युवाद्वारा आश्रमका वृद्धवृद्धालाई सहयोग

एजेन्सी
वैशाख १९, २०७६
kamalpokhri_Fotor

पोखरा, १८ वैशाख। पोखरा वृद्धाश्रममा बुधबार दिउँसो करिब २ बजे ५ जना युवा दुवै हातमा प्लाष्टिकको झोला बोकेर पुगे। झोलामा थिए–फलफूल, जुस, साबुन, मञ्जन।

त्यसरी अचानक झोलाभरि सामान बोकेर आश्रम पुगेका युवालाई आश्रित वृद्धवृद्धाले प्रश्न गरे, ‘को हौँ तिमीहरु? के लिएर आयौँ? ’

प्रश्न सुन्ने बित्तिकै हातको झोला भुइँमा बिसाउँदै विद्यान रेग्मीले भने, ‘नमस्कार हजुर, हामी कमलपोखरी जुनियर क्लबबाट। चैत २६ गतेदेखि कमलपोखरी सेभेन ए साइड फुटबल प्रतियोगिता गरेका थियौँ। प्रतियोगिताबाट आएको पैसाले हजुरहरुलाई केही सामान दिन मन लागेर आएको हौँ। ’

यति भनेपछि क्लबको प्रतिनिधित्व गरेर ती युवाले झोलाबाट सामान झिक्दै आश्रमका ७० जना वृद्धवृद्धाको हातमा राखिदिए।

पोखरा–१३ स्थित कमलपोखरी जुनियर क्लब अध्यक्ष रेग्मी, सचिव खोबहादुर गुरुङ, कार्यक्रम संयोजक लक्ष्मण गुरुङ लगायत युवाले वृद्धाश्रमका वृद्धवृद्धालाई सो सहयोग हस्तान्तरण गरेका हुन्।

Related News

सम्बन्धित समाचार

hero news full width