ओझेलमा व्यास भूमि

rss रासस
वैशाख १७, २०७६

दमौली, १७ वैशाख । चार वेद अठार पुराणका रचयिता महर्षि वेदव्यासको जन्मभूमि तनहुँको दमौली प्रचारप्रसार अभावमा ओझेलमा परेको छ । पूर्वीय साहित्यका महाकवि वेदव्यासले यही भूमिमा महाभारत, चारवेद र अठार पुराणको रचना गरेको दाबी र विभिन्न स्रोतले प्रमाणित गरे पनि व्यासभूमिको उचित प्रसारप्रसार नहुँदा ओझेलमा परेको हो ।

विभिन्न शास्त्रीय प्रमाणले व्यासको जन्मभूमि दमौलीमा भएको स्वीकार गरिसके पनि प्रचारप्रसारको अभावमा यस क्षेत्रमा ओझेलमा परेको व्यासका अध्येता काशीनाथ न्यौपानेले बताए। व्यासको भूमिलाई विश्वमाझ चिनाउन बेला–बेलामा कार्यक्रम भइरहे पनि त्यसले मूर्तरुप पाउन नसकेको उहाँको गुनासो छ । “व्यास भूमिलाई पौराणिक, आध्यात्मिक, धार्मिक, पुरातात्विक र ऐतिहासिक दृष्टिले परिचित गराउन र धार्मिक पर्यटन प्रवद्र्धन टेवा पु¥याउने उद्देश्यले बेला–बेलामा कार्यक्रम भइरहेकै छन”, उनले भने ।

वेद अनुयायी प्रतिष्ठान नेपाल तनहुँका अध्यक्ष कृष्णकान्त काफ्लेले व्यासको जन्म दमौलीमै भएको प्रमाणित भइसकेकाले यसको प्रचारप्रसारका लागि सबै जुट्नुपर्ने बताए । उनले भने , “व्यासको जन्म भारतमा भएको भनेर गलत प्रचारप्रसार पनि भएको छ, त्यही कारणले वास्तविक व्यासभूमिको उचित प्रचारप्रसार हुन सकिरहेको छैन ।”

काठमाडाँैबाट १५० र पोखराबाट ४९ किलोमिटर दूरीमा रहेको दमौलीमा पृथ्वी राजमार्ग भएर दैनिक हजारौँ आन्तरिक तथा बाह्य पर्यटक आवातजावत गर्ने भए पनि व्यास भूमिमा उनीहरुलाई आकर्षित गर्न नसकिएको स्थानीयवासी दीपक भट्टराईले बताए ।

उचित प्रचारप्रसारको अभावकै बीचमा समेत बेला–बेलामा व्यासभूमिको अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । व्यास गुफाका संरक्षक दामोदर बाबाले भारतलगायत अन्य मुलुकबाट समेत पर्यटक व्यासभूमि अवलोकनका लागि आउने गरेको जानकारी दिए । उनका अनुसार व्यासभूमि आउने पर्यटकमध्ये भारतका बढी छन् ।

व्यासभूमिलाई अन्तर्राष्ट्रिय स्तरसम्म परिचित गराउँदै धार्मिक गन्तव्य बनाउन विविध कार्यक्रम हुँदै आएको छ । विश्वका हिन्दू धर्मावलम्बी र ओमकार परिवारको मूल तीर्थस्थल बनाउने उद्देश्यले व्यासक्षेत्रमा १८ महीने अखण्ड हरिनाम समेत सम्पन्न भएको थियो ।

व्यासको जन्मस्थलो

आजभन्दा करीब पाँच हजार ५०० वर्ष अगाडि व्यासको यस क्षेत्रमा अवतरण भएको धार्मिक विश्वास छ । व्यास ऋषिको जन्मबारेको प्रसङ्गमा दमौलीदेखि आठ किमि पूर्व छाब्दीबाराहको मन्दिरदेखि करीब ५० मिटर पश्चिमपट्टिको कुण्डमा व्यासकी माता सत्यवतीको जन्म भएको थियो, माछाको रूपबाट जन्म भएकीले त्यस कुण्डको नाम मच्छे कुण्ड रहन आएको हो भनिन्छ ।
विश्वको सबैभन्दा लामो ९एक लाख श्लोक० र दोस्रो महाकाव्य ‘महाभारत’ पूर्वीय लौकिक संस्कृत साहित्यको ऐतिहासिक आर्ष ग्रन्थ र बृहत् ज्ञानराशि भएको धर्मग्रन्थमा महाभारत र पुराणका रचयिता तथा चारै वेदका सम्पादक व्यासको तपस्यास्थल नेपालकै दमौली नजिकको गुफामा रहन्थे भन्ने भनाइ रहेको छ ।

