विश्व प्रेस स्वतन्त्रता दिवस

रासस
वैशाख २०, २०७६
press

काठमाडौँ, २० वैशाख । सन् १९९३ देखि मे ३ तारिखलाई विश्व प्रेस स्वतन्त्रता दिवसका रूपमा मनाउने गरिएको छ । संयुक्त राष्ट्रसङ्घको साधारणसभाले निर्णय गरेर आह्वान गरेअनुसार यो दिवस हरेक सदस्य राष्ट्रमा मनाउने प्रचलन शुरु भएको हो ।

नेपालमा पनि यो दिवस सन १९९५ देखि हरेक वर्ष मनाउँदै आउने गरिएको छ । आज पनि नेपाली प्रेसको अवस्था स्वतन्त्रताका दृष्टिमा जोखिमयुक्त नै देखिन्छ । नेपालमा विगत एक वर्ष (सन २०१८ मे देखि २०१९ अप्रिलसम्म) मा १०४ प्रेस स्वतन्त्रता उल्लङ्घनका घटना घट्दा १५८ पत्रकार प्रत्यक्ष प्रभावित भएका छन । यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा डेढ गुणाले बढी हो । अघिल्लो वर्ष यो सङ्ख्या ६६ रहेको थियो । यस वर्षमा १०४ उल्लङघनका घटनामध्ये आक्रमण/हातपातका ३१, समाचार सङ्कलन रोक र तोडफोडमा १६, दुव्र्यवहार २८, ज्यान मार्ने धम्की १९ र तीन घटना समाचार लेखेकै भरमा पत्रकारविरुद्ध मुद्दा रहेका छन् ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले पछिल्लो समय नेपाली प्रेस तथा पत्रकारमाथि आक्रमणको शृङ्खला बढ्दै गएकाले नेपाली प्रेस थप चुनौतीपूर्ण बन्दै गएको बताए । उनका अनुसार प्रमुख राजनीतिक दलहरु प्रेस स्वतन्त्रताप्रति गम्भीर नबन्दा संविधानमा पूर्ण प्रेस स्वतन्त्रता लेखिए पनि व्यवहारमा त्यो देखिएको छैन । “धेरैजसो प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा राजनीतिक दलकै संलग्नता देखिन्छ, त्यसको अन्त्यका लागि हामीले मे ३ कै सन्दर्भ पारेर प्रमुख दलका शीर्ष नेतृत्वलाई ज्ञापनपत्रसमेत बुझाएका छौँ”, उनले भने ।

Related News

सम्बन्धित समाचार

hero news full width