

विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा यस वर्ष नेपालमा ‘लोकतन्त्र र शान्तिका लागि मिडियाः इन्टरनेटको युगमा पत्रकारिता र निर्वाचन’ भन्ने नाराका साथ विविध कार्यक्रम तय गरिएको छ। विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा नेपाल पत्रकार महासंघ र युनेस्कोले युएनडिपी र निर्वाचन आयोग नेपालसमेतको सहकार्यमा प्रेस स्वतन्त्रता राष्ट्रिय सम्मेलनको आयोजना गरिएको छ।

यसैगरी पत्रकार महासंघका प्रदेश समिति र जिल्ला शाखाहरूको आयोजनामा देशभर विविध कार्यक्रम गरी यो दिवस मनाइँदैछ।

नेपालमा विश्व प्रेस स्वतन्त्रता मनाउँदै गर्दा प्रेस स्वतन्त्रता हननका घटनामा भने कमी आउन सकेको छैन। नेपाल पत्रकार महासंघका अनुसार यस वर्ष प्रेस स्वतन्त्रता हननका ६० वटा घटना भएका छन्। सालभरिका प्रेस स्वतन्त्रता हननका ६० घटनामा ७७ जना पत्रकार र पाँच सञ्चार संस्था पीडित भएका छन्। यी घटनामध्ये एक पत्रकारको हत्या र एक बेपत्ता छन्।

यसैबीच पत्रकार पक्राउका १२ र पत्रकारमाथि दुव्र्यवहारका १२ घटना अभिलेख भएका छन्। त्यसैगरी पत्रकारमाथि धम्की १३, आक्रमणका १५ घटना रहेका छन्। समाचार सङ्कलनमा अवरोधका दुई र समाचार प्रसारण अवरोधका तीन घटना भएका छन्।

गत वर्ष यसै अवधिमा ६३ वटा घटना भएका थिए। यस वर्ष अनलाइन सञ्चारमाध्यममा समाचार लेखेकै आधारमा पत्रकारलाई साइबर अपराधसम्बन्धी कसुरमा पक्राउ गर्ने क्रम बढ्नुले नेपाली पत्रकारितामा नयाँ चुनौती थपिएको महासंघका अध्यक्ष गोविन्द आचार्यले जानकारी दिए।

“संघीयता कार्यान्वयनको यस वर्ष प्रेस स्वतन्त्रतामाथि खतरा आउन सक्ने नीतिगत वातावरण बनेको छ, विभिन्न तहहरूमा कानून निर्माणको प्रक्रिया अघि बढिरहँदा कतिपय ऐन र प्रस्तावित मस्यौदामा प्रेस स्वतन्त्रता ग्यारेण्टी गर्ने संविधानका धारा विपरीत हुने खालका प्रावधानहरू पनि राखिएको छ”, उनले भने। नेपालको संविधानको प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रतालाई सुनिश्चित गरिएको भए तापनि विभिन्न ऐन तथा कानूनमार्फत प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्न खोजिनु प्रेस स्वतन्त्रतामाथिकै चुनौती भएको महासंघको भनाइ छ। नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले वर्तमान सरकारले विभिन्न ऐन/कानूनमार्फत प्रेसमाथि नियन्त्रण गर्न खोजेको छ, भने। स्थानीय सरकार सञ्चालन ऐनलाई दफा ११ मा एफएम सञ्चालनसम्बन्धी व्यवस्थाअन्तर्गत स्थानीय तहलाई एफएम रेडियो खारेजीको अधिकारसमेत दिइएको छ।

प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले प्रेस स्वतन्त्रताबारे वर्तमान सरकार उदार देखिएको भन्दै कतिपय सवालमा साइबर अपराधको नाममा पत्रकारलाई पक्राउ गर्न नहुने बताए। २०७५ भदौ १ गतेबाट लागू भएको मुलुकी देवानी संहिता, फौजदारी संहितासम्बन्धी ऐनका विभिन्न दफाले प्रेस स्वतन्त्रतालाई सङ्कुचिन पारेको देखिन्छ। यसमा महासंघसहित सरोकारवाला पक्षको रायसुझावका आधारमा सच्चाउने राज्यको प्रतिबद्धता अझै पूरा हुन सकेको छैन। नेपालमा प्रेस स्वतन्त्रता हननका घटनालाई हेर्दा मुख्यरूपमा राजनीतिक गतिरोध, आन्दोलन वा द्वन्द्व जारी रहेको अवस्थामा प्रेस र पत्रकारहरूलाई बढी आक्रमण हुने गरेको पाइन्छ।

नेपाल पत्रकार महासंघले नेपालमा हुने प्रेस स्वतन्त्रता हननका घटनाहरूको निरन्तर अनुगमन गर्दै आइरहेको छ।

– सुशील दर्नाल

Related News

सम्बन्धित समाचार

hero news full width