योगी नरहरिनाथले ‘आध्यात्मिक नेपाल एवं हिमालय देवोदेश’मा पाँच नदी सेती, मादी, बुल्दी, गुणादी र र छाब्दीको सङ्गमलाई व्यासको जन्मभूमि, कर्मभूमि र तपोभूमि, स्वामी प्रपन्नाचार्यले ‘मिल्केका झिल्का’ मा दमौली क्षेत्रलाई र कुमारबहादुर जोशीले आफूले अन्तर्वार्ताका क्रममा मादी र सेतीको सङ्गम नै व्यास (कृष्ण द्वैपायन)को जन्मस्थल भएको पाएको जनाएका छन् । आइल भइन्डिया डटकमले समेत व्यासको जन्म तनहुँको दमौलीमा भएको उल्लेख गरेको छ तर कतिपय भारतीय वेबसाइटमा भने व्यासको जन्म यमुना नदीको कल्पी द्वीपमा लेखिएको पाइन्छ ।

आइलभइन्डियामा व्यासले एउटा गुफामा बसेर महाभारत लेखेको उल्लेख गरेको छ । जुन गुफा अहिले व्यास गुफाको नामबाट परिचित छ । व्यासलाई कृष्णद्वैपायनको नामबाट समेत चिनिने र महान महाकाव्य महाभारतका लेखक, वेदव्यास सनातन धर्मको पहिलो र ठूलो आचार्य मानिन्छ ।

विभिन्न स्रोतका अनुसार व्यासको जन्म पराशर र सत्यवतीबाट भएको मानिछ । घुम्दै फिर्दै एकदिन पराशर ऋषि र सत्यवतीको भेट हुँदा पराशर ऋषिले ऋतुदान लेउ भनी सत्यवतीसँग अनुरोध गर्दा सत्यवतीले ‘म यति सानी बालिका, तपाई जवान मानिससँग कसरी ऋतुदान लिने’ भन्दा पराशरले म तिमीलाई म जस्तै जवान बनाइदिन्छु भनी प्रतिज्ञा गरी सत्यवतीलाई आफू समान बनाएपश्चात् पराशर र सत्यवतीको सम्बन्धबाट व्यासको जन्म भएको भनिएको छ । पछि आमाको पूजाको लागि व्यास ऋषिले दमौलीबाट पूर्व दिशामा छाब्दी बराहमा माछाको पूजाआजा चलाएको मानिन्छ । जुन आजसम्म पनि निरन्तर छ र व्यासको जन्म दमौलीमा नै भएको भन्ने बलियो प्रमाणको रुपमा रहेको छ ।

वेदव्यासको अग्लो मूर्ति निर्माण गरिने

व्यास क्षेत्रमा १०८ फिटको वेदव्यासको मूर्ति निर्माणका लागि तयारी गरिएको छ । मूर्ति निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० निर्माण भइरहेको छ । व्यास क्षेत्र शिवपञ्चायन विकास कोषले व्यासको मूर्तिसहित समग्र व्यास क्षेत्रको विकासका लागि गुरुयोजना निर्माणका लागि काठमाडौँस्थित अर्थक्वेक सेफ्टी सोलुुसन्सलाई जिम्मा दिएको छ ।

कोषका अध्यक्ष अशोककुमार श्रेष्ठले डिपिआरको काम अन्तिम चरणमा पुगेको जानकारी दिए । उनका अनुसार अग्लाअग्ला मूर्ति भएका संसारका विभिन्न ठाउँका विज्ञसँग छलफल गरेर कम्पनीले व्यासको मूर्तिका लागि डिपिआर बनाइरहेको छ ।

गुरुयोजनाअनुसार व्यासको मूर्तिका अलवा प्रवेशद्वार, पार्किङ, टिकट काउण्टर, गार्ड घर, कोशेली घर, बिक्री कक्ष, धर्मशाला, प्रवचन हल, योग हल, समितिको सचिवालय बैठक कक्ष, सङ्ग्रहालय, वृत्तचित्र हल, व्यास पुस्तकालय, शौचालय, बगैँचाको साथ विश्राम घर, तलाउसहितको मत्स्यगन्धा पार्क, चमेनागृह, पुजारी घर, २७ वटा साना व्यासका मूर्ति, व्यासका अनुयायीको पाँच साना प्रतिमा र गणेश बसेर वेद लेखेको सानो मूर्ति प्रस्ताव गरिएको छ ।

व्यासको मूर्तिसहित अन्य सबै संरचनाका लागि करीब रु ५० करोड लगानी आवश्यक पर्ने अनुमान गरिएको कोषका महासचिव विष्णुभक्त सिग्देलले बताए ।

तपाइको विचार व्यक्त गर्नुहोस्

हाम्रो सुझाव

अवरुद्ध बेसीशहर– चामे सडक खुल्यो

गलकोट समाज पोखराको छैठौं वार्षिक साधारणसभा सम्पन्न

छोरी पाएर वन्ध्याकरण गर्नेलाई सम्मान

कारागारको वस्तुगत अनुगमन

प्रमुख समाचार

पहिरोले घर पुर्दा क्षत्री घाइते

थप प्रमुख समाचार