वन्यजन्तुको आक्रमणबाट १२ को मृत्यु

रासस
वैशाख १८, २०७६
elephant-attacking

प्रतिकात्मक तस्बिर

  •  गैँडाको आक्रमणबाट तीन, बाघको आक्रमणबाट तीन र हात्तीको आक्रमणबाट छ को मृत्यु
  •  चालू आर्थिक वर्षमा वन्यजन्तुको आक्रमणबाट ३० घाइते
  •  मध्यवर्तीका बासिन्दा घाँस, दाउरा, खर, निगुरोलगायतका वस्तु लिन जङ्गल तथा नदीमा माछा मार्न जाने क्रममा वन्यजन्तुको अक्रमणवाट मृत्यु हुने गरेको छ ।

चितवन, १८ वैशाख । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट १२ जनाको मृत्यु भएको छ ।

चालू आर्थिक वर्षको हालसम्म वन्यजन्तुको आक्रमणबाट १२ को मृत्यु भएको छ, गत आर्थिक बर्ष बन्यजन्तुको आक्रमणबाट पाँच जनाले ज्यान गुमाएका थिए ।निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार गैँडाको आक्रमणबाट तीन, बाघको आक्रमणबाट तीन र हात्तीको आक्रमणबाट छ को मृत्यु भएको हो । तीमध्ये १० मध्यवर्ती क्षेत्रमा र दुई निकुञ्ज क्षेत्रमा भएका घटना हुन् । मध्यवर्ती क्षेत्रमा वन्यजन्तुबाट आक्रमण भएमा क्षतिपूर्ति दिने व्यवस्था रहेको छ भने निकुञ्जभित्रै भएका घटनाको क्षतिपूर्ति दिइँदैन ।

निकुञ्जका अनुसार चालू आर्थिक वर्षमा वन्यजन्तुको आक्रमणबाट ३० घाइते भएका छन् । गत आर्थिक वर्षको यसै अवधिमा ३१ घाइते भएका थिए । सरकारले निकुञ्ज बाहिर वन्यजन्तुको आक्रमणबाट मृत्यु हुनेको परिवारलाई रु १० लाख र घाइतेको सम्पूर्ण उपचार खर्च व्यहोर्दै आएको छ । त्यसैगरी बालीनाली क्षति भएमा अधिकतम रु १० हजारसम्म क्षतिपूर्ति दिने व्यवस्था छ ।

घिमिरेका अनुसार विगत वर्षको समेत गरी चालू आर्थिक वर्षमा रु एक करोड २८ लाख क्षतिपूर्ति रकम वितरण गरिसकिएको छ । मृत्यु भएकाको एक महीनाभित्रमा क्षतिपूर्ति दिने व्यवस्था मिलाइएको जानकारी उनले दिए ।

मध्यवर्तीका बासिन्दा घाँस, दाउरा, खर, निगुरोलगायतका वस्तु लिन जङ्गल जाने गर्दछन भने नदीमा माछा मार्न जाने गर्दछन । सोही क्रममा एक्कासी जम्काभेट हुँदा वन्यजन्तुको आक्रमणमा पर्ने गरेका छन । वन्यजन्तु निकुञ्जबाट मध्यवर्ती क्षेत्रमा आउने क्रम बढ्नु र स्थानीय पनि जङ्गल जाने क्रम बढ्नुले आक्रमणको घटना बढी भएको घिमिरेले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width